पुल निर्माण हुँदै, सडक अधुरै

‘गाडी गुड्ने सडकै छैन, अब यो पुलको के काम ?’

सल्यान — सदरमुकाम खलंगादेखि कालीमाटी–दम्दवाली–घुइयाबारी हुँदै बाँकेको चप्परगौडी जोड्ने सडक निर्माणको काम झन्डै ४० वर्षअघि थालियो । बाँके राष्ट्रिय निकुञ्जको सीमा क्षेत्र पर्ने कालीमाटी गाउँपालिकास्थित हात्तीदमार र घुइयाबारीमा अझैसम्म पनि सडकको ट्रयाक खुलेको छैन । तर दम्दवाली र हात्तिदमार जोड्ने गरी बबई नदीमा पक्की पुल निर्माणको काम भइरहेको छ ।

पुल निर्माण हुँदै, सडक अधुरै

झन्डै २ सय २० मिटर लम्बाइ रहेको पक्की पुलको अहिलेसम्म ७० प्रतिशत बढी काम सकिएको छ । राष्ट्रिय योजना आयोगबाट पक्की पुल बन्न थालेको हो ।

०७४ देखि निर्माण थालिएको पक्की पुलको आयोगले २१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सडकको काम सम्पन्न नहुँदै करोडौंको पक्की पुल बन्न थालेकोमा स्थानीय खुसी छैनन् । ‘सडक बन्ने कहिले हो कहिले ?, पुल निर्माण भए पनि हामीलाई हर्ष न विस्मात,’ स्थानीय कमल गाहाले भने, ‘मान्छे हिँड्न त २/३ वटा झोलुंगे पुल पनि थिए ।’

सडक पूर्ण रूपमा नजोडिँदै पक्की पुल बन्नु अलि असुहाउँदो जस्तो लागेको कालीमाटी गाउँपालिका–५ दम्दवालीका सुरेशकुमार गाहाले बताए । ‘नदीमा पक्की पुल बन्नु नराम्रो होइन, तर गाडी गुड्ने सडकै छैन,’ उनले भने, ‘अब यो पुलको के काम ?’ सडक निर्माण थालिएको ४० वर्ष पुगे पनि राजनीतिक पहुँच नहुँदा अझै पूरा नभएको बताए । उनका अनुसार २०३८ सालदेखि सडक निर्माणको काम सुरु भएको हो ।

अहिलेसम्म खलंगाबाट दम्दवालीसम्म झन्डै ५० किमि सडक खनिएको छ । तर थप सडक नहुँदा कालीमाटीबाट सुर्खेत वा दाङ हुँदै नेपालगन्ज जानुपर्ने बाध्यता छ । पुलसँगै सरकारले सडक निर्माणलाई पनि प्राथमिकता दिनुपर्ने स्थानीय टीकाराम गाहामगरले बताए । ‘पुल निर्माण भए वर्षायाममा जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यताबाट त मुक्ति पाइन्छ,’ उनले भने, ‘तर सडक निर्माण पनि भए नेपालगन्ज र सुर्खेत जान घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यताबाट मुक्ति पाइन्थो ।’

कालीमाटी गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले सडकको कामलाई तीव्रता दिन सडक डिभिजन कार्यालयसँग छलफल गरिएको बताए । ‘मैले पटकपटक डिभिजनसँग छलफल गरिरहेको छु, प्रदेश र संघीय सरकारसँग पनि बजेट माग गरिएको छ,’ उनले भने, ‘सडक छिटो निर्माण भए सदरमुकाम खलंगाबाट नेपालगन्ज जान पनि सजिलो हुन्थ्यो, आसपासका जिल्लाहरू रुकुम, रोल्पालगायतका बासिन्दाले पनि सुविधा पाउँथे ।’

प्रकाशित : भाद्र २, २०७९ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?