वनको हिरासतमा मृत्यु प्रकरण

परिवारका २ जनालाई रोजगारी, २५ लाख क्षतिपूर्ति दिने सहमति

हरिहरसिंह राठौर

सुर्खेत — डिभिजन वन कार्यालय सुर्खेतको हिरासतमा मृत्यु भएका धनीराम लामिछानेको आश्रित परिवारमध्ये दुई जनालाई एक महिनाभित्र रोजगारी दिने सहमति भएको छ । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र परिवारबीच शुक्रबार भएको छलफलपछि उक्त सहमति भएको हो ।

परिवारका २ जनालाई रोजगारी, २५ लाख क्षतिपूर्ति दिने सहमति

डिभिजन वन कार्यालयका अनुसार लामिछानेका आश्रित दुई जनालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय वा मातहतका निकायमा रोजगारी उपलब्ध गराउने सहमति भएको हो ।

यस्तै परिवारले माग गरेको २५ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन मन्त्रालयले कर्णाली प्रदेशको मन्त्रिपरिषद्मा प्रस्ताव लगिने भएको छ । लामिछानेका एक जना छोरालाई उच्च शिक्षा छात्रवृत्ति दिने सहमति पनि भएको कार्यालयले जनाएको छ ।

सहमतिपछि शव पोस्टमार्टमका लागि शुक्रबार नै कर्णाली प्रदेश अस्पतालमा पठाइएको थियो । पोस्टमार्टमपछि आफन्तले शनिबार शव बुझेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ।

घटनाका विषयमा छानबिन गर्न शुक्रबार समिति पनि गठन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिवको संयोजकत्वमा बनेको समितिमा जिल्ला प्रशासन कार्यालय सुर्खेतका एक जना अधिकृत, राष्ट्रिय अनुसन्धान कार्यालय सुर्खेतका एक जना अधिकृत, जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कानुन सचिव सदस्य रहेका छन् । समितिले सात दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने छ ।

बिहीबार बेलुका वनसम्बन्धी मुद्दामा पक्राउ गरिएका व्यक्तिको कार्यालयको हिरासतमा मृत्यु भएको पाइएपछि परिवार तथा आफन्तले पहिलो दिन कार्यालयमै पुगेर आन्दोलन गरेका थिए ।

वीरेन्द्रनगर–१३ भूतचोकका ५८ वर्षीय लामिछानेको कार्यालयमा पुर्‍याउनेबित्तिकै मृत्यु भएको थियो। आफन्तले पक्राउ गर्नेहरुबाट कुटपिट भएपछि लामिछानेको मृत्यु भएको आरोप लगाएका थिए । शुक्रबार आफन्तले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा वन कार्यालयका चार जनाविरुद्ध किटानी जाहेरी दिएका छन् ।

डिभिजन वन कार्यालय सुर्खेतका सहायक वन अधिकृत कृष्णराम धिताल, फरेस्टर सन्तोष खत्री, वन रक्षकहरु पियुषराज तिवारी र सुरेन्द्र रानाविरुद्ध किटानी जाहेरी परेको हो। उनीहरु सबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मदन भण्डारी राजमार्गमा पर्ने सडकलाइनछेउको जंगलमा नम्बरिङ गरिएको रुख काटेको आरोपमा उनलाई पक्राउ गरिएको वन कार्यालयको दाबी छ । कार्यालयको हिरासतमा लामिछानेको शव बिहीबार झुन्डिएको अवस्थामा भेटिएको थियो । आफन्तले भने पक्राउ गर्दा कुटपिटबाट मृत्यु भएपछि कर्मचारीले कोठामा झुन्ड्याएर राखेको आरोप लगाउँदै आएका छन् ।

प्रकाशित : भाद्र ४, २०७९ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?