जंगली च्याउ खाँदा एकै परिवारका ४ जना बिरामी

विप्लव महर्जन

सल्यान — जंगली च्याउ खाएर सल्यानमा एकै परिवारका चार जना बिरामी परेका छन् । विषालु च्याउ खाँदा शारदा नगरपालिका ४ साइलाकम्तकी ४० वर्षीया हिमा कुमारी बस्नेत, २५ वर्षीया पार्वती बस्नेत, ५ वर्षीय तोषण बस्नेत र ९ वर्षीय तुहान बस्नेत बिरामी परेका हुन् ।

बिरामी परेको सबैलाई अहिले जिल्ला अस्पताल सल्यानको आकस्मिक कक्षमा भर्ना गरिएको छ । जंगली च्याउ खाएपछि उनीहरूमा झाडापखाला, पेट दुख्ने, प्रेसर लो हुने समस्या देखिएको जिल्ला अस्पताल सल्यानका इन्चार्ज डा. अभिषेक सिंहले बताए ।

बिरामी परेका सबै अहिले खतरामुक्त रहेको उनले जानकारी दिएका छन् । उनका अनुसार बिरामी परेका महिला तथा बालबालिकाले बिहीबार बिहान जंगली च्याउको तरकारी खाएका थिए । जंगली च्याउ खा‍एकै कारण एक साताभित्र जिल्ला अस्पतालमा १० जना भर्ना भइसकेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

८ जनाको अस्पतालमै उपचार भएको र दुई जनालाई प्रदेश अस्पतालमा रेफर गरिएको बताइएको छ । जंगली च्याउ विषालु हुने र ज्यान जान सक्ने भएकाले जिल्लावासी कसैलाई पनि जंगली च्याउ नखान स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् ।

‘च्याउ खाएर बिरामी परेकालाई आइसीयूमा भर्ना गर्नु पर्ने अवस्था आउन सक्छ । जिल्ला अस्पतालमा त्यो सम्भव छैन । गम्भीर अवस्था आएमा बाहिर लैजानु पर्ने भन्दा अन्य विकल्प हुँदैन अहिलेसम्म च्याउ खाएर बिरामी परेका कसैको ज्यान गएको त छैन तर बाहिर लैजानु पर्दा गाह्रो हुनसक्छ,’ उनले भने ।

प्रकाशित : श्रावण २०, २०७९ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?