१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

सवारी दुर्घटना दोब्बरले बढ्यो

चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेशमा पछिल्लो दुई वर्षको तुलनामा गत आर्थिक वर्ष ०७८/७९ मा सवारी दुर्घटना दोब्बरले बढेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार गत आवमा मात्रै चार सय तीन सवारी दुर्घटनाबाट १ सय ८० जनाको मृत्यु भएको छ ।

सवारी दुर्घटना दोब्बरले बढ्यो

पछिल्लो तीन वर्षमा ९ सय ३० सवारी दुर्घटनाबाट ३ सय ७५ जनाको मृत्यु भएको कार्यालयका प्रहरी उपरिक्षक एसपी भुवनेश्वर तिवारीले बताए । उनका अनुसार उक्त दुर्घटनाबाट गम्भीर घाइते ७ सय १० जना र १२ जना सामान्य घाइते भएका छन् ।

आर्थिक वर्ष ०७६/७७ मा दुई सय ३६ सवारी दुर्घटना हुँदा ९७ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा १ सय ७९ गम्भीर र २ सय ९३ सामान्य घाइते भएको कार्यालयको भनाइ छ ।

यस्तै, आव ०७७/७८ मा २ सय ९१ सवारी दुर्घटनाबाट ९८ जनाको मृत्यु भएको छ । जसमा १ सय ६९ गम्भीर घाइते हुँदा ३ सय १९ जना सामान्य घाइते भएको कार्यालयका एसपी तिवारीले जनाए । ०७६/७७ र आव ०७७/०७८ मा कोभिड– १९ रोकथामका लागि भएको लकडाउनका कारण पनि सवारी दुर्घटना संख्यामा कमी देखिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका एसपी तिवारीको भनाइ छ ।कर्णालीमा सडक दुर्घटनामा तुलनात्मक रूपमा साना सवारीसाधनको संख्या बढी छ । पछिल्लो तीन वर्षमा ४ सय २७ मोटरसाइकल, १ सय ४६ ट्र्याक्टर, १ सय ६६ जिप तथा कार, ८९ वटा बस, २९ वटा माइक्रो मिनिबस, ट्रक ट्यांकर ९२ वटा, टिपर २३ वटा, अटो ८३ वटा, स्कुटर ४ वटा र अन्य १४ वटा सवारी दुर्घटना भएको कार्यालयले जनाएको छ ।

कर्णालीमा सडक दुर्घटनाको मुख्य कारण सवारीसाधनको तीव्र गति रहेको एसपी तिवारीले बताए । तीव्र गतिकै कारण गत आर्थिक वर्ष मात्रै दुई सय ४८ सडक दुर्घटना भएको उनको भनाइ छ । यान्त्रिक कारणले पनि कर्णालीमा सडक दुर्घटना बढाएको एसपी तिवारीको भनाइ छ ।

प्रकाशित : श्रावण १९, २०७९ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?