२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

सुरु भयो छायाँनाथ तीर्थयात्रा

राजबहादुर शाही

मुगु — मुगुको प्रसिद्ध छायाँनाथ धाम तीर्थयात्रा प्रारम्भ भएको छ । छायाँनाथ रारा नगरपालिका–२ चैन गाउँको छायाँनाथ मन्दिरमा रहेको शिवको मूर्ति पुजारीका साथ शुक्रबार मुगुमकार्मारोङ गाउँपालिकाको डोल्फुमा रहेको छायाँनाथ मन्दिरमा लगिएको हो ।

सुरु भयो छायाँनाथ तीर्थयात्रा

बाजागाजासहित मन्दिरको मूर्ति लगिएपछि छायाँनाथ तीर्थयात्रा सुरु भएको हो । हरेक वर्षको श्रावण शुक्लपक्ष, अष्टमी तिथिका दिन जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल छायाँनाथ मन्दिरमा रहेको ठाकुरको मूर्ति पवित्र धाम छायाँनाथमा नुहाउन लगेसँगै तीर्थयात्र सुरु हुने पुजारी असुनी कुमार हमालले बताए ।

शिवजीको मूर्ति जनैपूर्णिमासम्म छायाँनाथ तीर्थस्थलमा रहने र दर्शनका लागि मुगु, जुम्ला, हुम्ला, कालीकोट, डोल्पा, दैलेख, जाजरकोट, बाजुरा, अछाम लगायत जिल्लाबाट धामी झाँक्री र तीर्थालुको घुइँचो लाग्ने गरेको छ ।

जनैपूर्णिमामा छायाँनाथमा ५ दिनसम्म पूजापाठ, होम ब्रत हुने गर्छ भने त्यसमा वर माग्न तीर्थालुको ओइरा लाग्ने गरेको पुजारी हमालको भनाइ छ । विष्णु शक्तिले झिंगा उत्पादन गरी महादेवले बोकेकी सत्यदेवीको सम्पूर्ण अंग छायाँनाथमा पतन भएको धार्मिक किंवदन्ती अनुसार त्यस ठाउँलाई छायाँनाथ तीर्थस्थलका रूपमा पूजापाठ प्रारम्भ भएको पुजारीले जनाए ।

छायाँनाथ जाने तीर्थालुहरू श्राद्ध, होम, ब्रतबन्ध गराएर आफूले चिताएको मागेर फिर्ता हुने गर्छन् । ठाकुरज्यूको मूर्तिसहित प्रस्थान गरेको टोली अबको ९ दिनपछि जनै पूर्णिमाका दिनमा फर्किने गर्छन् ।

समुद्री सतहदेखि करिब ५ हजार ५ सय फिट उचाइमा रहेको छायाँनाथ धाममा तीर्थयात्रीलाई सुविधाका लागि कर्णाली प्रदेश सरकार र मुगुम कार्मारोङ गाउँपालिकाले धर्मशाला, पानीका धारा निर्माण गरेका छन् ।

उक्त गाउँपालिकाले छायाँनाथमा शिव र बुद्धको मूर्तिसमेत स्थापना गरेको छ । गमगढीदेखि छाइल बजारसम्म तीर्थालु जिप चढेर जाने र त्यहाँबाट हिँडेर माग्री हुँदै ढुंगेधारा रिउसबगर पुलु पुगेर बास बस्ने गर्छन् । भोलिपल्ट त्यहाँबाट हिँडेर चितै पुग्ने र पर्सिपल्ट सजिलै छायाँनाथ पुग्ने गरेका छन् ।

प्रकाशित : श्रावण २०, २०७९ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?