मुसीकोट-६ द्वारा विद्यार्थीलाई दूध वितरण- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुसीकोट-६ द्वारा विद्यार्थीलाई दूध वितरण

हरि गौतम

रुकुम पश्चिम — रुकुम पश्चिमस्थित मुसीकोट नगरपालिका-६ मा रहेका तीन विद्यालयका विद्यार्थीलाई वडा कार्यालयले दूध वितरण गर्न थालेको छ ।


ती विद्यालयमा बाल शिक्षा र कक्षा १ मा अध्ययनरत विद्यार्थीहरूले दैनिक रुपमा एक गिलास दूध नि:शुल्क पाउन थालेका हुन् ।

वडा कार्यालयले वडामा रहेका सबै विद्यालयका बाल शिक्षा र कक्षा १ मा अध्ययनरत सबै विद्यार्थीलाई निःशुल्क दुध खुवाउन लागेको जनाएको छ ।

बाल पोषण कार्यक्रम अन्तर्गत समाजकल्याण आधारभुत विद्यालय मेलचौर, जनचेतना आधारभुत विद्यालय कालिमाटी र बाल कल्याण मावि झुल्खेतका ६६ बालबालिकालाई एक वर्षसम्म निरन्तर निःशुल्क दूध वितरण गर्न लागिएको कार्यवाहक वडाध्यक्ष अनिल बुढाले जानकारी दिए ।

बालबालिकाको पोषण स्तर सुधार गर्न बाल पोषणका लागि चालु आर्थिक वर्षमा वडाले १ लाख ४० हजार रुपैयाँ विनियोजन गरेको छ । किसानबाट दूध संकलन गरेर विद्यालय पुर्‍याउने र बालबालिकालाई खुवाउने गरी व्यवस्थापन गरिएको पनि बताइएको छ ।

वडाले दूध उमाल्न र पिउनका लागि चाहिने ग्याँस, चुल्हो, भाँडावर्तनका साथमा खेलकुद सामग्रीसमेत विद्यालयलाई उपलब्ध गराएको छ ।

प्रकाशित : श्रावण २२, २०७९ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्

प्रहरी समायोजन टुंग्याउन प्रदेश सरकारको ध्यानाकर्षण पत्र

अजित तिवारी

जनकपुर — सात दिनभित्र प्रहरी समायोजन नटुंग्याए आन्दोलन गर्ने चेतावनीसहित मधेस प्रदेश सरकारले प्रधानमन्त्री शेरवहादुर देउवालाई ध्यानाकर्षण पत्र पठाएको छ । आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत मधेस सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण पत्र पठाएका हुन् ।

प्रहरी र शान्ति–सुरक्षा सम्बन्धी अधिकार प्रदेशको क्षेत्राधिकार भित्र रहेको स्मरण गराउँदै ७ दिनभित्र प्रहरी समायोजन नटुंग्याए आन्दोलनमा उत्रिने ध्यानाकर्षण पत्रमा उल्लेख छ । मधेस प्रदेश सरकारले प्रहरी समायोजन र प्रदेश प्रहरी गठन गर्न सुरुदेखि नै बल गरिरहेको छ । तर, संघीय सरकारको अनिच्छाका कारण प्रहरी समायोजन हुन सकेको छैन ।

‘संघीय सरकारले तदारुकता नदेखाउँदा प्रहरी र प्रशासन बिना प्रदेश सरकारको अनुभूत हुन सकेको छैन,’ ध्यानाकर्षण पत्रमा लेखिएको छ,‘ अगामी निर्वाचन अगावै समायोजित प्रहरीलाई प्रदेश सरकारसमक्ष हस्तान्तरण कार्यएक साताभित्र गरियोस् । तोकेको समयसिमाभित्र प्रदेश प्रहरी समायोजन तथा हस्तान्तरण नभए शान्तिपूर्ण अहिंसात्मक बिरोधका कार्यक्रम गर्न प्रदेश सरकार बाध्य हुनेछ ।’

प्रकाशित : श्रावण २२, २०७९ १३:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×