सल्यानमा मनाइयो रोपाइँ जात्रा- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सल्यानमा मनाइयो रोपाइँ जात्रा

विप्लव महर्जन

सल्यान — सल्यानमा आइतबार रोपाइँ जात्रा मनाइएको छ । नेवार समुदायको बाहुल्य रहेको सल्यान खलंगाको थापागाउँबाट पुरानो बसपार्क घुमाई बालबालिकालाई विभिन्न प्रकारका भोजन गराएर रोपाइँ जात्रा सम्पन्न गरिएको हो ।

रोपाइँ जात्रामा खेत जोत्ने गोरु, हली, कटघोरा, लाखे नाचसमेत प्रदर्शन गरिएको थियो । साउनको महिना खेतीपाती सकेर फुर्सदको समयमा मनोरञ्जन गर्न गाईजात्रासँगै रोपाइँ जात्रा गर्ने परम्परा रहेको छ । विगतमा रोपाइँ जात्रामा पुरुषलाई सिंगारेर महिला बनाई बजार परिक्रमा गराउने परम्परा रहेकोमा अहिले साना-साना नानी तथा किशोरीलाई घुमाउने गरेको नेवार समाज सल्यानका अध्यक्ष बिमलकुमार श्रेष्ठले बताए ।

सल्यान सदरमुकाममा गाईजात्रा पहिलेकै जसरी सञ्चालनमा आए पनि समयसँगै केही प्रभावित भने भएको र स्थानीयले पनि कम चासो दिन थालेको उनले बताए । ‘अहिले आफ्नो संस्कृतिको संरक्षण गर्ने खालको मात्र काम भएको छ‚’ उनले भने ।

नेवार समुदायका सल्लाहकार मनोहरसिंह महर्जनले समुदायका नेवारहरू बिस्तारै सदरमुकाम छाडेर बाहिर बस्न थालेपछि सबै किसिमका जात्रा प्रभावित भएको बताएका छन् । पछिल्लो समयमा खर्चिलो भए पनि विगतजस्तो भने मानिसहरूको सहभागिता र मनोरञ्जन कम हुने गरेको उनको भनाइ छ ।

प्रकाशित : श्रावण २९, २०७९ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्

विवेकशील साझा पार्टीको अध्यक्षमा बास्कोटा, संयोजकमा भट्टराई

कान्तिपुर संवाददाता

काठमाडौँ — विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा चयन भएकी छन् । त्यस्तै पार्टीको संयोजकमा सञ्जीवबल्लभ भट्टराई तोकिएका छन् । स्थानीय तह चुनावमा हार बेहोरेपछि तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले पार्टीबाट राजीनामा दिएका थिए ।

मिश्रले गत जेठमा राजीनामा दिएपछि उक्त पार्टीको नेतृत्व कसको जिम्मामा जाने भन्ने अन्योल थियो । उक्त अन्योललाई चिर्दै पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकले कार्यसमिति सदस्यद्वय र बास्कोटा र भट्टराईलाई पार्टीको मूल नेतृत्वको जिम्मेवारी दिएको हो ।

पार्टीको वाग्मती प्रदेशकी पूर्वसंयोजक ३८ वर्षीया बाँस्कोटा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार थिइन् । त्यसअघि उनले २०७४ को निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेर २७ प्रतिशत मतसहित तेस्रो स्थान हासिल गरेकी थिइन् । उनले काठमाडौँ स्कुल अफ लबाट कानुनमा स्नातक र अमेरिकाबाट कानुनमै स्नातकोत्तर गरेकी छन् ।

संयोजक चयन भएका केन्द्रीय कार्यसम्पादन समितिका सदस्य भट्टराईले समाजशास्त्र, अर्थशास्त्र र अङ्ग्रेजी भाषामा स्नातक गरेका छन् । ३४ वर्षीय भट्टराई तत्कालीन विवेकशील नेपाली दलको निर्वाचित नीति सचिव तथा विवेकशील साझा पार्टीको नीति विभाग प्रमुख थिए ।

बैठकले आउँदो मंसिर ४ गते हुने संघीय तथा प्रादेशिक निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने र त्यसका लागि आवश्यक तयारी थाल्ने पनि निर्णय गरेको छ ।

प्रकाशित : श्रावण २९, २०७९ १९:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×