अध्ययनमै सीमित बन्यो विमानस्थल

विमानस्थल बनाउन छनोटमा परेको जग्गाको आधाभन्दा बढी भाग अतिक्रमण
विप्लव महर्जन

सल्यान — कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुरस्थित कोटमा विमानस्थल निर्माणका लागि अध्ययन भए पनि अझै निर्माण सुरु हुन सकेको छैन । पछिल्लो पटक २०७५ असोजमा गाउँपालिकाले विमानस्थल निर्माणको लागि अध्ययन प्रतिवेदन सार्वजनिक गरे पनि काम सुरु हुन नसकेको हो ।

अध्ययनमै सीमित बन्यो विमानस्थल

पालिकाका पूर्वअध्यक्ष सन्तोष केसीले विमानस्थल बनाउन पहल थालेका थिए । उनको पहलपछि विमानस्थलको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाउन १५ लाख रुपैयाँ खर्च भएको थियो । पालिकाको प्रतिवेदनमा विमानस्थल निर्माणका लागि उक्त ठाउँ सल्यानमा सबैभन्दा बढी उपयुक्त भएको पाइएको थियो । त्यसअघि कोटमा विमानस्थल बनाउन २०१८, ०३५ र ०४८ सालमा ३ पल्ट सर्भे गरिएको थियो । २०१८ मा वन सहायकमन्त्री बनेका सल्यानका नेबबहादुर मल्लले विमानस्थल निर्माणका लागि पहल थालेका थिए ।

सबै ठाउँमा मोटरबाटो पुगेर गाडी गुड्न थालेपछि विमानस्थल निर्माणको काम ओझेलमा परेको लक्ष्मीपुरका खुमबहादुर रावतले बताए । ‘यहाँ विमानस्थल बन्छ भन्दा हाम्रो खुसीको सीमा नै थिएन,’ उनले भने, ‘अब त त्यो कुरा सपनामै सीमित भयो जस्तो लाग्छ ।’ उनका अनुसार पञ्चालयतकालसम्म निर्वाचनमा भोट माग्न आउने नेताहरूले विमानस्थल निर्माणको कामलाई चुनावी एजेन्डा बनाउने गरेका थिए । अहिलेका नेताहरूले विमानस्थल निर्माणको कुरा बिर्सिएको उनको आरोप छ ।

पहिले मोटर बाटो नहुँदा सबैले विमानस्थल निर्माणमा चासो देखाए पनि अहिले बिर्सिएको ६५ वर्षीय कुलमान नेपालीले बताए । ‘एयरपोर्ट भए कम्तीमा दुःख बिराम परेको बेला सहज उपचार पाइन्थ्यो,’ उनले भने, ‘वर्षायाममा बाहिर जान सजिलो हुन्थ्यो ।’ स्थानीय सरकारले सडक निर्माणलाई प्राथमिकता दिए पनि बाह्रै महिना गाडी चल्ने सडक बनाउन नसकेको उनको भनाइ छ ।

कसैले ध्यान नदिँदा स्थानीयले विमानस्थल बनाउन छनोटमा परेको जग्गाको आधाभन्दा बढी भाग अतिक्रमण गरेको स्थानीय हीरालाल रावतले बताए । उनका अनुसार विमानस्थल बनाउने जग्गाको केही भाग स्थानीय आधारभूत विद्यालय र एक निजी कम्पनीले ओगटेको छ । ‘विमानस्थल बनेको भए प्लेनबाट छिटो यात्रा गर्न सकिन्थ्यो । कोही बिरामी भए सहरका अस्पतालमा लैजान सकिन्थ्यो,’ उनले भने, ‘घण्टौंसम्म एम्बुलेन्स तथा अन्य गाडीको भर पर्नुपर्दा बाटैमा बिरामीको ज्यान जाने जोखिम अहिले पनि उस्तै छ ।’ ७० वर्षीय निमलाल भण्डारी विमानस्थलका लागि जग्गा छनोटमा परेपछि केही समय श्रमदान गरेर त्यहाँ रहेका साना थुम्कालाई सम्याएको सम्झन्छन् । ‘एयरपोर्ट बनाउने जग्गा अपायक होला भनेर गोरेटो बाटो पनि बनाएका थियौं,’ उनले भने, ‘अहिले त सबैले एयरपोर्ट बनाउने कुरा बिर्सिए ।’ कालीमाटी गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले विमानस्थल निर्माणका लागि आफूहरूसँग बजेट नभएको र माथिल्ला सरकारले बेवास्ता गरेको बताए ।

पालिकाले डीपीआर गर्दा ठाउँ उपयुक्त र जग्गा पुग्ने निष्कर्ष निकालिए पनि बजेट अभावमा काम अझै अघि नबढेको छत्रेश्वरी–५ का वडाध्यक्ष फौदबहादुर बस्नेतले बताए । छत्रेश्वरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप खनालका अनुसार अध्ययन प्रतिवेदनमा विमानस्थल बनाउन ८१ करोड ४७ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ‘उक्त रकम हामीले खर्च गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘प्रदेश र संघीय सरकारलाई बजेट माग गरेका छौं ।’ अध्ययनअनुसार विमानस्थल बनाउँदा धावनमार्गमा ६ सय ३० मिटर जमिन चाहिने र त्यसका लागि लेखानाचौर पर्याप्त छ ।

प्रकाशित : श्रावण १६, २०७९ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?