१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

बिदामा पनि उपचार

विप्लव महर्जन

सल्यान — कपुरकोट गाउँपालिकाले सबै स्वास्थ्यचौकीमा शनिबार र अन्य बिदाका दिन पनि उपचार सेवा दिने निर्णय गरेको छ । गाउँपालिकाका ४ स्वास्थ्यचौकी र २ आधारभूत स्वास्थ्य केन्द्रमा बिदाको दिन पनि उपचार गर्न थालिएको हो ।

बिदामा पनि उपचार

यसअघि स्थानीयहरू बिदाको दिनमा उपचारका लागि दाङको तुलसीपुर र स्थानीय मेडिकलमा धाउन बाध्य थिए । बिदाका कारण बिरामी स्वास्थ्य सेवाबाट वञ्चित हुन थालेपछि गाउँ कार्यपालिका बैठकले सधैं स्वास्थ्यचौकी खोल्ने निर्णय गरेको हो ।

सार्वजनिक बिदाको दिन स्वास्थ्य संस्था बन्द हुँदा बिरामीले सास्ती भोग्दै आएका थिए भने महँगोमा उपचार गराउनुपर्ने बाध्यता थियो । स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन बिदाको दिन पनि उपचार दिन थालिएको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले बताए । उनका अनुसार सार्वजनिक बिदाको दिनमा पनि स्वास्थ्य संस्था संञ्चालन गर्न पर्याप्त जनशक्तिको व्यवस्था मिलाइएको छ । बिदाको दिन स्वास्थ्य संस्थामा आएर सेवा दिने स्वास्थ्यकर्मीलाई भत्ताको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्य सेवालाई गुणस्तरीय, जवाफदेअी र प्रभावकारी बनाउन हप्ताको सातै दिन उपचारको व्यवस्था मिलाइएको स्वास्थ्य शाखा संयोजक अरुण दाहालले बताए । ‘बिदाको दिनमा आकस्मिक बिरामी हुँदा स्थानीयले अनावश्यक दुःख र कष्ट भोग्दै आएका थिए,’ उनले भने, ‘पहिले सुत्केरी सेवा मात्र शनिबार उपलव्ध थियो, अब सबै उपचार स्थानीयले सधैं पाउनेछन् ।’

हप्ताभरि नै स्वास्थ्य संस्था खुल्न थालेपछि सिटामोल किन्न पनि लागि मेडिकल धाउनुपर्ने बाध्यताको अन्त्य भएको धनबाङका धनबहादुर रोकाले बताए ।

उनका अनुसार पालिकाकाले नयाँ व्यवस्था गरेपछि बालबालिका र ज्येष्ठ नागरिकलाई ठूलो राहत मिलेको छ । ‘बिदाको दिन कोही बिरामी हुन्न भन्ने छैन, अब दुर्घटनामा घाइते भएकाहरूले गाउँमै उपचार पाउने भए,’ उनले भने, ‘अब उपचार सेवालाई अझै व्यवस्थित .र गुणस्तरीय बनाउन पालिकाले ध्यान दिनुपर्छ ।’उनले पालिकामा १५ शय्याको अस्पताल सञ्चालनमा नआउँदासम्म महिनामा एक पटक विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण गराउने व्यवस्था मिलाउन गाउँपालिकासँग आग्रह गरे ।

प्रकाशित : श्रावण २४, २०७९ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?