कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

जुम्लामा रोपाइँ जात्रा

डीबी बुढा

जुम्ला — कर्णालीको लामो जात्राको दोस्रो दिन रोपाइँ जात्रा निकालिएको छ । यो जात्रालाई जुम्ली मार्सीधानको झल्को दिने जात्राको रुपमा चिनिन्छ । पुरुषहरुले महिलाहरुको रुप धारण गरेर अघि-अघि हलो, पछिपछि बिगारो लगाउँदै रोप्नेरी (रोपाहार)को लाइन लगाएर रोपाइँ जात्रा निकालिन्छ ।

जुम्लामा रोपाइँ जात्रा

जात्रामा निस्किएका रोप्नेरीले सदरमुकाम खलंगाको सबैतिर रोप्छन् । १९९३ सालदेखि जुम्लामा रोपाइँ जात्रा प्रारम्भ भएको स्थानीय चित्रलाल श्रेष्ठ बताउँछन् । यो जात्रा किसानले थकान मेट्ने र रमाइलो गर्ने पर्वका रुपमा लिइन्छ ।

स्थानीय धोती चोलोको पहिरनमा स्याँकु ओढेर सदरमुकामको प्रशासन कार्यालय, बालमन्दिर हुँदै विजयनगर परिक्रममा गरी रोपाइँ जात्रा निकालिएको हो । रोपाइँ जात्रामा किसानहरुको बढी सहभागिता हुने गर्दछ । किसानले गर्ने खेतीपातीमै बढी केन्द्रित हुने भएकोले किसानमैत्री जात्राका रुपमा हेरिन्छ । स्थानीय जात्रा समितिका सल्लाहकार चित्रलाल श्रेष्ठका अनुसार रोप्नेरीको नक्कल गर्दै चन्दननाथ भैरवनाथ मन्दिर परिक्रममा गरिसकेपछि बजारमा जात्रा सुरु हुन्छ ।

चन्दननाथ बावाले जुम्लीमार्सी धान जुम्लामै उत्पादन गरेकोले रोपाइँ जात्रा मनाउने प्रचलन आएको उनले बताए । जुम्ली मार्सी धानको जगेर्ना गर्न रोपाइँ जात्रामार्फत सन्देश दिने जात्रा समिति कोषाध्यक्ष महेन्द्रबहादुर कार्कीले बताए । पछिल्लो चरणमा धान रोप्ने खेतमा वैकल्पिक खेती गर्न थालेपछि रोपाइँ जात्रामार्फत धानको जगेर्ना गर्न सन्देश दिँदै आएको उनले बताए ।

रोपाइँ जात्रा किसानहरुको भेटघाट माध्यम बन्ने गर्दछ । रोपाइँ जात्रा कहिले आउला र नयाँ लुगा लगाउँला भन्ने स्थानीय किसानको अपेक्षा हुन्छ । परम्परादेखिको रोपाइँ जात्रालाई यहाँका किसानले विशेषरुपमा हेर्दै र मनाउँदै आएको संस्कृति जानकार रमानन्द आचार्य बताउँछन् ।

रोपाइँ जात्रा हुनुपूर्व नै यहाँका किसानले रोपाइँ र गोडाईका सबै काम सकाएका हुन्छन् । स्थानीय अगुवा श्रेष्ठले भने, 'किसान रोपाइँ जात्राको पखाईमा बसेका हुन्छन् । किसानको खुलदुली रोपाइँ जात्राले मेटाउँछ । सधैंभरी काममै व्यस्त रहने किसानलाई यो पर्व मनोरञ्जनको थलो बन्छ । यो जात्रामा जिल्लाभरीका किसान सदरमुकाम आएका हुन्छन् । किसान-किसान भेटघाट गर्ने थलोको रुपमा रोपाइँ जात्रालाई लिने गरिएको छ ।

पछिल्लो समय रोपाइँ जात्रामा कालिकोट, जाजरकोट, दैलेख, मुगु र डोल्पा जिल्लाका मानिस पनि हेर्न आउने गर्छन् । जुम्लामा फागुन महिनादेखि नै खेतीपाती सुरु हुन्छ । धेरैजसो महिला किसानी काममा लागेका हुन्छन् । उनीहरु रोपाइँ जात्राको पर्खाइमा रहेका हुन्छन् । रोपाइँ जात्राको दिनमा थकाई मेट्ने र एक आपसमा खुसीयाली बाँड्ने अपेक्षा उनीहरुमा रहेको पाइन्छ । मानिसलाई सिंगारेर हली, बाउसे र गोरु जस्तै बनाइन्छ । सडकमा जोतेको जस्तो अभिनय गरेर रोपाइँ जात्रा निकालिन्छ ।

प्रकाशित : श्रावण २८, २०७९ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?