चर्किएको घरमा बास, रातभर त्रास- कर्णाली - कान्तिपुर समाचार

चर्किएको घरमा बास, रातभर त्रास

पहिरोको डरले बजारका झन्डै २० परिवार बसाइँ सरिसकेका छन्
विप्लव महर्जन

सल्यान — कपुरकोट गाउँपालिका–३ कपुरकोट बजारका रामप्रसाद चन्दको घर पहिरोले ठाउँठाउँमा चर्किएको छ । वर्षायाम सुरु भएपछि उनी पहिराले घर बगाउने हो कि भन्ने त्रासमा सधैं हुन्छन् । ‘पानी पर्नबित्तिकै निद्राले छोड्छ, वर्षा भएको दिन रातभरि जाग्राम बस्छौं,’ उनले भने, ‘वर्षै पहिरोले घर चर्काइरहेको छ, न नयाँ बनाउन सकिन्छ, न बसिरहेको घर छाड्न नै ।’

उनका छिमेकी विष्णु खड्काको पाँच जनाको परिवार पनि झन्डै ३ वर्षदेखि चर्किएको घरमा बस्दै आएको छ । ‘नयाँ घर बनाएर के गर्ने, जताततै पहिरै पहिरो छ,’ उनले भने, ‘जोखिम भए पनि पुर्खौंदेखि बसिआएको घर छोड्न सकिएन ।’

खाराभीरको पहिरोका कारण कपुरकोट बजार छेउको जमिन प्रत्येक वर्ष भासिँदै गएपछि स्थानीय सास्ती खेप्दै बस्न बाध्य छन् । पहिरोका कारण बजारका झन्डै २ दर्जन घर चर्किएको खड्काले बताए । ‘तलबाट पहिरो गएको गयै छ,’ उनले भने, ‘माथि बजार, कसरी जोगिने ?’ चर्किएको घरमा बास बसे पनि पानी परेपछि रातभर जाग्राम बस्ने गरेको उनले गुनासो गरे । २०७२ सालमा आएको भूकम्पको बेलादेखि पहिरो खस्ने क्रम सुरु भएको उनले बताए । पहिरोमा अहिलेसम्म झन्डै २ दर्जन घर भत्किसकेका छन् ।

स्थानीय खुमबहादुर थापाले प्रत्येक वर्ष जमिन भासिँदै गएकाले बजार नै जोखिममा रहेको बताए । ‘केही त चर्किएको घरमा दिउँसो व्यापार गरेर राति सुत्न अन्यत्र जान्छन्,’ उनले भने, ‘विकल्प नभएका हामी त चर्किएकै घरमा बस्न बाध्य छौं ।’ उनले बस्ती नसार्दासम्म जोखिम कहिल्यै नटर्ने बताए । उनले आफ्नो घर झन्डै १ फिट भासिएको बताए । कुनै दिन सबै घर भत्किएर ठूलो क्षति हुने अवस्था आउने उनको भनाइ छ ।

राप्ती लोकमार्गमा ठूलाठूला मालवाहक टिपर र ट्रक गुड्दा पनि चर्किएका घरमा असर परेको स्थानीयको गुनासो छ । ‘सडकमा गाडी गुड्दा पनि घर थर्किन्छ,’ थापाले भने, ‘जस्तो अवस्था आए पनि घरमा नबसी नहुने बाध्यता छ ।’ पहिरोको डरले बसाइँसराइ गर्ने क्रम बढिरहेको उनको भनाइ छ । उनका अनुसार बजारका झन्डै २० परिवार बसाइँ सरिसकेका छन् ।

प्रत्येक वर्ष पहिरो नियन्त्रणका लागि तारजाली र पर्खाल लगाउने गरिए पनि प्रभावकारी नहुँदा समस्या भएको कपुरकोट गाउँपालिका–३ का वडाध्यक्ष प्रदिप खड्काले बताए । ‘ठूलो वर्षा भए सडक छेउका सबै घरहरू बग्ने खतरा छ,’ उनले भने, ‘संघीय सरकारसँग पहिरो नियन्त्रणका लागि एकीकृत कार्यक्रम र पर्याप्त बजेटको माग गरिएको छ ।’ उनले अहिलेसम्म पहिरो नियन्त्रणका लागि झन्डै ४ करोड रुपैयाँ खर्च भइसकेको उनले जानकारी दिए ।

