रुखबाट लडेर सल्यानमा एक जनाको मृत्यु- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुखबाट लडेर सल्यानमा एक जनाको मृत्यु

विप्लव महर्जन

सल्यान — रुखबाट लडेर सल्यानमा एक जनाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा चिप्लिएर रुखबाट लड्दा त्रिवेणी गाउँपालिका १ काभ्राका ५२ वर्षीय ओमबहादुर बुढाथोकीको मृत्यु भएको हो । 

शनिबार दिउँसो रुखबाट लडेर बेहोस भएका बुढाथोकीलाई राप्ती उपक्षेत्रीय अस्पताल दाङमा सामान्य उपचारपश्चात थप उपचारका लागि मिसन अस्पताल कोहलपुर लगिएको र सोही रात उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए ।

उनका अनुसार बुढाथोकी चार/पाँच जना छिमेकीसँग शनिबार दिउसो घरदेखि करिब दुई किलोमिटर टाढा पर्ने असुरे धारापानी भन्ने स्थानमा घाँस काट्ने क्रममा रुखबाट लडेर बेहोस भएका थिए । उनीसँगै गएका छिमेकी टेकबहादुर बोहराले आफन्तलाई खबर गरेको र आफन्तले प्रहरीलाई जानकारी गराएपछि उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसिपुर दाङ लगिएको थियो ।

मृत्यु भएका बुढाथोकीको शव जिल्ला अस्पताल सल्यान ल्याई पोस्टमार्टम गरिएको र मृतकको परिवारलाई दाहसंस्कारका लागि हस्तान्तरण गरिएको उनले जानकारी दिए ।

प्रकाशित : श्रावण ३०, २०७९ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्

नाफामा अब्बल सरकारी कम्पनी : विद्युत् प्राधिकरण, टेलिकम र राष्ट्रिय वाणिज्य बैंक 

कान्तिपुर संवाददाता

काठमाडौँ — कतिपय सरकारी कम्पनीहरु टाट पल्टिएर उठ्नै नसक्ने अवस्थामा रहेका बेला केही कम्पनीहरुले भने उत्साहजनक नाफा कमाइरहेका छन् । एक वर्षअघिसम्म राम्रो नाफा कमाएको आयल निगम अहिले घाटामा गएको छ भने केही वर्षअघिसम्म घाटामा रहेकाे नेपाल विद्युत् प्राधिकरणले अहिले सबैभन्दा धेरै नाफा कमाएको छ ।

सबैभन्दा धेरै नाफा कमाएकाे सरकारी संस्थान नै विद्युत् प्राधिकरण हो । सार्वजनिक वित्तीय विवरणअनुसार प्राधिकरणले गत आर्थिक वर्ष २०७८/७९ मा १६ अर्ब ९ करोड खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा उसको नाफा १६४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष कम्पनीले ६ अर्ब १० करोड खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षमा प्राधिकरणले १ खर्बको बिजुली बिक्री गरेको जनाएको छ । कुशल व्यवस्थापन, चुहावट नियन्त्रण र बिजुली उत्पादन बढेसँगै प्राधिकरणको नाफा उल्लेख्य बढेको छ । चालु आर्थिक वर्ष कम्पनीको नाफा अझै बढ्न सक्ने छ ।

सबैभन्दा धेरै नाफा कमाउनेमा दाेस्रो सरकारी कम्पनी हो- नेपाल टेलिकम । नेपाल टेलिकमले गत आर्थिक वर्ष ८ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । टेलिकमले अघिल्लो अर्थिक वर्ष २०७७/७८ मा ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । यो कम्पनीको जगेडा कोष पनि निकै मजबुत छ । जगेडा कोषमा ७७ अर्ब रुपैयाँ छ । यो कम्पनीमा करिब ९२ प्रतिशत सेयर हिस्सा सरकारको छ । विभिन्न संस्था र सर्वसाधारणको करिब ८ प्रतिशत हिस्सा छ । कम्पनीको प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ५६ पैसा छ ।

टेलिकमपछि सबैभन्दा धेरै नाफा कमाएको तेस्रो सरकारी संस्था हो राष्ट्रिय वाणिज्य बैंक । सबै बैंकहरुलाई पछि पार्दै राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षमा ५ अर्ब २१ करोड खुद नाफा कमाएको छ । सो बैंकले अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब ४२ करोड खुद नाफा कमाएको थियो । शत प्रतिशत सरकारी स्वामित्व रहेको यस बैंकले कमाएको नाफाबाट दिने सबै लाभांश सरकारलाई जान्छ । गत आर्थिक वर्षको नाफाबाट यस बैंकले ३ अर्ब रुपैयाँ बराबरको लाभांश वितरण गर्ने क्षमता राख्छ । यो सरकारी बैंकको आधार व्याजदर अरुकोभन्दा कम ७.८६ प्रतिशत मात्रै भएकाले ऋण लिनेका लागि पनि ब्याज अरुकोभन्दा सस्तो पर्न आउँछ ।


प्रकाशित : श्रावण ३०, २०७९ १२:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×