भाइ-बुहारीमाथि एसिड प्रहार- कर्णाली - कान्तिपुर समाचार

भाइ-बुहारीमाथि एसिड प्रहार

विप्लव महर्जन

सल्यान — सल्यानको दार्मा गाउँपालिका–३ चम्पुटाकुराका ५० वर्षीय बेचे रावतले भाइ–बुहारीलाई एसिड प्रहार गरेका छन् । एसिड प्रहारबाट ४९ वर्षीय भीमबहादुर रावत र उनकी ४० वर्षीया श्रीमती घाइते भएका छन् । त्यस्तै ३२ वर्षीय छिमेकी भीमबहादुर रावत पनि घाइते भएको प्रहरीले जनाएको छ । 

बाँकेको एभरेस्ट लिसा कम्पनीले सल्लाको खोटो निकाल्नका लागि दिएको एसिड बेचेले भाइ–बुहारीमाथि प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । सोमबार बेलुका मदिरा सेवन गरी लेनदेनको विषयमा उनले भाइ–बुहारीसँग विवाद गरेका थिए ।

त्यसपछि पसलमै बसिरहेका भाइ–बुहारीमाथि उनले एसिड हानेका हुन् । छेउमै बसेका छिमेकी भीमबहादुरको पनि एसिडले हात र अनुहारमा लागेको जिल्ला प्रहरी काऱ्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

एसिडले तीनै जनाको अनुहार र हात आंशिक जलेको खड्काले बताए । घाइते सबैको श्रीनगरस्थित सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पताल लगिएको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

एसिड प्रहार गर्ने बेचेलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको घरबाट २० लिटरभन्दा बढी एसिड बरामद गरिएको छ ।

प्रकाशित : श्रावण ३१, २०७९ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्

टिपर दुर्घटनामा कटारीमा दुई युवकको मृत्यु

डिल्लीराम खतिवडा

उदयपुर — सिद्धिचरण राजर्मागको कटारी-घुर्मी खण्डअन्तर्गत कटारी नगरपालिका-८ कुरिभन्ज्याङमा मंगलबार टिपर दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ । कटारी बजारबाट सिमेन्ट बोकेर घुर्मीतर्फ जाँदै गरेको बा ४ ख ५६७१ नम्बरको टिपर दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको हो । 


दुर्घटनामा परी कटारी नगरपालिका-८ पाखाटोलका ४५ वर्षीय नरबहादुर मगर र ४० वर्षीय मिरचिङकान्छा मगरको मृत्यु भएको प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले बताए । दुर्घटनामा परी कटारी-८ कै ४० वर्षीय चन्द्रबहादुर मगर घाइते भएका छन् ।

उनको कटारी अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक फुयाँलले बताए । सिमेन्ट बोकेर जाँदै गरेको टिपर उकालो चढ्न नसक्दा सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको स्थानीयले बताए ।

दुर्घटनापछि टिपर चालक कटारी-११ का घु्रव बस्नेत फरार छन् । उनको खोजी भइरहेका प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण ३१, २०७९ १३:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×