मौज्दात सकिन थालेपछि हुम्लामा चामल बिक्री वितरणमा रोक

जनकबहादुर शाही

हुम्ला — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लामा समयमा खाद्यन्न ढुवानी नहुँदा बिक्री वितरण रोकिएको छ । आइतबार एक सूचना जारी गरी अति आवश्यक काममा प्रमुख जिल्ला अधिकारीको सिफारीसबाट बाहेक अन्य नियमित गरिने बिक्री वितरण अर्का सूचना नहुँदासम्मका लागि स्थगित गरिएको छ ।

मौज्दात सकिन थालेपछि हुम्लामा चामल बिक्री वितरणमा रोक

जिल्लाभरि रहेका डिपो र बिक्री केन्द्रमा चामल सकिएको र सिमकोट शाखामा मौज्दात न्यून भएपछि जिल्लाभरि बिक्री वितरण बन्द भएको हो। सिमकोट शाखाका लागि गत आर्थिक वर्षको थप ४ हजार र ढुवानी हुनु बाँकी ६ सय क्विन्टल पर्ने ४ हजार ५ सय क्विन्टल चामल समयमा ढुवानी हुन नसक्दा यो समस्या आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाका निमित्त शाखा प्रमुख नवीनप्रसाद आचार्यले बताए ।

ढुवानी हुन बाँकी ४ हजार ६ सय क्विन्टल चामलमध्ये ६ सय क्विन्टल समिट एयरले असारमै जिम्मा लिएको भए पनि अहिलेसम्म ढुवानी नगरेको, गत वर्ष नेपालगन्जबाट २ हजार र सुर्खेतबाट २ हजार क्विन्टल चामल थप भएको भए पनि नेपालगन्जबाट एक/एक हजार र सुर्खेतबाट एक/एक हजार गरी दुई/दुई हजार क्विन्टल चामल ढुवानी गर्ने जिम्मा समिट एयर र सीता एयर बिक्री भइसकेको र चालु आर्थिक वर्षको चामल ढुवानीलाई दिएको भएपनि सीता एयरले नेपालगन्जबाट १ हजार क्विन्टल ढुवानी जिम्मा लिएर १ सय क्विन्टल मात्र ढुवानी गरेका र बाँकी ९ सय नेपालगन्जबाट र १ हजार सुर्खेतबाट गरी १ हजार ९ सय क्विन्टल र समिट एयरले पुरानो, ६ सय नेपालगन्जबाट १ हजार र सुर्खेतबाट १ हजार गरी २ हजार ६ सय क्विन्टल चामल अहिलेसम्म ढुवानी नहुँदा यो समस्या आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाका निमित्त शाखा प्रमुख आचार्यले बताए ।

वर्षाका कारण समयमा ढुवानी गर्न नसकेको र हिमाली जिल्ला भएकाले बिहान मौसम नखुल्ने र दिउँसो हावा चल्ने भएकाले ढुवानीमा समस्या भएको एयरलायन्सहरुको भनाइ छ । मौसम खुल्ने बित्तिकै ढुवानीको काम सुरु गर्ने समिट एयरका पश्चिम म्यानेजर सरोज उप्रेतीले बताए ।

अहिले जिल्लामा रहेका सबै वितरण केन्द्र खाली छन् भने कम्पनीको सिमकोट शाखामा १ हजार ३ सय क्विन्टल मात्र चामल मौज्दात छ। यो दैविप्रकोप, भैपरी आउने जन्म मृत्यु र आपतकालीन अवस्थाका लागि पनि बिक्री वितरण गर्न नपुग्ने भएपछि आइतबारबाट नियमित बिक्री वितरण बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन्।

चालु आर्थिक वर्षमा कम्पनीको सिमकोट शाखाका लागि स्थलमार्गबाट ४ हजार र हवाईमार्गबाट १० हजार क्विन्टल गरी १४ हजार क्विन्टल स्विकृत भएको छ भने जिल्लाका ७ वटा गाउँपालिकाका विभिन्न स्थानमा रहेका ९ वटा बिक्री केन्द्र ताँजाकोटको छप्रेला बिक्री केन्द्रका लागि १ हजार, श्रीनगर केन्द्रका लागि २ हजार ५ सय, देउली बिक्री केन्द्रका लागि ५ सय, सर्केगाड बिक्री केन्द्रका लागि २ हजार, खार्पुनाथ बिक्री केन्द्रका लागि १ हजार, याल्वाङ केन्द्रका लागि ५ सय र लिमि केन्द्रका लागि ५ गरी हुम्ला जिल्लामा लागि २० हजार ५ सय क्विन्टल चामल स्विकृत भई ठेक्का प्रक्रिया अगाडि बढिरहेको प्रमुख जिल्ला अधिकारी परियारले बताइन्। जिल्लामा मनाइने विभिन्न स्थानीय चाडपर्वसँगै दसैँ तिहारमा चामलको अभाव नहोस् भनेर छिटोभन्दा छिटो चामल ढुवानीको व्यवस्था मिलाउन कम्पनीलाई निर्देशन दिइएको उनले बताइन् ।

प्रकाशित : भाद्र १३, २०७९ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?