१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

पेस्की लिएर ठेकेदारले काम छाडे

अस्पताल निर्माणका लागि ल्याइएका सामग्री र उपकरण अहिले लथालिंग छन् 
विप्लव महर्जन

सल्यान — जिल्ला अस्पताललाई १५ बाट ५० शय्यामा विस्तार गर्न २ भवन निर्माणको काम थालिए पनि झन्डै १ वर्षदेखि काम अलपत्र परेको छ । निर्माणको जिम्मा लिएको आरोग्य सुवेदी निर्माण सेवाको लापरबाहीले भवन निर्माणको काममा ढिलाइ भएको हो । कम्पनीले १ करोड ५० लाख रुपैयाँ पेस्की लिइसकेको छ ।

पेस्की लिएर ठेकेदारले काम छाडे

स्वास्थ्य सेवा कार्यालयले २०७८ वैशाखमा उक्त कम्पनीसँग भवन निर्माणको सम्झौता गरेको थियो । त्यसयता कम्पनीले जग्गा सम्याउने काम मात्र गरेको छ । अस्पताल निर्माणका लागि ल्याइएका निर्माण सामग्री र उपकरण अहिले लथालिंग छन् ।

अस्पतालको स्तरोन्नति गर्न सरकारले २८ करोड रुपैयाँ विनियोजन गरेको छ । जसअनुसार ३ वर्षभित्र भवन निर्माणको काम सक्ने गरी ठेकेदार कम्पनीले १७ करोड रुपैयाँमा सम्झौता गरेको छ । ठेकेदार निर्माण कम्पनीले काम बीचैमा अलपत्र पारेपछि समयमै भवन पूरा नहुने शंका उत्पन्न भएको अस्पताल विकास समितिका अध्यक्ष चन्द्रप्रकाश ओलीले बताए । ‘ठेकेदारले अझै काम गर्ने छाँटकाँट देखाएनन्, कहिले के कहिले के बहाना पारिरहन्छन्,’ उनले भने, ‘भवन निर्माणको काम समयमै सकिए बिरामीले जिल्लामै विशेषज्ञ सेवा पाउँथे ।’

आरोग्य सुवेदी निर्माण सेवाका ठेकेदार समिर केसीले सुरुमा कोरोना महामारीका कारण काम अघि बढाउन नसकिएको दाबी गरे । ‘त्यसपछि भवन निर्माणका लागि ठाउँ पहिचान गर्नै २/३ महिना लाग्यो,’ उनले भने, ‘अहिले फलामे रडको मूल्य अचाक्ली बढेपछि खरिदमा समस्या भयो ।’ उनका अनुसार अहिले वर्षाका कारण भवन निर्माणको काम गर्न नसकिएको हो । ठेकेदारले भवन निर्माणको काममा ढिलाइ गर्दा अस्पताल स्तरोन्नतिका अन्य काममा पनि असर परिरहेको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथकुमार श्रेष्ठले बताए । उनका अनुसार ठेकेदारले फलामजन्य निर्माण सामग्रीको मूल्य बढेको कारण देखाउँदै निर्माणको काममा आलटाल गरिरहेका छन् ।

१५ शय्याको जिल्ला अस्पतालमा अहिले ३७ बेड राखेर बिरामीको उपचार भइरहेको उनले बताए । ‘भौतिक पूर्वाधार अभावमा पनि जटिल शल्यक्रियालगायतका सेवा दिइरहेका छौं,’ उनले भने, ‘ठेकेदारले सुरुदेखि नै काममा ढिलाइ गरे, अहिले त झन् कामै ठप्प छ, भवन निर्माणको असरले उपकरण खरिद, विशेषज्ञ पदपूर्तिलगायत काममा पनि ढिलाइ हुने देखियो ।’ उनका अनुसार अहिले अस्पतालमा सल्यानसहित रुकुम र रोल्पाका झन्डै १ सय ५० बिरामी उपचारका लागि आउने गरेका छन् । ठेकेदारले लगेको पेस्की रकमको दुरुपयोग हुन नदिन भवन निर्माणको लागि ताकेता भइरहेको उनले जानकारी दिए ।

प्रकाशित : श्रावण २१, २०७९ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?