३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

मुगु अस्पतालमा कर्णाली प्रतिष्ठानका चिकित्सक 

डीबी बुढा

जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले मुगु जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक खटाएर विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको छ ।  

मुगु अस्पतालमा कर्णाली प्रतिष्ठानका चिकित्सक 

चिकित्सक अभावका कारण मुगुका बिरामीले सास्ती भोगिरहेको भन्दै प्रतिष्ठानले तीन वर्षअघिदेखि विशेषज्ञ चिकित्सक खटाउँदै आएको हो । तर‚ एक वर्षदेखि मुगु जिल्ला अस्पताल चिकित्सकविहीन रह्यो । प्रतिष्ठानबाट खटिएका डाक्टरहरू प्रतिष्ठानमै फर्किएपछि पछिल्लो समय स्वास्थ्य सेवा प्रभावित बनेको थियो ।

प्रतिष्ठानले सुरुका वर्षमा डा. जीतेन्द्र कँडेललाई खटाएको थियो । उनले जिल्ला अस्पताल मुगुमा रहेर विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरे । दोस्रो पटक डा. सिद्धार्थ खाती गए । उनले दुई वर्ष मुगु जिल्ला अस्पतालमै रहेर स्वास्थ्य सेवा प्रदान गरे । चिकित्सकविहीन जिल्ला अस्पताल मुगुमा विशेषज्ञ चिकित्सक पुगेर उपचार सेवा दिन थालेपछि मुगुवासी निकै खुसी छन् । डा. खाती फर्केको एक वर्ष बितिसकेको छ ।

उनले मुगु अस्पताल छाड्दा एक वर्षसम्म मुगु अस्पताल चिकित्सकविहीन बन्यो । त्यो अवधिमा ७ जना सुत्केरी महिला उपचारका लागि हेलिकोप्टरबाट बाहिर पठाउनु पर्‍यो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति डा. मंगल रावलले यो पटक प्रतिष्ठानले एमडीजीपी डा. सुरेन्द्र शाक्यलाई मुगु अस्पतालमा पठाएको जानकारी दिए ।

उनले भने, ‘अब बिरामीको उपचारमा सहजता आउनेछ । सामान्य खालका बिरामीले महँगो रकम खर्चेर सुर्खेत, नेपालगञ्ज र जुम्ला अस्पतालमा आउनुपर्ने छैन । ढुक्कसँग मुगुमै उपचार पाउने छन् । बिरामीले रोगको बारेमा निर्धक्कपूर्वक चिकित्सकसँग परामर्श लिन सक्नेछन् ।’

उपकुलपति डा. रावलले मुगु जिल्लाको स्वास्थ्य समस्यालाई दृष्टिगत गर्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी,स्वास्थ्य सचिव डा. रोशन पोखरेल, मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत र मुगु जिल्लास्थित अगुवाहरूको सहजीकरणमा विशेषज्ञ सेवा सुरुवात भएको बताए ।

‘मुगु अस्पतालमा डा. शाक्यको उपस्थितिले बिरामीहरूको घाउमा मह्लम लाग्ने छ,’ उपकुलपति डा. रावलले भने, ‘विशेषज्ञ स्वास्थ्य सेवा निरन्तर रहने छ । अब आकस्मिक तथा जटिल खालका रोगको उपचार सेवाका लागि मुगुले हेलिकोप्टरबाट उद्धार गर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका बायोमेडिकल इन्जिनियर अर्जुन सिंह नेतृत्वको टोली पनि मुगु जिल्ला अस्पतालमा रहेका सम्पूर्ण औजार उपकरण मर्मतसम्भार गर्न मुगु पुगिसेकेको छ । कर्णालीमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गरी स्वास्थ्य सेवाको पहुँचलाई विस्तार गर्दै लैजाने प्रतिष्ठानको अभियानलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश सरकार र सम्पूर्णको साथ सहयोग निरन्तर हुने अपेक्षा गरिएको उपकुलपति डा. रावलले जानकारी दिए ।

अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा,स्वास्थ्य शिक्षा र अनुसन्धानलाई प्राथमिकताका साथ अघि बढाएको छ ।

प्रकाशित : भाद्र २, २०७९ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?