पढ्दै, कमाउँदै- कर्णाली - कान्तिपुर समाचार

पढ्दै, कमाउँदै

विद्यार्थीले ५ समूहमा विभाजित भएर बेमौसमी तरकारी, बेर्ना, च्याउ र सयपत्री फूलको व्यवसाय गर्दै
ज्योति कटुवाल

सुर्खेत — ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पसमा स्नातक तहमा कृषि विज्ञान पढ्दै गरेका जनकपुरका कमलदेव यादव बिहान क्याम्पस जानुअघि आफूले फलाएको तरकारी बजार लिएर जान्छन् । उनले तरकारसँगै कम्पोस्ट मल पनि बिक्री गरिरहेका छन् । ‘सिक्दै कमाउँदै गर्दा आमाबाबुको आर्थिक भार पनि कम भइरहेको छ,’ उनले भने, ‘तरकारीबाटै मासिक कम्तीमा १० हजार रुपैयाँ कमाइरहेको छु ।’

सप्तरीकी स्वस्तिका चौधरीले पनि पढ्दै कमाउँदै आएकी छन् । त्योसँगै उनको अर्को काम छ– भर्मिक कम्पोस्ट मल कसरी बनाउने भन्नेबारे जनचेतना दिने । ‘पढ्नेबाहेक बचेको समय कृषिमा लगाएका छौं,’ उनले भनिन्, ‘कमाउन थालेपछि घर खर्च पठाउँदा बुवाआमा खुसी हुनुहुन्छ ।’ उनले तितेपाती, टिमुरको पात र गाइको पिसाबबाट जैविक विषादी बनाउँछिन् भने गोठे मल, कुखुराको सुली, गड्यौला, फोहोरलगायतबाट जैविक मल पनि उत्पादन गर्दै आएकी छन् । उनीसँग यो काम गर्न ८ जनाको समूह छ । उनले मासिक १५ हजार रुपैयाँसम्म बचत गरिरहेको बताइन् ।

क्याम्पसमा ४२ जना अध्ययरत छन् । विद्यार्थीहरूले ५ समूहमा विभाजित भएर बेमौसमी तरकारी, तरकारीको बेर्ना, च्याउ र सयपत्री फूलको व्यवसाय गरिरहेका छन् । जसका लागि केही जग्गा क्याम्पसले दिएको छ भने अधिकांश जग्गा भाडामा लिएर विद्यार्थीले कृषि कर्म गरिरहेका छन् । ‘सिकेको ज्ञानलाई व्यवहारमा उतारिरहेका छौं,’ उनले भनिन्, ‘क्याम्पस आसपासको सबै जग्गा तरकारी खेतीले हराभरा भएको छ ।’

कर्णाली प्रदेशमा नै कृषिविज्ञ उत्पादन गर्ने गरी क्याम्पस सञ्चालन गरिएको क्याम्पसका निर्देशक पुष्कर खड्काले बताए । उनका अनुसार क्याम्पसले कर्णालीमा पहिलोपल्ट स्नातक तहको कृषि विज्ञानको पढाइ थालेको हो । ‘कर्णाली प्रदेश सरकारले कर्णालीलाई अर्गानिक प्रदेश त घोषणा गर्‍यो, तर रासायनिक मल र बाहिरकै खाद्यान्नको भर छ,’ उनले भने, ‘उत्पादन बढ्ने र रोग–कीराको प्रकोप कम हुने भएपछि विद्यार्थीहरूले उत्पादन गरेको मलको माग अहिले सुर्खेतबाहेकका जिल्लामा पनि बढिरहेको छ ।’ उनले बजारको व्यवस्था भए विद्यार्थीहरूले बर्सेनि झन्डै ५ करोडको भर्मिक कम्पोस्ट मल उत्पादन गर्न सक्ने बताए । क्याम्पसले यही वर्ष १२ बिघामा कृषि खेती गर्ने योजना बनाएको उनको भनाइ छ ।

सरकारले कर्णालीलाई नामको मात्र अर्गानिक प्रदेश बनाएको क्याम्पसकी विद्यार्थी निशा तिवारीले बताइन् । ‘अहिले विषादी प्रयोग नगरेको खानेकुरा बजारमा पाइँदैन, सरकारले किसानलाई घरघरमा कसरी प्रांगारिक मल उत्पादन गर्ने भन्ने सीप सिकाउन जरुरी छ,’ उनले भनिन्, ‘त्यसका लागि हामी स्वयम्सेवकको रूपमा काम गर्न तयार छौं ।’ उनका अनुसार अहिले कम्पोस्ट मल प्रतिकिलो ३४ रुपैयाँमा बिक्री भइरहेको छ ।

प्रकाशित : श्रावण ३०, २०७९ ११:११
प्रतिक्रिया
पठाउनुहोस्

हत्या गरेर शवलाई रेलमा चढाएपछि...

