कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

वनको हिरासतमा मृत्यु प्रकरण : ४ जना कर्मचारीविरुद्ध किटानी जाहेरी

हरिहरसिंह राठौर

सुर्खेत — वीरेन्द्रनगरस्थित डिभिजन वन कार्यालय सुर्खेतमा मृत्यु भएका धनीराम लामिछानेका आफन्तले कार्यालयकै ४ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । सहायक वन अधिकृत कृष्णराम धिताल, फरेस्टर सन्तोष खत्री, वन रक्षक पीयूषराज तिवारी र सुरेन्द्र रानाविरुद्ध किटानी जाहेरी दिएको मृतकका आफन्तले बताए ।

वनको हिरासतमा मृत्यु प्रकरण : ४ जना कर्मचारीविरुद्ध किटानी जाहेरी

मृतक लामिछाने वनसम्बन्धी मुद्दामा बिहीबार पक्राउ परेका थिए । वीरेन्द्रनगर–१३ भूतचोकका ५८ बर्षीय लामिछानेको वन कार्यालयमा पुर्‍याएपछि बिहीबार अपराह्न मृत्यु भएको थियो । उनको मृत्युपछि आफन्तले कार्यालयका कर्मचारीको कुटपिटबाट मृत्यु भएको आरोप लगाउँदै कारबाहीका लागि किटानी जाहेरी दिएका हुन् । उक्त घटनापछि आफन्तको दबाबमा शुक्रबार सोही विषयमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, जिल्ला प्रहरी प्रमुख पदमबहादुर बिष्टसहितको टोली वन मन्त्रालयमा छानविनका लागि गएको थियो ।

प्रदेश सरकारले भने आन्तरिक मामिला तथा कानुनमन्त्री र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीसँग गरिएको छलफलपछि मुख्यमन्त्री कार्यालयका सचिव प्रेम आचार्यको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । छानबिन समितिमा जिल्ला प्रशासन कार्यालय सुर्खेतका एक जना अधिकृत, राष्ट्रिय अनुसन्धान कार्यालयका अधिकृत, जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कानुन सचिव सदस्य छन् । उक्त छानबिन समितिको प्रतिवेदन र शव परीक्षणको रिपोर्टका आधारमा थप कानुनी प्रक्रिया सुरु गरिने प्रजिअ रिजालले बताए । उक्त समितिले घटनाको बारेमा छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ ।

डिभिजन वन कार्यालयका अनुसार मदन भण्डारी राजमार्गमा निर्माण गर्दा कटान गर्नुपर्ने जंगलमा नम्बरिङ गरिएको रुख काटेको आरोपमा उनलाई पक्राउ गरिएको थियो । सुरुमा लामिछानेकी श्रीमतीलाई पक्राउ गरी वन कार्यालय लगिएको थियो । पछि धनीरामलाई पक्राउ गरिएको हो । ‘आफन्तलाई सोधपुछका लागि ल्याएर स्थानीय जनप्रतिनिधि र आफन्तको जिम्मा जमानी लगाएर छोड्ने कुरा थियो, पछि आरोपित मानिस पनि घरमा भएको सूचना आएपछि कर्मचारीहरूले उहाँलाई पक्राउ गरी ल्याएका हौं,’ डिभिजन वन कार्यालयका प्रमुख मुनबहादुर रावतले भने, ‘त्यसै दिन कार्यालयको हिरासतमा लामिछाने झुन्डिएको अवस्थामा फेला परेका थिए ।’

तर मृतकका आफन्तले भने पक्राउ गर्दा कुटपिटबाट मृत्यु भएपछि कर्मचारीले हिरासतमा लगेर झुन्ड्याएर राखेको आरोप लगाएका छन् । किटानी जाहेरी दिइएका सहायक वन अधिकृतवाहेक अन्य ३ जना प्रहरी सम्पर्कमा आएपछि नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयले जनाएको छ ।

