१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

विद्यालय मर्ज गर्दै स्थानीय सरकार

‘विद्यालय मर्ज हुँदा बजेट विनियोजन गर्न र एकीकृत पूर्वाधार योजना लागू गर्न सजिलो हुने देखियो’ 

रुकुम पश्चिम — आठबीसकोट नगरपालिकाले कम विद्यार्थी भएका विद्यालयहरू मर्ज गर्न थालेको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएपछि शिक्षक र शैक्षिक पूर्वाधार व्यवस्थित गर्न विद्यालय मर्ज गर्न थालिएको हो ।

विद्यालय मर्ज गर्दै स्थानीय सरकार

नगर कार्यपालिकाको निर्णयअनुसार पहिलो चरणमा ९ नम्बर वडाको दीपज्योति आधारभूत विद्यालय र सहिद स्मृति नमुना माविलाई मर्ज गरिएको छ । विद्यालय मर्ज गर्न असारमा शिक्षा, युवा तथा खेलकुद शाखाका थलविर ओलीको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो ।

कार्यदलले विद्यालय मर्जको काम गरिसकेको संयोजक ओलीले बताए । उनका अनुसार २०४९ सालमा स्थापना भएको दीपज्योति आधारभूत विद्यालय र २०७४ सालमा खुलेको सहिद स्मृति नमुना माविबीच मर्ज गरिएको हो । अब विद्यालयमा कक्षा १ देखि १० सम्म पढाइ हुनेछ ।

यसअघि माध्यमिक विद्यालयमा कक्षा ६ देखि १० कक्षासम्म मात्र पठनपाठन भइरहेको थियो । दुई विद्यालय मर्जपछि विद्यालयको नाम सहिद स्मृति दीपज्योति नमुना मावि राखिएको छ । विद्यालयका लागि व्यवस्थित दुई भवन निर्माणको अन्तिम चरणमा छन् । विद्यालयमा आवासीय सुविधासहित पठनपाठन भइरहेको छ ।

नगर शिक्षा समितिका संयोजक एवं नगरप्रमुख रवि केसीले शैक्षिक गुणस्तर कायम गरी सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन विद्यालय मर्जको योजना अघि सारिएको बताए ।

‘एउटै वडामा कुनैमा विद्यार्थी संख्या कम र अर्कोमा बढी भएको पाइए धेरै विद्यार्थीलाई पायक पर्ने गरी मर्जको अवधारणा अघि सारेका छौं,’ उनले भने, ‘विद्यालय मर्ज हुँदा बजेट विनियोजन गर्न र एकिकृत पूर्वाधार योजना लागू गर्न सजिलो हुने देखियो ।’

प्रकाशित : भाद्र १, २०७९ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?