कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

३ वर्षदेखि टेलिफोन टावर अलपत्र

कान्तिपुर संवाददाता

मुगु — सोरु गाउँपालिकाको नाथर्पु, लामाकाँडा, कच्चेकोट र छायानाथरारा नगरपालिकाको थार्पलेकमा निर्माणाधीन टावर ३ वर्षदेखि अलपत्र परेका छन् । टावर अलपत्र परेपछि दुर्गम गाउँहरू सञ्चारविहीन बनेका छन् ।

३ वर्षदेखि टेलिफोन टावर अलपत्र

४ वटै ठाउँमा जीएसएम प्रविधिको फोरजी टावर निर्माण गर्न नेपाल टेलिकमले स्मार्ट/जलजला जेभीसँग २०७६ सालमा सम्झौता गरेको थियो । तर कम्पनीका प्रोपाइटर कुमार पौडेलको लापरबाहीले अहिलेसम्म टावर बन्न सकेको छैन । टावर निर्माणस्थलमा लगिएका निर्माण सामग्री लथालिंग बनेका छन् । टेलिकमको फोरजी टावर निर्माण नहुँदा सिंगो सोरु गाउँपालिकाले सञ्चारको समस्या खेप्नुपरेको गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले बताए । ‘अझै पनि फोन गर्न स्थानीयलाई डाँडाकाँडा चहार्नुपर्ने बाध्यता छ, स्थानीयवासी मोबाइल बोकेर नेटवर्क खोज्दै भौंतारिन बाध्य छन्,’ उनले भने, ‘इन्टरनेट नचल्दा प्रशासनिक कामकाज पनि प्रभावित भइरहेका छन् ।’ उनले नेपाल टेलिकमको केन्द्रीय कार्यालयमै पुगेर तत्काल टावर निर्माणको काम सुरु गर्न दवाव दिइएको बताए । उनका अनुसार ठेकेदारलाई दसैंभित्र काम सक्न टेलिकमले ताकेता गरिरहेको छ । उनले गाउँपालिकास्थित जिमा, देउतामाडु, धैनकोट र मुसिनमेलामा पनि नयाँ टावर निर्माण गर्न प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

अहिले पनि सञ्चार सुविधा भोग्नुपर्दा स्थानीयले सानो कामको लागि ठूलो सास्ती भोग्नुपरेको स्थानीय कमल शाहीले बताए । ‘सञ्चारको भरपर्दो सुविधा नहुँदा स्थानीयको अकालमा ज्यान गएको छ,’ उनले भने, ‘ठेकेदारले पेटी ठेकेदारलाई कामको जिम्मा दिँदा सुरुदेखि नै लामाकाडा, थार्प र कच्चेकोटका टावरमा काम हुन सकेको छैन ।’

ठेकेदार पौडेलले भने कोरोना महामारी, दक्ष जनशक्ति अभाव र निर्माण सामग्री ढुवानीमा समस्या हुँदा टावर निर्माणको काममा ढिलाइ भइरहेको दाबी गरे । उनका अनुसार केही सामान योजनास्थलमा पुगिसकेको छ भने केही समान नेपालगन्जमा बाँकी छ । ‘अबको एक हप्ताभित्रै सबै समान योजनास्थलमा लगेर काम सुरु गर्छौ,’ उनले भने, ‘सबै टावरमा झन्डै आधा काम सकिएको छ, अबको २ महिनामा कामले पूर्णता पाउँछ ।’

मुगुमकार्मारोङ गाउापालिकाको किम्री र माग्रीमा पनि निर्माणाधीन टेलिकम टावर निर्माणको काम ३ वर्षदेखि अलपत्र परेको छ । टावर अलपत्र हुँदा जनजीवन असहज बनेको माग्रीका छेवाङ तामाङले बताए । ‘फोन गर्नकै लागि १ घण्टा हिँडेर नेटवर्क टिप्ने डाँडाकाडामा आउनुपरेको छ,’ उनले भने, ‘गाउँमा अरु विकास त भएन नै, कम्तिमा फोनको सुविधा भए दैनिक कामकाज सहज हुन्थ्यो ।’

प्रकाशित : श्रावण २७, २०७९ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?