यस्तो थियो घटना

वीरेन्द्रनगर–१३ भुतचोकका ५८ वर्षीय धनिराम लामिछानेले सालको रुख काटेको आरोपमा वीरेन्द्रनगर सव–डिभिजन कार्यालय सुर्खेतका कर्मचारीहरूले पक्राउ गरे । उनलाई पक्राउ गरेर डिभिजन वन कार्यालय सुर्खेतको हिरासतमा पुर्‍याइयो । हिरासतमा पुर्‍याइएको केही बेरमा नै हिरासत कक्षको झ्यालमा घुँडा टेकेर झुन्डिएको अवस्थामा लामिछानेको शव फेला परेपछि आफन्तहरूले आक्रोशित हुँदै बिहीबार साँझदेखि कार्यालय परिसरमा आन्दोलन गरिरहेका छन् ।

आफन्तहरूले घटनामा संलग्नलाई कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएका छन् । लेकबेंसी नगरपालिका–१० स्थायी घर भएका लामिछाने वीरेन्द्रनगरमा बस्दै आएका थिए । उनी बस्दै आएको ठाउँ मदन भण्डारी राजमार्गमा पर्ने क्षेत्र हो । यो राजमार्ग विस्तारको क्रममा सालका रुख कटान गर्न वीरेन्द्रनगर सव–डिभिजन कार्यालयले टाँचा लगाएको थियो ।

बारीमा पर्ने रुख भएकाले लामिछानेले केही दिनअघि मात्रै कटान गरेर चिरान गर्न लगाएका थिए । तर लामिछानेले सालको रुख कटान गरेको सुराकी पाएपछि कार्यालयका प्रमुख कृष्णराम धितालले फरेस्टर सन्तोष खत्री र वनरक्षक पीयूषराज तिवारीको टोलीलाई घटनाको सत्यतथ्य बुझ्न भूतचोक पठाए । कार्यालयमा आएको सूचनाअनुसार नै सालको रुख काटिएको थियो । वनको टोली आएको थाहा पाएपछि चिरान गरिरहेका मजदुरहरू भागे ।

उक्त टोलीले लामिछानेकी श्रीमतीलाई सोधपुछ गर्नुछ भन्दै वीरेन्द्रगर ल्याए । श्रीमतीलाई हिरासतमा राखेर खत्रीको टोली पुनः भूतचोक पुगेर लामिछानेलाई पक्राउ गरेको आफन्त बताउँछन् । ‘फरेस्टर खत्रीको टोलीले गाउँदेखि नै दाजुलाई कुटपिट गर्दै गाडीमा राखेर वीरेन्द्रनगर ल्याए,’ लामिछानेका भाइ हरिप्रसाद लामिछानेले भने, ‘ लछारपछार गरेर कुटपिट गर्नु गलत कार्य हो । दाजुलाई मरणासन्न हुनेगरी कुटेकै कारण मृत्यु भएपछि झ्यालमा डोरी लगाएर कर्मचारीले नै झुन्ड्याइएका हुन् ।’ कर्मचारीले पक्राउ गरेपछि लामिछानेको मेडिकल जाँचबिनै हिरासतमा राखिएको रामप्रसादको भनाइ छ ।

‘कुनै पनि व्यक्तिलाई हिरासतमा राख्नुपूर्व अनिवार्य मेडिकल जाँच गरिन्छ । कर्मचारीले किन मेडिकल जाँच गरेनन्,’ रामप्रसादले भने, ‘रुख काटेको सत्य हो । कानुनी प्रक्रिया रहँदारहँदै कुटपिट हुनु दुःखद हो । कुट्ने कर्मचारीलाई कारबाही नहुँदासम्म शव बुझ्दैनौं ।’ रुख कटान गरेको सूचनापछि कर्मचारी पुगेर सुरुमा श्रीमतीलाई पक्राउ गरेको र पछि धनीरामलाई नियन्त्रणमा लिएको डिभिजन वन प्रमुख मुनबहादुर रावतको भनाइ छ ।

हिरासतमा राखेपछि हस्ताक्षर गर्न कर्मचारी जाँदा झ्यालमा झुन्डिएको अवस्थामा शव फेला परेको उनको दाबी छ । फिल्डमा के भयो प्रहरीको अनुसन्धानबाट खुल्ने बताएका रावतले हिरासतमा कुटपिट र हातपात नभएको बताए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी सुरज कार्कीले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जानकारी दिए । प्रजिअ रिजालका अनुसार समस्या समाधान गर्न पहल भइरहेको छ ।

सम्बन्धित समाचार

प्रकाशित : भाद्र ३, २०७९ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?