कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कालीकोट र रुकुम खोप सुनिश्चित

कालीकोट‚ रुकुम पश्चिम — कालीकोट र रुकुम पश्चिमलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । दुवै जिल्लाका खोप समन्वय समितिले शुक्रबार कार्यक्रम गरी पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेको हो ।

कालीकोट र रुकुम खोप सुनिश्चित

सबै पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएपछि जिल्ला समन्वय समिति कालीकोटले अनुगमन प्रतिवेदनका आधारमा खोप सुनिश्चित घोषणा गरेको छ । कालीकोटलाई कर्णाली प्रदेशको तेस्रो पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा गरिएको जिल्ला समन्वय समिति प्रमुख धनजीत शाहीले बताए । उनका अनुसार यसअघि दैलेख र सुर्खेत घोषणा गरिएका थिए । कालीकोट ६५ औं पूर्ण खोप सुनिश्चित जिल्ला बनेको उनले बताए ।

घोषणा कार्यक्रममा स्थानीयले बाजागाजा, हुड्के नाचसहित बजार परिक्रमा गरेका थिए । ०४६ देखि बालबालिकालाई खोप लगाउन सुरु गरिएको कालीकोटमा सरकारले ०७२ मा पूर्ण खोपसम्बन्धी ऐन ल्याएपछि गाविस हुदै पालिका तहमा अभियान सञ्चालन गरी जिल्लालाई पूर्ण खोपयुक्त घोषणा गरिएको जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले बताए । उनका अनुसार शिशु मृत्युदर घटाउन र कुपोषणको चक्र तोड्न खोप अभियान महत्त्वपूर्ण छ । ‘सबै स्थानीय तहले प्रत्येक महिना सञ्चालन गर्ने खोप अभियानका लागि भ्याक्सिनको चिस्यान, ढुवानी र उपलब्धतालाई सहज बनाउने निर्णय गरेका छौं,’ उनले भने, ‘समितिको बैठकले खोप अभियानलाई थप व्यवस्थित र अनिवार्य बनाउने गरी कार्ययोजना बनाएको छ ।’

कालीकोटमा झन्डै १२ हजार १५ महिनामुनिका बालबालिका छन् । बच्चा जन्मिनेबित्तिकै क्षयरोगविरुद्धको बीसीजी, १४ हप्ताभित्र मेनेन्जाइटिसविरुद्धको पेन्टाभेलेन्ट, ६ हप्ता, १० हप्ता र ९ महिनामा निमोनियाविरुद्धको पीसीभी खोप लगाइन्छ ।

त्यस्तै ६ र १४ हप्तामा पोलियोविरुद्धको पीआईभीसी, ६ र १० हप्तामा झाडापखालाविरुद्धको रोटा, ९ महिनामा मिजल्स रुवेलाविरुद्धको एमआर फस्ट खोप लगाइने गरिएको छ । महतका अनुसार महिला पहिलो पटक गर्भवती भएपछि १ महिनाको फरकमा २ पटक बच्चालाई धनुषटंकारबाट बचाउन टीडी खोप लगाउनुपर्छ भने दोस्रो पटकको गर्भाधानमा १ पटक लगाउने गरिएको छ ।

गर्भवती महिलाले ४ पटक स्वास्थ्य संस्था पुगेर गर्भ जाँच गराउनुपर्ने उनले बताए । कालीकोटमा सुनौला हजार दिनका आमा र शिशुलाई लक्षित गरी ‘हरेक बार खाना चार’ को अभियान पनि सञ्चालनमा छ । जिल्लाका ९ वटै स्थानीय तहले स्थानीय रैथाने बालीको प्रवर्द्धन गर्दै पोषिलो पिठो वितरण, खाद्य परिकारको प्रदर्शन र खाद्य सचेतनाका काम पनि सञ्चालन गरिरहेको खाडाचक्र नगरपालिकाका स्वास्थ्य संयोजक रवीन्द्र सेजुवालले बताए । रुकुम पश्चिममा जन्मेदेखि १५ महिनासम्मका ३ हजार ५ सय ७१ जनाले पूर्ण खोप लगाएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । जसमध्य ३ हजार ५ सय १२ जनाको खोप कार्ड छ भने ५९ जना बालबालिकाले खोप लगाए पनि कार्ड पाएका छैनन् ।

१६ महिनादेखि २३ महिनासम्मका २ हजार ३ सय ७५ बालबालिकाले पूर्ण पाइसकेको जिल्ला स्वास्थ्य सेवा कार्यालयकी खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले बताइन् । उनका अनुसार यो अवधिमा बालबालिकाले विभिन्न १३ वटा सरुवा रोगविरुद्धका खोप लगाउनुपर्छ । पूर्ण खोप सुनिश्चित गर्न १६ महिनादेखि २३ महिना उमेर समूहका बालबालिकाको खोपको अवस्था पहिचान र विश्लेषण पनि गरिन्छ ।

पूर्ण खोप सुनिश्चित जिल्ला घोषणापछि यसको दिगोपनाका लागि विभिन्न रणनीति तय गरिएको छ । प्रभावकारी एवं गुणस्तरीय नियमित खोप सेवा सञ्चालन, हरेक वर्षको चैत्र महिनाभित्रै स्वास्थ्यकर्मीको संलग्नतामा घरधुरी सर्वेक्षण गर्ने नीति तय भएको समितिले जनाएको छ । अबदेखि हरेक वर्ष वडा, स्थानीय तह र जिल्ला सभाबाट पूर्ण खोप सुनिश्चितता भएको प्रमाणीकरण गरिने समितिका संयोजक तथा जिल्ला समन्वय समिति उपप्रमुख देवबहादुर विकले बताए । उनले भने, ‘अब बालबालिकामा देखा पर्ने विभिन्न सरुवा रोगको न्यूनीकरण हुनेछ ।’

प्रकाशित : श्रावण १, २०७९ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?