कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

बारीभरि लटरम्म स्याउ

अनुकूल वर्षा, व्यवस्थित गोडमेल र असिनापानी नपर्दा यो वर्ष मुगुमा स्याउको उत्पादन राम्रो

मुगु,जुम्ला — मुगुको छायानाथरारा–४ का हरि रोकाया यो वर्ष बारीभरि लटरम्म स्याउ फल्दा दंग छन् । ‘कहिले स्याउको फूल नलाग्दै असिनापानी परेर नष्ट गर्ने त कहिले पाक्नै लागेको स्याउ झारिदिने समस्याबाट आजित थियौं,’ उनले भने, ‘यो वर्ष त हाम्रा लागि सुबिकाल आयो, बारीभरि फलेका स्याउले बोट नै निहुरिएका छन् ।’

बारीभरि लटरम्म स्याउ

बारीमा झन्डै ३ सय बोटमा लटरम्म स्याउ फलेपछि राम्रो आम्दानी हुने भन्दै उनी दंग परेका हुन् । उनका छिमेकी बाँचे महताराको स्याउबारी पनि मनमोहक देखिएको छ । ‘यो वर्ष स्याउले भुइँ छोयो,’ उनले भने, ‘भाउको समस्या नभए स्याउकै आम्दानीले परिवारको वर्षभरिको खर्च टर्छ ।’ उनको बारीमा झन्डै डेढ सय बोटमा लटरम्म स्याउ फलेको छ ।

अहिले रारा विमानस्थल आसपासका झन्डै २ सय किसानका बारीमा स्याउका बोटहरू दानाले झुलेका छन् । बारीभरि स्याउ फलेपछि रारा घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकको बारीमा आएर फोटो खिच्ने घुइँचो लाग्न थालेको छ । ताल्च, मैतु, कालापाल्त, गिमखोला, लामाचौर, मुर्मा, स्याउ, कोटिला, घट्टलेख, तल्लेख, ल्वारपोल्नालगायत बस्तीका किसानको बारीमा यो वर्ष अत्यधिक स्याउ फलेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

अनुकूल वर्षा, व्यवस्थित गोडमेल र असिनापानी नपर्दा यो वर्ष मुगुमा स्याउको उत्पादन राम्रो भएको कृषि प्राविधिकहरूको भनाइ छ । धेरै वर्षपछि बारीमा अत्यधिक स्याउ फल्दा वर्षौदेखि स्याउ खेती गर्दाको दुःख भुलेको बामगाउँका किसान तिल बुढाले बताए । ‘पहिले स्याउ बेच्न पनि गाह्रो थियो, भाउ पनि कम,’ उनले भने, ‘अहिले गाउँमै सडक पुगेपछि व्यापारी गाडी लिएरै बगैंचामा आउने गरेका छन् ।’ जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा करिब ३ हजार हेक्टरमा स्याउ खेती भइरहेको छ । गत वर्ष करिब ३५ मेट्रिक टन स्याउ उत्पादन भएको कार्यालयको तथ्यांक छ । यो वर्ष गत वर्षभन्दा करिब डेढ गुणा स्याउ फल्ने अनुमान गरिएको कार्यालयका प्रमुख खेमबहादुर शाहीले बताए ।

