१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३
मदन भण्डारी राजमार्ग

पश्चिम खण्ड कालोपत्र हुँदै

२०८१ असार २४ गतेसम्म सडक कालोपत्र गरिसक्नुपर्ने समयसीमा
चाँदनी कठायत

वीरेन्द्रनगर — मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको पश्चिम खण्डको साढे १२ किलोमिटर सडक कालोपत्र गरिने भएको छ । ट्र्याक खुलेको करिब २८ वर्षपछि कर्णाली प्रदेश सरकारले बड्डीचौर–खम्बागाडे सडकको स्तरोन्नति गर्ने भएको हो । मदन भण्डारी राजमार्गअन्तर्गत बड्डीचौर–गुटु–बेनिघाट सडक खण्डअन्तर्गतको साढे १२ किलोमिटरमा मात्र कालोपत्र गर्न लागिएको छ । 

पश्चिम खण्ड कालोपत्र हुँदै

बड्डीचौरलाई शून्य बिन्दु मानेर दुई वर्षअघि नै उक्त सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पूरा भए पनि अन्य कुनै काम अघि नबढेपछि प्रदेश सरकार जुटेको हो । सडक कालोपत्रका लागि एक वर्षभित्रै काम सम्पन्न गर्ने गरी अनक जयदेवी जेभी बाँकेले ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँमा कर्णाली सरकारको भौतिक पूर्वाधार विकास निर्देशनालयसँग सम्झौता गरेको छ ।

मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको पश्चिम खण्डमा ९४ किलोमिटर सडक पर्छ । राजमार्गले बराहताल गाउँपालिकाको बड्डीचौर हुँदै पश्चिम बेनिघाटसम्म जोड्छ । बड्डीचौर–बेनिघाट सडक खण्ड २०५१ सालमा ट्र्याक खुलेको थियो । बड्डीचौर–गुटु–बेनिघाट सडकअन्तर्गत बड्डीचौर–खम्बागाडे सडकको मात्र कालोपत्र गर्ने कामको बिहीबार कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले शिलान्याससमेत गरे । निर्देशनालय र जेभीबीच असार १४ गते भएको सम्झौताअनुसार २०८१ असार २४ गतेसम्म सडक कालोपत्र गरिसक्नुपर्ने समयसीमा तोकिएको छ । निर्माण कम्पनीका अनुसार पहिलो चरणमा नाला निर्माण, सडक विस्तारलगायतका कामहरू हुनेछन् ।

दोस्रो चरणमा आगामी आर्थिक वर्ष कालोपत्रको काम गरिनेछ । सामाजिक विकासमन्त्री बुढाक्षेत्रीले मदन भण्डारी राजमार्ग आयोजनाले डीपीआर निर्माण गरे पनि हालसम्म काम गर्न नसकेकाले प्रदेश सरकार आफैं जुटेको बताए । उनले कच्ची सडक हुँदा नागरिकले भोग्नुपरेको सास्तीलाई ध्यानमा राख्दै तत्कालका लागि साढे १२ किलोमिटर कच्ची सडकको कालोपत्र गरेर स्तरोन्नति गर्न लागिएको बताए । उनले सडक कालोपत्र कार्य तोकिएकै समयसीमाभित्र सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन पनि दिए ।

मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको पश्चिम खण्डको हाल विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सकिए पनि सडकको स्तरोन्नतिका क्रममा वातावरणीय प्रभाव मूल्यांकन अध्ययन प्रतिवेदन (ईआईए) समयसीमाभित्र स्वीकृत नहुँदा निर्माणमा ढिलाइ भइरहेको छ । पहिलो पटक पूर्वस्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले दुई वर्षअघि तामझामका साथ बड्डीचौर–गुटु–बेनिघाट पक्की सडकको डीपीआर कार्यको शिलान्यास गरेका थिए ।

त्यसपछि राजमार्गअन्तर्गत सुर्खेतमा पर्ने कुल २३२ किलोमिटरमध्ये ९४ किलोमिटर कच्ची सडकलाई पक्की बनाउन डीपीआर सम्पन्न भए पनि ईआईए प्रतिवेदन कार्यान्वयनमा जान नसक्दा स्तरोन्नतिमा ढिलाइ भएको हो ।

पूर्वी खण्डको काम धमाधम

निकै लामो समय स्तरोन्नतिको प्रक्रिया थालिएको मदन भण्डारी राजमार्गअन्तर्गतको सुर्खेत धुलियाविट–भेडाबारी सडक स्तरोन्नति कार्य पनि धमाधम भइरहेको छ । रूख कटानको कार्य सुरु नभए पनि अन्य स्थानमा सडक स्तरोन्नतिको कार्य भइरहेको लेकबेंसी नगरपालिकाका प्रमुख उमेश पौडेलले जानकारी दिए ।

‘अहिले बर्खाले गर्दा अलि सुस्ताएको छ,’ उनले भने, ‘तर वन क्षेत्र नपर्ने ठाउँमा नाला बनाउने, ग्राभेललगायत काम भइरहेको छ ।’ रूख कटानका लागि स्वीकृत नहुँदा वन क्षेत्रमा पर्ने सडकको काम स्तरोन्नति हुन नसकेको प्रमुख पौडेलको भनाइ छ । मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले उक्त सडक स्तरोन्नतिका लागि कालिका के एस वेदान्सी जेभीसँग १ अर्ब ३ करोड (भ्याटसहित) लागतमा निर्माण सम्झौता गरिसकेको छ । निर्देशनालयले १ अर्ब ५१ करोड रकमबराबरको बोलपत्र आह्वान गरेको थियो । निर्देशनालयका इन्जिनियर शिव तिमिल्सिनाका अनुसार उक्त कम्पनीले ३० महिनामा सडक स्तरोन्नतिको काम सकिसक्नुपर्नेछ ।

ट्र्याक खुलेको करिब ४६ वर्षपछि वैशाखमा बोलपत्र आह्वान भएपछि उक्त सडकको स्तरोन्नति कार्य सुरु भएको हो । डीपीआर गर्दा कुल १ अर्ब ९४ करोड ८४ लाख २३ हजार ६ सय ७३ रुपैयाँ लागत अनुमान गरिएको थियो ।

प्रकाशित : श्रावण १४, २०७९ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?