बालिका करणीको आरोपमा एक जना पक्राउ- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालिका करणीको आरोपमा एक जना पक्राउ

डीबी बुढा

जुम्ला — १३ वर्षीया बालिका करणीको आरोप लागेका जुम्ला चन्दननाथ ७ का प्रेमजङ्ग महतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार बालिकाको आमाले जिल्ला प्रहरी कार्यालय जुम्लामा महतविरुद्ध उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको हो । चन्दननाथ ५ जुगाढखोला क्षेत्रबाट महतलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । 

महतले धर्मछोरीको रुपमा घरमा राखेका बालिकालाई पटक पटक करणी गर्दै आइरहेको बालिकाको आमाको आरोप छ । बालिकालाई पढाइलेखाइको व्यवस्था गरिदिने र घरायसी काममा सहयोग पुग्ने गरी धर्मछोरीको रुपमा राखेका थिए । बालिकाकी आमासँग सहमति गरेर गत वैशाखदेखि उनी महतको घरमा धर्मछोरीको रुपमा बसेकी थिइन् ।

आमाले दोस्रो बिहे गरेपछि छोरी पनि साथमै जाजरकोटदेखि जुम्ला आएकी हुन् । व्यापार व्यवसाय गर्न थालेकी आमासँग सदरमुकाम खलंगामा बस्दै आएकी बालिकालाई नजिकैको नाता पर्ने ईश्वरी आरसीले महतको घरमा राखिदिने सहमति गराइदिएकी थिइन् ।

‘छोरी बनाएर पाल्छु भनेर लिए करणी गरेर छोरीको भविष्य अन्यौलग्रस्त बनाइदिए‚’ आमाले भनिन्, ‘अरुसँग कुरा भनिस् भने मारिदिन्छु भन्ने धम्की दिएपछि छोरीले मुसामारसमेत सेवन गरिन् ।’

चन्दननाथ नमुना माध्यमिक विद्यालय खलंगामा कक्षा ४ मा अध्ययनरत बालिका स्कुल पढ्ने वातावरण नभएपछि जाजरकोटस्थित मामाको घरमा गएकी छन् । यता आमाछोरीलाई मिलापत्र कागज बनाइदिएर करणीको विषय गुपचुप बनाउन महतका आफन्तले प्रयास गरेको पीडितकी आमाले बताइन् ।

उनीहरूले बालिकाको पठनपाठनका लागि भन्दै ७ लाख रुपैयाँ दिएको मिलापत्र कागजमा उल्लेख गरिएको छ । मिलापत्रमा साक्षीका रुपमा सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्षदेखि जनप्रतिनिधिसम्म संलग्न छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी नरेन्द्र चन्दले आरोपित महतमाथि अनुसन्धान भइरहेको बताए । उनका अनुसार बालिका आइपुग्नेबित्तिकै सोधपुछदेखि मेडिकल जाँचको काम अघि बढाइने छ ।

यता प्रेमजङका आफन्तले भने करणीको कार्य नभएको दाबी गरेका छन् । छोरी अन्य केटासँग जिस्किन र बिग्रन थालेको संकेत पाएपछि आमाको जिम्मा लगाइएको उनीहरूले बताउँदै आएका छन् ।

प्रकाशित : श्रावण २९, २०७९ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्

मापसे गरेर स्कुल बस चलाउने ६ जना चालक कारबाहीमा

कान्तिपुर संवाददाता

काठमाडौँ — बिहानै मादक पदार्थ सेवन (मापसे) गरेर स्कुल बस चलाउने ६ जना चालक आइतबार कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहान साढे ५ देखि साढे ८ बजेसम्म जाँच गरेको थियो । त्यसक्रममा मापसे गरेर स्कुल बस चलाउने ६ जना चालक कारबाहीमा परेका हुन् ।

मदिरा पिएर स्कुलका सवारी साधन चलाएका चालकलाई नियन्त्रणमा लिई सम्बन्धित स्कुललाई जानकारी गराई अर्को चालकमार्फत विद्यार्थीहरुलाई गन्तव्यमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

मापसे गरेर स्कुल गाडी चालकहरूमा बा ३ क ९३५ नम्बरको ओमेगा सेकेण्डरी स्कुल कुमारीपाटीका ईन्द्रबहादुर श्रेष्ठ, बा १ क ९४५६ नम्बरको टाइम ईन्टरनेसनल कलेजका राजकुमार श्रेष्ठ र बा १ क ९३५६ नम्बरको त्रियोग हाई स्कुलका साङ्गेल शेर्पा रहेका छन् ।

त्यस्तै, बा ८ च ९३८३ नम्बरको रेडियन्ट पव्लिक स्कुलका शिव कुमार क्षेत्री, बा १८ च ९८०१ नम्बरको ओरेन्ट ईष्ट मन्टेश्वरी स्कुल बल्खुका मनोज महर्जन र बीएबी ००६४ नम्बरको निटिज बोर्डिङ स्कुल कुपण्डोलका भिमसेन नेपाली रहेका छन् । ट्राफिक प्रहरीको नियमित जाँचमा अन्य ट्राफिक नियम उल्लंघन गर्ने ८ जना स्कुल बसका चालकसमेत कारबाहीमा परेका छन् ।

ट्राफिक प्रहरी कार्यालयले गएको साउन ८ गतेदेखि स्कुल बस चेक गर्ने अभियान संचालन गर्दै आएको छ । हालसम्म १ सय १७ वटा स्कुल बसका चालकहरू कारबाहीमा परिसकेका छन् । जसमध्ये मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने २२ वटा र अन्य ट्राफिक नियम उल्लंघन गर्ने ९५ वटा स्कुल बसका चालकहरुलाई ट्राफिक प्रहरीले कारबाही गरिसकेको छ ।

प्रकाशित : श्रावण २९, २०७९ १७:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×