राजमार्ग र करिडोरमा सधैं जोखिम- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजमार्ग र करिडोरमा सधैं जोखिम

सडकको स्तरोन्नतिका लागि गत आर्थिक वर्षमा राजमार्गमा ३२ करोड रूपैयाँ खर्च
तुलाराम पाण्डे

कालीकोट — सुर्खेतबाट मुगुको सेरी पुग्न आइतबार सुर्खेतबाट ५ जनाको परिवारसहित हिँडेका जगत मल्ललाई कालीकोटको मान्म पुग्नै २ दिन लाग्यो । सुर्खेतबाट दैलेख हुँदै कालीकोटको मान्मसम्मको दूरी १ सय ५१ किमि मात्र छ । तर सडकको दुरावस्थाले ७ घण्टाको बाटोमा उनको परिवारले २ दिन लगायो । ‘सुर्खेतबाट सके मुगु, नभए नाग्म पुगिन्छ भनेर टिकट काटें,’ उनले भने, ‘सुनारखोलामा गाडी फस्दा त्यहीं एक दिन बिताइयो ।’ 

सुर्खेतमा ११ कक्षामा छोरा भर्ना गर्न हुम्लाको उनापानीबाट ३ दिनअघि पैदल हिँडेका कर्णबहादुर ऐडीलाई गाडी भेटाउनै ३ दिन लाग्यो । ६ घण्टा पैदल हिँडेर बाजुरा र हुम्लाको सिमाना कुवाडीबाट गाडी चढ्न पाइन्छ भन्ने सुनेका उनले गाडी चढ्न कालीकोटको भुराबगर आउनुपरेको बताए । उनीसँग आएको ९ जनाको टोली भुराबगरमा जितेसम्मको ६ सय ५० रुपैयाँको टिकट काटे पनि रेंगिलको हिलोमा गाडी फसेपछि फेरि २ घण्टा हिँडेर जिते पुगेको हो । ‘सारै दुःख पाइयो, जहाज चढ्ने पैसा छैन,’ उनले भने, ‘गाडी चढे सास्ती मात्रै, सडक नजिक आयो, अब त सुख पाइन्छ कि भनेको हाम्रा दुःख सधैं उस्तै ।’

घाम लागे धूलो, पानी परे हिलो हुने कर्णाली राजमार्ग र कर्णाली करिडोरमा यात्रुलाई सास्ती भएको छ । कर्णाली राजमार्गको पादुका, दहीखोला, कालेखोला, हुल्म, सेरिघाट, सुनार खोला, ताडी, पिली र टिमुरे भीरमा सडक बिग्रिएकाले यात्रुलाई सास्ती हुने गरेको बस चालक नमराज डाँगीले बताए । ‘घण्टा घण्टामा गाडी फस्छ,’ उनले भने, ‘राजमार्गमा गाडी चलाउनै मुस्किल भयो, गाडी नबिग्रेको पनि दिनै हुँदैन ।’

कर्णाली राजमार्गमा सबैभन्दा बढी सुनार खोलाले यात्रुलाई सास्ती दिइरहेको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए । ‘दिनहुँजसो गाडी रोकिएकै हुन्छन्,’ उनले भने, ‘यात्रुको बिजोग हुने गरेको छ ।’ उनले पहिरो हटाउन सडक डिभिजन कार्यालयलाई दैनिकजसो निर्देशन दिइरहेको जानकारी दिए ।

राजमार्गमा विश्व बैंकको झन्डै १ अर्ब रुपैयाँ सहयोगमा २०७२ सालमा सुर्खेतबाट खिड्कीज्यूलासम्म १ सय २६ किलोमिटरमा पहिलो चरणमा र खिड्कीज्यूलादेखि जुम्लासम्म १ सय ७ किमिमा दोस्रो चरणमा कालोपत्र गरिएको थियो । तर अहिले झन्डै १ सय ८३ किलोमिटर कालोपत्र उप्किएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । अधिकांश कालोपत्र उप्किएपछि दुर्घटनाको जोखिमसँगै यात्रा कष्टकर बनेको हो । सडकको स्तरोन्नतिका लागि गत आर्थिक वर्षमा राजमार्गमा ३२ करोड रुपैयाँ खर्च भएको थियो ।