जुम्लामा यो वर्ष काँचो च्याउ बाहिर लैजान रोक लगाइएको छ । नपाकेको स्याउ बजारमा लैजाँदा जुम्ली स्याउको पहिचान खस्कने खतरा भएपछि जिल्ला कृषि विकास कार्यालयले भदौ १५ अघि स्याउ नटिप्न किसानलाई आग्रह गरेको छ । निकै स्वादिलो, पोटिलो र आकर्षक स्याउका रूपमा चिनिएको जुम्ली स्याउ नपाक्दै बजारमा पुग्दा स्वाद निकै टर्रो हुने र उपभोक्ताको रोजाइमा नपर्ने सम्भावना भएको भन्दै स्याउ बाहिर पठाउन रोकिएको कार्यालयले जनाएको छ । जसका लागि स्थानीय तहलाई स्याउ निर्यातको लागि सिफारिस नदिन र सडक आसपासमा रहेका सुरक्षा निकायालाई स्याउ बाहिर पठाउँदै गरेको पाइए रोक्न अनुरोध गरिएको कार्यालयका कृषि अर्थविज्ञ गणेश अधिकारीले बताए । ‘बजारमा जुम्ली स्याउको माग तीव्र छ,’ उनले भने, ‘तर परिपक्व नहुँदा स्याउ बजारमा पठाउँदा नकारात्मक सन्देश फैलिने देखियो ।’ उनले रोगकिराको संक्रमण नदेखिएकाले स्याउको उत्पादन राम्रो भएको उनले जानकारी दिए । १५ वर्षदेखि स्याउखेती गरिरहेका पातारासी–६ का अर्जुन बिष्टले आफ्नो बारीमा ३ सयवटै बोटमा स्याउ फलेको बताए । ‘परिपक्व स्याउ बेच्दा मूल्य पनि राम्रो पाइन्छ,’ उनले भने, ‘त्यसैले गाउँका सबै किसानले नपाक्दै स्याउ नटिप्ने निर्णय गरिसकेका छौं ।’ गत वर्ष उनले जुम्लामै प्रतिकिलो १ सय ५१ रुपैयाँमा स्याउ बेचेको बताए । जुम्ली स्याउ नेपालका अधिकांश सहरमा पुग्छ । आरके स्याउ प्रशोधन उद्योगका सञ्चालक रामकृष्ण चौंलागाईले जुम्ली स्याउलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने योजना अझै सफल नभएको बताए । उनले २०७० सालमा जुम्ली स्याउ प्रसोधन गरी ५० ट्रक स्याउ ल्याब टेस्ट गर्न काठमाडौं पुर्‍याएका थिए । ‘ल्याब टेस्ट गर्दा जुम्ली स्याउ अन्तर्राष्ट्रिय बजारसम्म लैजान योग्य ठानिएन,’ उनले भने, ‘त्यो बेला अस्ट्रेलियाका व्यापारीले स्याउ बाहिर लैजाने इच्छा देखाएका थिए ।’

जुम्लाको स्याउ किन्न व्यापारीहरू बगैंचामै पुग्ने गरेका छन् । जुम्ली स्याउ पूर्ण रूपमा पाकेपछि मात्र टिप्नुपर्ने, स्याउ खरिद गर्ने व्यापारी सूचीकृत गर्नुपर्ने, मापदण्ड अनुसारको जुम्ली स्याउको कार्टुन बनाइनुपर्ने र किसान अनुकुलको दररेट बनाउनुपर्ने स्थानीय किसानको माग छ । स्याउ सुपरजोन जिल्ला समन्वय समितिका अध्यक्ष सरोज शाहीले किसानको जीवनस्तर बदल्न र जुम्ली स्याउको बजार प्रवर्द्धन गर्न सरकारी निकायले बेवास्ता गरिरहेको आरोप लगाए ।

चन्दननाथ नगरपालिका उपप्रमुख रामुदेवी खड्काले किसान सजग नहुँदासम्म गुणस्तरीय जुम्ली स्याउ बजारमा पुर्‍याउन कठिन हुने बताइन् । कोल्डस्टोर नहुँदा स्याउ किसानले काँचो स्याउ बजारमा पठाउने गरेको उनको भनाइ छ । ‘जुम्लाको स्याउ ब्रान्ड बनिसकेको छ, गुणस्तरयुक्त छ,’ उनले भनिन्, ‘यहाँका किसान सचेत बने जुम्ली स्याउ १/२ वर्षभित्रै अन्तर्राष्ट्रिय बजारमा पुग्ने निश्चित छ ।’

जुम्लामा यो वर्ष ४ हजार २ सय ५० हेक्टरमा स्याउ खेती गरिएको छ । प्रतिहेक्टर ४ मेट्रिक टन स्याउ फल्ने कृषि अर्थविज्ञ अधिकारीले बताए । उनका अनुसार गत वर्ष करिब १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यो वर्ष झन्डै डेढ गुणाले उत्पादन बढ्ने अनुमान गरिएको छ । उनका अनुसार जिल्लामा २ हजार ४ सय ६२ जना किसानले स्याउको बिमा गरेका छन् ।

प्रकाशित : श्रावण २४, २०७९ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?