तस्बिरहरू

सल्यानमा मनाइयो गाईजात्रा

विप्लव महर्जन

सल्यान — नेवार समुदायले सल्यानमा धुमधामका साथ गाईजात्रा पर्व मनाएका छन् । एक सातासम्म लगातार विभिन्न किसिमका जात्रा गरेर संस्कृतिको संरक्षण गर्दै जिल्लाबासीलाई मनोरन्जन दिलाउँदै आएका नेवार समुदायले जनै पूर्णिमाको दिन शुक्रबार र शनिबार दुई दिन गाईजात्रा पर्व मनाएका हुन् ।

सल्यानमा मनाइयो गाईजात्रा

मृतकको सम्झना स्वरुप गाई निकालेर नेवार समुदायले सदरमुकाम खलंगा बजार परिक्रमा गरेका थिए । गाईजात्रा हेर्नका लागि जिल्लाका विभिन्न क्षेत्रबाट सयौं मानिस सहभागी थिए ।


संस्कृतिको जगेर्णा गर्ने उद्देश्यका साथ गाईजात्रा पर्व मनाइएको गाईजात्रा सञ्चालन समितिका अध्यक्ष राजेशकुमार श्रेष्ठले बताए । उनले शान्त र सौहार्दपूर्ण रुपमा गाईजात्रा पर्व मनाइएको जानकारी दिएए । ‘सल्यानमा दुई दिन गाईजात्रा पर्वसँगै एक सातासम्म रोपाइँ, सिपाही, बाघ, गणेश, भैरव र दही जात्रा मनाउने गरिन्छ,’ उनले भने, ‘गाईजात्रा उल्लासका साथ मनाउने गरेपनि अन्य जात्राहरुमा भने पहिलाको जस्तो रौनक भने छैन । विस्तारै लोप हुँदै गएको छ ।’


परम्परागत संस्कृतिको जर्गेना गर्न अति आवश्यक भएकाले ओझेलमा पर्न नदिन गाईजात्रा निकालेको नेवार समाजका बुद्धिजिवी टेकबहादुर श्रेष्ठले बताए । उनका अनुसार वि.स. १८३५ मा त्यसबेलाका बडाहाकिमसँग व्यापार गर्ने क्रममा काठमाडौं, भक्तपुर, कीर्तिपुर र पाल्पाबाट नेवारहरु सल्यान आएका थिए । सदरमुकाममा बस्ती बसेसँगै झन्डै तीन वर्ष पहिलेदेखि सल्यानमा गाईजात्रा पर्व मनाउँदै आइएको छ ।


काठमाडौं लगायत अन्य जिल्लाको तुलनामा सल्यानमा निकालिने गाईजात्रा विशेष खालको र केही फरक हुने गरेको नेवार समुदायका अर्का सल्लाहकार मिश्री प्रधानले बताए । पछिल्लो समयमा नेवार समुदायको पर्वमा क्षेत्री, ठकुरी लगायत अन्य जाती पनि सहभागी हुँदै आएको उनले बताए । उनका अनुसार डोकोमा बाँस बाँधेर त्यसलाई कपडा लगाएर सिँगारी मानव आकारको गाई तयार पारिन्छ । त्यसमा गाईको र मृतकको तस्बिर राखिन्छ । चारजना नाच्ने, चार मादले र एक डोके हुन्छन् । डोकेलाई डोकोभित्र छिराई मादलेको मादलको तालमा नर्तकहरु नाच्ने गर्छन र बजार घुमाइन्छ । मृतकको सम्झनामा एक मानव बच्चालाई सिँगारेर बाच्छा बनाइन्छ । जनैपूर्णिमाको दिन गाईको पुच्छर समातेर बैतर्नी पार गर्दै मरेका व्यक्ति स्वर्ग पुग्छन् र मुक्ति पाउँछन् भन्ने जनविश्वास रहेकाले सिंगारिएको गाईमा गाईको तस्बिर राख्ने गरिएको उनको भनाइ छ ।


मल्लकालीन राजा प्रताप मल्लकी रानीले छोराको मृत्यु भएपछि विलाप गर्न थालेपछि उनको मन शान्त पार्न राजाले गाईजात्रा निकाल्न लगाई गाईजात्रा पर्व मनाउन थालिएको जनविश्वास रहेकै कारण मृतकको आत्माले शान्ति पाओस् भनेर गाईजात्रा पर्व मनाउने धार्मिक तथा परम्परागत विश्वास रहेको छ ।


प्रकाशित : श्रावण २८, २०७९ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?