कालीकोटको खुलालु हुँदै बाजुरा, मुगु र हुम्लाको सिमानासम्म सडक जोडिएको कर्णाली करिडोरको हालत पनि उस्तै छ । कर्णाली राजमार्गबाट छुट्टिएर करिडोरलाई जोड्ने खुलालु पुलनजिकै सडकको स्तरोन्नति नहुँदा गाडी चढ्न सक्ने अवस्था नरहेको गाडी चालकहरू बताउँछन् । गाडी चालक अमृत सुनारले रेंगिलदेखि आमतडासम्मको सडक पानी पर्नेबित्तिकै अवरुद्ध हुने गरेको बताए । उनका अनुसार २ वर्षअघि बाढीले फुगाड खोलामा बनाइएको फलामे बेलिब्रिज बगाएपछि खोला तर्न पनि कठिनाइ भएको छ । पुल नहुँदा २ वर्षयता फुगाड खोलामा ३ वटा मोटरसाइकल र २ जना यात्रु बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

करिडोरअन्तर्गत सलीसल्लासम्मको ट्र्याक खुलेपछि झन्डै एक वर्षअघि नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण गरेको थियो । ‘सेनाले सडक विभागलाई हस्तान्तरण गरेको भनेर हेर्दैन,’ पलाता–१ खाडाका शिवशंकर न्यौपानेले भने, ‘सडकले थप काम सुरु गरेकै छैन ।’ उनका अनुसार पचालझरनास्थित भुराबगर र जारकोट खण्डमा गएको पहिरोले एक महिनादेखि सडक अवरुद्ध छ । उनले भौरेकुना, रेंगिल, कोट, आमतडालगायत ठाउँमा पनि पहिरो गएको जानकारी दिए ।

वर्षाले कालीकोटका अधिकांश ग्रामीण सडक पनि अवरुद्ध छन् । स्थानीय तहले निर्माण गरेका सबैजसो सडकमा सहज रूपमा गाडी चल्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । नरहरिनाथ जोड्ने खुलालु–लालु, लालीघाट–कुमालगाढ– डाडामाडु, जाइकोट–लुसा –सेरिज्यूला, कोट–रकु, सान्नीगाड–मेहेलमुडीलगायत सडक झन्डै एक महिनादेखि बन्द छन् ।

डोजरबाट खनिएको ताडी– तिलाकर्णाली बहुमुखी क्याम्पस जोड्ने सडकमा ताडीमा हिलोले पैदल हिँड्न पनि कठिन भएको जनजीवन माविकी विद्यालय नर्स प्रतिभा शाहीले बताइन् । ‘विद्यार्थीहरू चिप्लिएर भीरमा खस्ने डर छ,’ उनले भनिन्, ‘गाडी हिँड्ने बाटो बनाउँदा पैदल हिँड्न पनि जोखिम मोल्नुपर्‍यो ।’

प्रकाशित : श्रावण २८, २०७९ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्

चुइँकी र गाईजात्रामा रौनक कम

कान्तिपुर संवाददाता

पाल्पा — यस वर्ष जनैपूर्णिमा र गाईजात्रा एकै दिन मनाउँदा रौनक कम देखिएको छ । जनैपूर्णिमाको दिनमा चुइँकी फिराइ निकाल्ने चलन थियो । जनैपूर्णिमाको भोलिपल्ट गाईजात्राका लागि निम्तो दिन चुइँकी निकाल्ने चलन चलेको हो । 

