२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

पहिरोले पाठयपुस्तक अलपत्र

राजबहादुर शाही

मुगु — खत्याड गाउँपालिका जोडन मुख्य सडक बाढी–पहिरोले अवरुद्ध हुँदा पाठयपुस्तक विद्यालयमा पुग्न नसकी बीचमै अलपत्र परेका छन् ।

बाढी पहिरोले गोठीज्यूला कालाकाँडा गम्था सडक अवरुद्ध बनेपछि खत्याड गाउँपालिकाको सामुदायिक विद्यालयका लागि सुर्खेतदेखि ढुवानी भएको सम्पूर्ण पाठयपुस्तक जुम्ला गोठीज्यूलामै अलपत्र परेको हो । गत वैशाखमै सम्बन्धित विद्यालयमा पुग्नु पर्ने पाठयपुस्तक चार महिनासम्म पनि खत्याड गाउँपालिकाका विधार्थीको हातमा पाठयपुस्तक पुग्न सकेको छैन ।

सुर्खेतबाटै पुस्तक ढुवानी ढिलो भएको र अविरल वर्षाले साउनदेखि खत्याड जोडने सडक अवरुद्ध हुँदा पाठयपुस्तक जुम्ला गोठीज्यूलामै अलपत्र परेको खत्याड गाउँपालिकाका अध्यक्ष अजबहादुर शाहीले बताए ।

सडक नखुल्दासम्म विद्यालयमा पाठयपुस्तक पुर्‍याउन गाह्रो भइरहेको उनको भनाइ छ । गोठीज्यूलादेखि गम्थासम्मको ३२ किमी सडकको दर्जनौं स्थानमा पहिरो हिलाम्य हुँदा गाडीमा पाठयपुस्तक ढुवानी गरी विद्यालयमा वितरण गर्न नसकिएको अध्यक्षले जनाए ।

बर्खे एक महिना बिदा सकेर गत साउन २४ गतेबाट खत्याड गाउँपालिकाभरिका ४२ वटा सामुदायिक विद्यालयमा पठनपाठन सुरु भएपनि पुस्तक नपुग्दा पढाइ प्रभावित भएको शिक्षक विधार्थीको गुनासो छ ।

विधार्थीले पुस्तक नपाउँदा पढाइमा असर परेको सर्वोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकेन्द्र कार्कीले जनाए । सरकारको उद्देश्य अनुसार दुर्गमका सामुदायिक विद्यालयमा कहिल्यै पनि समयमा पुस्तक नपुग्ने गरेको उनको भनाइ छ । रित्तो झोलामा कापी र डटपेन हालेर विधार्थी स्कुल जान बाध्य छन् ।

सोरु गाउँपालिकाका सामुदायिक विद्यालयमा अझै पाठयपुस्तक वितरण नहुँदा विधार्थीलाई मार परेको छ । शैक्षित्रसत्र सुरु भएको चार महिनासम्म पनि सोरु गाउँपालिका सामुदायिक विद्यालयमा अध्यायरत विधार्थीको हातमा नयाँ पाठयपुस्तक उपलब्ध हुन सकेको छैन ।

'बल्ल पुस्तक विद्यालयको गेटभित्र पसेको छ वितरण भएको छैन,' सोरु गाउँपालिकास्थित विजय माध्यमिक विद्यालयका प्रधानध्यापक वीरबहादुर बमले भने, 'विधार्थी संख्या र आएको पुस्तक एकिन गरि छिट्टै वितरण गर्छौ ।'

जिल्लामा शैक्षिक सत्र प्रारम्भ हुनुभन्दा एक महिना अगावै प्रत्येक सामुदायिक विद्यालयमा पुग्नु पर्ने पाठयपुस्तक चार महिनासम्म पनि नपुग्दा सम्बन्धित निकायको गैरजिम्मेवारी देखिएको अभिभावकको भनाइ छ । 'विधार्थी १० बजे स्कुल जाान्छन् । पुस्तक नहुँदा २ बजे नै घर फर्केर आउँछन्सु,' काढिक गाउँका खडक खत्री सुनाए ।

खत्याड गाउँपालिकाका सामुदायिक विद्यालयमा सुर्खेतबाट पाठयपुस्तक ढुवानी गर्ने व्यक्तिको गैरजिम्मेवारीले विधार्थीहरु पुस्तकबाट बञ्चित भएको शिक्षक बताउँछन्, 'ढुवानीको मार्ग कर्णाली करिडोर र अर्को कर्णाली राजमार्ग भएपनि वर्षात सुरु हुने बेला पुस्तक ढुवानी गर्दा अलपत्र परेका छन् ।

सोरु गाउँपालिकामा पुस्तक ढुवानी गर्ने व्यक्तिलाई बारम्बार ताकेता लगाएर केही दिनअघि मात्र पाठयपुस्तक सोरु गाउँपालिकामा पुगिसकेको र अब विद्यालयले तत्काल विधार्थीको हात दिने पालिका अध्यक्ष धर्मबहादुर शाहीको भनाइ छ ।

प्रकाशित : भाद्र २, २०७९ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?