रुकुम पश्चिममा ५–११ उमेर समूहका बालबालिकालाई कोभिड खोप लगाइँदै- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुकुम पश्चिममा ५–११ उमेर समूहका बालबालिकालाई कोभिड खोप लगाइँदै

हरि गौतम

रुकुम पश्चिम — रुकुम पश्चिममा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ । आइतबारदेखि जिल्लाभरका ५–११ वर्ष उमेरका बालबालिकाका लागि कोभिड विरुद्धको फाइजर खोप अभियान सञ्चालन हुन लागेको छ ।

जिल्लाभर उक्त उमेर समूहका बालबालिकाको संख्या करिब २३ हजार रहेको जनाइएको छ । ती सबै बालबालिकालाई फाइजर खोप लगाउने तयारी गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

३ सय २५ वटा विद्यालयमा खोप अभियान सञ्चालन हुने स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले जानकारी दिइन् । खड्काका अनुसार जिल्लाका अधिकांश विद्यालयहरुमा खोप केन्द्र राखिएको छ । सबैको पायक पर्ने भएपछि विद्यालयमै राखेर खोप लगाउने बताइएको छ ।

भदौ ५ गते आइतबारदेखि खोपको पहिलो मात्रा लगाउन सुरु हुने र पहिलो मात्रा लगाएको २१ दिनपछि दोस्रो मात्रा लगाउन सुरु गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । पहिलो पटक ५–११ वर्ष उमेरका बालबालिकालाई पनि कोभिड विरुद्धको खोप लगाउन लागिएको हो ।

१२ भन्दा माथि उमेर समूहका लागि यो खोप अभियान यसअघि नै सुरु भइसकेको थियो । यो खोप सुरक्षित र प्रभावकारी रहेकोले ढुक्क भएर आफ्ना बालबालिकालाई खोप लगाउन स्वास्थ्य सेवा कार्यालयले अनुरोध गरेको छ ।

खोपका लागि स्थानीय तहमा रहेका स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका संग सम्पर्क गर्न समेत आग्रह गरिएको छ । जिल्लाका ६ वटै स्थानीय तहमा एकैपटक खोप कार्यक्रम सञ्चालन हुने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । सञ्चालनअघि नेपालका २७ वटा जिल्लामा ५–११ वर्ष उमेरका बालबालिकालाई फाइजर खोप लगाइएको थियो । अहिले बाँकी ५० वटा जिल्लामा खोप अभियान सञ्चालन हुने लागेको हो ।

प्रकाशित : भाद्र ३, २०७९ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्

सानीभेरी नदीमा युवकको शव भेटियो

हरि गौतम

रुकुम पश्चिम — सानीभेरी नदीमा एक युवकको शव फेला परेको छ । सानीभेरी गाउँपालिका वडा नम्बर ४ स्थित सानीभेरी नदीको बीच भागमा बनेको टापुमा अन्दाजी ३० वर्षीय युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले नदीको बीचमा रहेको शव निकालेर पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए ।

घटनाको अनुसन्धान भइरहेको र शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रकाशित : भाद्र १, २०७९ १७:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×