कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विद्यार्थीमा कोरोना देखिएपछि जुम्लामा विद्यालय बन्द

डीबी बुढा

जुम्ला — विद्यार्थीमा कोरोना भाइरस संक्रमण देखिएपछि जुम्लाको तिला गाउँपालिका ६ स्थित जनजागृती माध्यमिक विद्यालय बन्द गरिएको छ । खोकी लाग्ने,ज्वरो आउने, टाउको दुख्ने लक्षण भएका ८८ नमुना परीक्षण भएकोमा ३ जनामा संक्रमण भेटिएको प्रधानाध्यापक जयलाल रोकायाले जानकारी दिए । ती विद्यार्थीहरु एक सातादेखि बिरामी परेपछि विद्यालय प्रशासनले पालिकाको स्वास्थ्य शाखालाई परीक्षणको लागि गरेको थियो । 

विद्यार्थीमा कोरोना देखिएपछि जुम्लामा विद्यालय बन्द

वडाध्यक्ष जंगबहादुर रोकायाका अनुसार एन्टिजेन परीक्षणमा एक विद्यार्थी र एक स्वास्थ्यकर्मीलाई कोरोना देखिएको हो । विद्यालयले विज्ञप्ति निकालेर साउन १९ र २० गते विद्यालय बन्द रहने जनाएको हो ।

वडाध्यक्ष रोकायाका अनुसार शिक्षक र विद्यार्थी रुघाखोकी र ज्वरोले ग्रसित छन् । सबै शिक्षक र विद्यार्थी बिरामी भएकोले पठनपाठन प्रभावित बनेको छ । प्रधानाध्यापक रोकायाले विद्यालयमा कोरोना संक्रमण देखिएपछि गाउँमा त्रास फैलिएको बताए । संक्रमित राख्नका लागि क्वारेन्टीनको व्यवस्था छैन । उनले भने,‘आआफ्नो घरमा सुरक्षित रहन भनिएको छ ।’ कोरोना परीक्षणका लागि सबै विद्यार्थीलाई विद्यालयमा बोलाइएको भए पनि गम्भीर बिरामी परेका विद्यार्थी आउन नसकेको उनले बताए ।

जनजागृती मावि घोडेमा २ सय २२ जना विद्यार्थी छन् । कोरोना देखिएपछि स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न थालिएको छ ।

यसअघिको कोरोना महामारीको बेलाका सबै संरचना ध्वस्त भइसकेका छन् । न आइसोलेसन न क्वारेन्टीन । अहिले कोरोना देखिएका बिरामी होम क्वारेन्टीनको नाममा घरमै राखिएको छ । जसका कारण अन्य सँग पनि लसपस बढेकोले कोरोना संक्रमणको अवस्था भयावह हुन सक्ने स्थानीय बताउँछन् ।

वडाध्यक्ष जंगबहादुर रोकायाले कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न आग्रह गरिएको बताए । तिला ६ मा ३ गाउँ छन् । उनले भने,‘हरेक विद्यालय र बस्तीलाई कोरोना संक्रमण हुनबाट जोगिन अपिल गरिएको छ । ’

प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईंले कोरोना संक्रमित भेटिएको जानकारी पाएको बताइन् । उनले भनिन्,‘जनस्वास्थ्य सेवा कार्यालय जुम्लासँग समन्वय गरेर अघि बढ्दैछौं । त्यहाँको अवस्था बुझ्दैछौं । ’ यसअघि हिमा गाउँपालिकाको महावैपातरखोलामा रहेको विद्यालयमा एक जना संक्रमित भेटिएका थिए ।

प्रकाशित : श्रावण १८, २०७९ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?