थोत्रा टिन ठटाएर विभिन्न प्रहसन गर्दै गाईजात्राको निम्तो दिइन्थ्यो । ‘यस वर्ष एकै दिनमा दुई जात्रा परेपछि चुइँकी निकालियो,’ पाल्पाली नाट्य समूहका किरण चित्रकारले भने, ‘दुवै जात्रा एकै दिनमा पर्दा जात्राकै रौनकमा कमी आएजस्तो भयो ।’ बजार क्षेत्रमा सर्वसाधारणको उपस्थिति पनि कम भयो । जनैपूर्णिमा पर्व मनाउन सदरमुकामबाट धेरै बाहिरिए । त्यसैले गाईजात्रा हेर्नेहरूको पनि कमी भयो । जात्रा निकाल्नेको संख्यामा पनि कमी आयो । रामायण, बासा, तायमचा पनि बजार क्षेत्रमा कमै निकाले । कलाकार चित्रकारका अनुसार तानसेन बजारमा जात्राको रौनक खासै आउन सकेन ।

तानसेनमा जात्रा सुरु भएपछि बजार, चोक, पसलमा भीड बढ्थ्यो । तर, यस वर्ष बजार क्षेत्र सुनसानजस्तै भएको छ । ‘बजारमा जति रौनक हुनुपर्ने हो, त्यो भएकै छैन,’ व्यापारी रमेश थापाले भने, ‘जात्राको मौसम सुरु भएर के गर्नु ?, बजार क्षेत्रमा चहलपहल नै छैन ।’ मध्याह्नमा तानसेन बसपार्क, टुँडिखेल, पाल्पा दरबार, शीतलपाटी, विशाल बजारमा चित्रकारको पाल्पाली नाट्य समूहले चुइँकी फिराइ निकाल्यो । बसपार्ककै राजकुमार रञ्जनको समूहले पनि सांस्कृतिक प्रहसनसँगै चुइँकी फिराइ निकालेको छ ।

व्यङयात्मक प्रस्तुति, काम्ले गाई, बासा, रामायणको रौनक भने तानसेन बजारमा विगतको जस्तो देखिएन । गाउँमा भने शुक्रबार दिउँसो अबेर तायमचा निकालेका छन् । कसेनी सराइका रेखीराम रानाका अनुसार नेवारी पोसाकसहित तायमचा निकालिएको छ । तानसेन बजार क्षेत्रमा कतिपयले दिवंगतको सम्झनामा सामान्य जात्रा निकाले । ‘अघिल्ला वर्षमा जस्तो रौनक देख्नै पाइएको छैन,’ स्थानीय व्यापारी प्रेम कार्कीले भने । पहिले जस्तो बासा, रामायण, तायमचना, गाईजात्रा पनि यस वर्ष नदेखिएको संस्कृतिका जानकार राजेन्द्रगोपाल सिंहले बताए । उनका अनुसार काठमाडौंपछि सबैभन्दा धेरै जात्रा मनाइने सांस्कृतिक सहर तानसेनमा नौदिने जात्रा जनै पूर्णिमाबाट सुरु हुने हो ।

तानसेनमा जनैपूर्णिमाको दिन चुइँकी फिराइ निकालेसँगै नेपाल–अंग्रेज युद्धको सम्झनामा कृष्ण जन्माष्टमीको भोलिपल्ट भगवती जात्रा निकालेर जात्रा सकिने चलन रहेको उनले बताए । भैरवस्थान, तानसेन, जब्गादी, रामपुर लगायतका स्थानमा लाखेसँगै गाईजात्रा मनाउँदा छुट्टै रौनक हुने संस्कृतिका जानकार नारायण कुँवरले बताए । जात्राको पहिलो दिन चुइँकी फिराइ निकाल्दा ढ्याङढुङ र झ्याली पिट्न सुरु भएसँगै रौनक पनि बढ्ने पाल्पाली नाट्य समूहका विजय बम्डेलले बताए ।

‘यस वर्ष बजार क्षेत्रमा जात्रालु पनि कम देखिए,’ उनले भने, ‘जनैपूर्णिमाको अघिल्लो दिन लाखे निकाल्दा पनि खासै भीडभाड भएन ।’ यहाँको नेवारी समुदायमा मल्ल, सेन र राणाका पालामा काठमाडौंबाट जात्रा भित्रिएको इतिहासविद् मदन देउरालीले बताए ।

प्रकाशित : श्रावण २८, २०७९ ०९:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×