बहिनीसँग प्रेम सम्बन्ध राखेको शंकामा दाजुभाइ मिलेर युवकको हत्या
कान्तिपुर संवाददाता

पर्सा — बहिनीसँग प्रेम सम्बन्ध रहेको आशंका गर्दै छिमेकका एक युवकको हत्या गरेको आरोपमा दाजुभाइ पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको विश्रामपुर गाउँपालिका–५ का ३० प्रितम पटेल र उनका २८ वर्षीय भाइ उत्तम छन् । वीरगन्ज–१६ नगवामा टेलरिङ पसल गर्ने पटेल दाजुभाइले छिमेकी २३ वर्षीय राजकुमार ठाकुरको हत्या गरी लास भारतीय रेलमा छाडेको खुलेको पर्सा प्रहरीले जनाएको छ ।

गत मंगलबार बिहान ९ बजे ट्युसन पढ्न वीरगन्ज–१६ नगवातर्फ साइकलमा हिँडेका राजकुमार घर फर्किएनन् । खोजी गर्दा पनि छोरा नभेटिएपछि बाबु मोतीलालले जिल्ला प्रहरी कार्यालय पर्सामा छोरा खोजी पाऊँ भनी निवेदन दिएका थिए । पर्सा प्रहरीले खोजीका क्रममा गत शुक्रबार पटेल दाजुभाइलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको थियो । उनीहरूले राजकुमार र आफ्नी १६ वर्षीया बहिनीबीच प्रेम सम्बन्ध रहेको शंकामा हत्या गरेको स्विकारेपछि शव पनि पत्ता लागेको जिल्ला प्रहरीका प्रवक्ता डीएसपी प्रह्लाद कार्कीले बताए ।

प्रहरीका अनुसार ट्युसन पढ्न हिँडेका ठाकुरलाई पटेल दाजुभाइले बाटोबाटै नियन्त्रणमा लिएर आफ्नै पसलमा लगेर हत्या गरेको बयान दिएका छन् । हत्यापछि शव बोरामा राखेर ना३८प ४३९५ नम्बरको मोटरसाइकलमा सीमावर्ती भारतको रक्सौल रेलवे स्टेसन पुर्‍याए । रेलवे प्लेटफर्ममा मुजफ्फरपुर जाने रेलको शौचालयछेउ खाली ठाउँमा शव लुकाइएको बोरा राखिदिएर उनीहरू वीरगन्ज फर्किएका थिए । पटेल दाजुभाइको बयानपछि जिल्ला प्रहरी कार्यालयले सई विनोदकुमार सिंहको नेतृत्वमा टोली भारत पठाएको थियो । रेलमा चढाइएको शव रक्सौलबाट करिब पौने १० घण्टा दूरीको भागलपुर पुगेको थियो । करिब ४ सय किलोमिटर टाढा पुगेको शव भारतीय प्रहरीको समन्वयमा बरामद गरेर नेपाल ल्याएको छ ।

शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको डीएसपी कार्कीले बताए । पक्राउ परेका पटेल दाजुभाइविरुद्ध अपहरण तथा शरीर बन्धक र ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा कारबाहीका लागि अनुसन्धान भइरहेको छ । मृतक राजकुमारका आफन्त तथा गाउँलेले पटेल दाजुभाइलाई कडा कारबाहीको माग गर्दै आइतबार जिल्ला प्रहरी कार्यालय पर्सामा आएर नाराबाजी गरेका छन् । प्रहरीका अनुसार पटेल दाजुभाइले शंका गरेजस्तो ठाकुरको प्रेम सम्बन्ध रहेको भन्ने पुष्टि भएको छैन । बरु पटेल दाजुभाइले बहिनीलाई कडा नियन्त्रणमा राख्ने कोसिस गरिरहने, कोही केटाले बोलेको देख्यो भने पनि उसलाई गाली गर्ने र धम्क्याउने गर्दै आएको खुलेको जनाएको छ ।

प्रकाशित : श्रावण ३०, २०७९ ११:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×