प्रकाशित : श्रावण ३१, २०७९ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्

खडेरीसँगै युरोपमा खाद्यान्न संकटको जोखिम

समग्र अन्न उब्जनी ३० प्रतिशतले घट्ने
खाद्यान्न खरिदका लागि मासिक २४३ युरो बढी खर्च हुने
ददि सापकोटा

पेरिस — जुन महिनादेखिको निरन्तर खडेरीका कारण यस वर्ष युरोपेली मुलुकमा खाद्यान्न संकट उत्पन्न हुने भएको छ ।

जलवायु परिवर्तनका कारण उत्पन्न खडेरीले जुनदेखि युरोपका अधिकांश भाग गर्मीको चपेटमा परेसँगै ‘ब्रेड बास्केट’ राष्ट्रहरूमा स्थिर बाली उत्पादनमा कमी आउने युरोपेली संस्थाहरूले बताएका छन् । खाद्यान्न उत्पादन घट्दा युरोपेली मुलुकभर दैनिक जीवनको खर्च बढ्न गई संकटलाई गहिरिने देखिएको हो ।

युरोपव्यापी तातो लहरका कारण युरोपेली संघ (ईयू) ले मकै, सूर्यमुखी र सोयाबिनको उत्पादनमा ८ देखि ९ प्रतिशत र समग्र अन्न उब्जनीमा ३० प्रतिशत उत्पादन घट्ने जनाएको छ ।

मकै, सूर्यमुखी तेल र सोयाबिन युरोपमा अत्यधिक प्रयोग हुने उत्पादन हुन् । युक्रेन यी वस्तुको एक महत्त्वपूर्ण उत्पादक हो ।

पछिल्लो समय युक्रेनसँग युद्ध चर्केसँगै रुसले यी वस्तुको निर्यातमा प्रतिबन्ध लगाइसकेको छ । जसका कारण अहिले नै सय प्रतिशतभन्दा बढीले मूल्यवृद्धि भइसकेको छ ।

स्पेन, दक्षिणी फ्रान्स, मध्य र उत्तरी इटाली, मध्य जर्मनी, उत्तरी रोमानिया, स्पेन, ग्रिस र पूर्वी हंगेरीलगायत युरोपको ठूलो भागमा चर्को खडेरीका कारण उत्पादन निकै घटेको छ । ईयूको संयुक्त अनुसन्धान केन्द्रले यसै साता सार्वजनिक गरेको तथ्यांकअनुसार महत्त्वपूर्ण बालीहरूका लागि फूल फुल्ने चरण गर्मीको तनावबाट गुज्रिएको र फूलहरू खडेरीले खाएको छ । पानीका जलाशयहरू न्यून स्तरमा पुगेकाले सिँचाइको माग पूरा गर्न अपर्याप्त छन् ।

सन् १९९१ र २०२२ बीच जुलाई महिनामा हुने औसत वर्षा ८४ प्रतिशतले कम हुँदा फ्रान्सले सन् १९६१ यताकै चर्को खडेरीको सामना गरिरहेको छ । जसका कारण खाद्यान्न उत्पादन व्यापक रूपमा घट्ने फ्रान्सको जलवायु विभाग मेतेओ फ्रंसले जनाएको छ । खाद्यान्नको बढ्दो माग, जलवायु संकटको प्रभाव, युक्रेन युद्ध, कोरोना महामारीलगायत कारण खाद्यान्नको मूल्य विश्वव्यापी रूपमा बढेको र अझै बढ्ने मेतेओ फ्रंसले जनाएको छ ।

इटाली, स्विटजरल्यान्ड, फ्रान्स, जर्मनी, स्पेन, इटाली, पोर्चुगललगायत किसानहरूले सुकेको घाँसे मैदानका कारण चौपायाको आहाराको अभाव भएको बताएका छन् । त्यसले पशुपालनलाई असर गर्ने हुँदा मासु र दूधजन्य उत्पादन घट्ने देखिएको छ ।

