२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

कर्णालीको लामो जात्रा सुरु 

डीबी बुढा

जुम्ला — जुम्लामा कर्णाली प्रदेशकै लामो जात्रा सुरु भएको छ । गाईजात्राको दिनदेखि सुरु हुने जात्रा श्रीकृष्ण जन्माष्टमीका दिनमात्रै सकिन्छ । जात्राको पहिलो दिन गाईजात्रा निकालिएको हो । दिवंगत भएका आफन्तहरुको सम्झना गर्दै उनीहरुको आत्मशान्तिको कामना गर्दै गाईजात्रा पर्व मनाइएको जात्रा समितिका कोषाध्यक्ष महेन्द्रबहादुर कार्कीले बताए । 

कर्णालीको लामो जात्रा सुरु 

चन्दननाथ नगरपालिका विजयनगरबाट स्वर्गीय लालबहादुर थापा र श्रीकृष्ण टोलका स्वर्गीय मिनबहादुर सुनारको घरबाट गाईजात्रा निकालिएको थियो । जात्रा आठ दिनसम्म चल्छ । उनले भने,‘एक वर्षभित्र मृत्यु भएका आफ्ना परिवारका सदस्यहरुको सम्झनाको प्रतीकको रुपमा मानिसलाई गाईको रुपमा सिंगारेर वा गाईलाई नै खलंगाबजार परिक्रममा गरिएको छ ।’ बजार परिक्रमा गर्दा श्रद्धालुहरुले गाईको पुच्छर समाइ वैतरणी नदी पार गरिने धार्मिक विश्वासका साथ फलफूल, दही, चिउरा दान गर्ने चलन छ ।

लिच्छविकालमा मल्ल राजप्रताप मल्लले पुत्रशोकले विह्वल भएकी रानीलाई सान्त्वना दिन सबैले यस्तो शोक बेहोर्नुपर्छ भन्ने देखाउन मानिस मृत्यु भएको घरबाट गाईजात्रा निकाल्ने व्यवस्था मिलाई रानीलाई देखाएका थिए । त्यसपछि रानीको मन शान्त हुन नसकेपछि हँसाउने कार्यक्रम गरेको इतिहास छ । सामाजिक कुरिती, राजनीतिक विकृती र प्रशासनिक कमजोरीलाई लक्षित गरेर व्यंग्यात्मक कार्यक्रम आयोजना गर्ने गरिन्छ ।

गाईजात्रा सदरमुकामको मेन बजारबाट कालेखोली हुँदै चन्दननाथ भैरवनाथ मन्दिरको परिक्रमा गरी पुरानो बसपार्क हुँदै जिप्रका, मुख्य बजारमा आएर समापन भएको थियो । गाईजात्रामा जिल्लाको विकास, राजनैतिक, सांस्कृतिक र आर्थिक पक्षसँग सम्बन्धित रहेर व्यांग्य गरिँदै आएको कोषाध्यक्ष कार्कीले बताए ।

जात्रामा संभावित घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय जुम्लाले सुरक्षा व्यवस्था कडा पारेको छ । जात्रामा मानिसको भिड हुने भएकोले आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सुरक्षा व्यवस्था कडा पारिएको हो । श्रीकृष्ण जन्माष्टमीसम्म हुने कर्णालीकै लामो जात्रालाई शान्त र मर्यादितरुपमा सम्पन्न गर्न पोसाकसहित र सादापोसाकमा प्रहरी परिचालन गरिएको प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

यो जात्रा कर्णाली प्रदेशकै लामो जात्रा भएकोले निकै ठूलो महत्व रहेको स्थानीय बताउँछन् । जात्रामा आफन्तहरुबीच एक आपसमा भेटघाट हुने भएकोले फलफूल र मिष्ठान्न भोजन खाने चलन छ । यो जात्रा अवधिमा रोपाइँ जात्रा, सानो पल्टन जात्रा, मिम बादशाह जात्रा र ठूलो पल्टन तथा बाघ भालु जात्रा देखाइने चलन छ ।

जात्रामा कर्णालीका पाँच जिल्लासहित जाजरकोट, दैलेख, सुर्खेत, नेपालगन्ज, काठमाडौंबाट हेर्न आउने गरेका छन् । यो जात्रालाई कर्णालीको धार्मिक पर्यटनका रुपमा हेरिएको छ ।

प्रकाशित : श्रावण २७, २०७९ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?