फ्रान्सका वातावरणमन्त्री क्रिस्टोफ बेचुले जुलाईको वर्षाले आवश्यकताको १२ प्रतिशत मात्र प्रतिनिधित्व गरेकोले मकै, गहुँ र फलफूलको उत्पादन घट्ने बताए । फ्रान्स गहुँको चौथो र मकैको पाँचौं निर्यातकर्ता हो ।

युरो–मेडिटेरेनियन सेन्टर अन क्लाइमेट चेन्जका वातावरणीय अर्थशास्त्री सौरो दासगुप्ताको भनाइ उल्लेख गर्दै फ्रंस २४ ले भनेको छ, ‘गर्मीका लहरहरूले खडेरीलाई शीर्ष स्थानमा पुर्‍याउँदा बालीहरू छिटो ओइलाउनेछन् र खाद्यान्न उत्पादन कम हुने छ ।’

सुक्खा र गर्मीको लहरले मानिसहरूको जीविकोपार्जनमा असर पार्ने र खाना किन्न सक्ने क्षमता कम हुने उनको भनाइ छ । इटालीको कृषि संघ कोल्डिरेट्टीले इटालीमा मध्य जुलाईमा परेको चर्को खडेरीका कारण राष्ट्रिय मौसमी बाली उत्पादनमा ३० देखि ४० प्रतिशतले कमी आउने जनाएको छ ।

त्यस्तै, बेलायतको जलवायु विभागले दक्षिणी र पूर्वी इंग्ल्यान्डका अधिकांश भाग जुलाईमा निकै सुक्खा भएकाले सिमी र जामुन जस्ता धेरै बालीको नोक्सान भइसकेको बताएको छ । इन्धन र खाद्यान्नको मूल्य बढेसँगै बेलायतको मुद्रास्फीति जुन महिनामा ४० वर्षकै उच्च स्थानमा पुगेको छ ।

स्पेन सरकारले जलाशयहरूमा मात्र ४० दशमलव ४ प्रतिशत क्षमता रहेको जनाएको छ । स्पेनले विश्वको लगभग आधा जैतुनको तेल आपूर्ति गर्दछ । तर खडेरीका कारण यस वर्ष स्पेनको जैतुन पछिल्लो ५ वर्षको औसतमा २० प्रतिशतभन्दा कम हुने जनाइएको छ ।

उत्पादनमा कमी हुँदा औसत युरोपेली उपभोक्ताले सन् २०२१ को तुलनामा खाद्य उत्पादनका लागि मासिक २ सय ४३ युरो बढी खर्च गर्नुपर्ने देखिएको छ ।

वातावरण, मत्स्यपालन र महासागरका लागि ईयू आयुक्त भर्जिनिजस सिन्केभिसियसले बुधबार ईयू राष्ट्रहरूलाई पानीको बर्बादी रोक्न पानीको पुनः प्रयोगका लागि जोड दिएका छन् । ‘हामीले पानीको बर्बादी रोक्न, परिवर्तनशील मौसमसित अनुकूल मिलाउन, हाम्रो कृषि आपूर्तिको सुरक्षा र दिगोपन सुनिश्चित गर्न यो फोहोर पानीको स्रोतलाई अझ प्रभावकारी रूपमा प्रयोग गर्न आवश्यक छ,’ उनले भनेका छन् ।

फ्रान्स र इंग्ल्यान्डका केही भागमा जुलाईमा अहिलेसम्मकै सबैभन्दा सुक्खा भएपछि युरोपेली आयोगले सदस्य राष्ट्रहरूलाई महाद्वीपका सुकेका खेतमा सिँचाइको रूपमा प्रशोधित सहरी फोहोर पानीलाई पुनः प्रयोग गर्न आग्रह गरिसकेको छ । लामो समयको खडेरीसँगै पछिल्लो समय युरोपका विभिन्न देशमा डढेलो फैलने क्रम पनि बढेको छ । फ्रान्सको जिरोन्डे क्षेत्रमा फैलिएको डढेलो नियन्त्रणमा लिन विभिन्न युरोपेली देशले सहयोग गरिरहेका छन् ।

प्रकाशित : श्रावण ३१, २०७९ ०८:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×