कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

किन उप्कियो कालोपत्र ?

‘दातृ निकायको र सरकारको बजेट कसरी दुरूपयोग हुन्छ भन्ने थाहा पाउन कर्णाली राजमार्ग हेरे पुष्टि हुन्छ’

सुर्खेत,कालीकोट — कर्णालीको विकासको मेरुदण्ड मानिएको कर्णाली राजमार्गमा ०७२ सालमा कालोपत्रे गरियो । विश्व बैंकको झन्डै १ अर्ब रुपैयाँ सहयोगमा सुर्खेतबाट खिड्कीज्युलासम्म १ सय २६ किलोमिटरमा पहिलो चरणमा र खिड्कीज्युलादेखि जुम्लासम्म १ सय ७ किमिमा दोस्रो चरणमा कालोपत्रे भयो । तर अहिले झन्डै १ सय ८३ किलोमिटर कालोपत्रे उप्किएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

किन उप्कियो कालोपत्र ?

अधिकांश कालोपत्रे उप्किएपछि दुर्घटनाको जोखिमसँगै यात्रा कष्टकर बनेको छ । ‘अब त राजमार्गमा पिच भएको ठाउँ खोज्नुपर्ने बेला भयो,’ ना ४ ख ५३०१ नम्बरका गाडी चालक अहिभान बुढाले भने, ‘पिच उप्किएपछि गाडी नबिग्रिएको दिनै हुँदैन, भगवान् भरोसामा गाडी चलाउनुपर्ने बाध्यता छ ।’ उनले राजमार्ग जीर्ण बनेपछि सुर्खेतबाट जुम्लासम्मको २ सय ३३ किमि दूरी छिचोल्न पनि २ दिनको समय लाग्ने गरेको बताए ।

२०६३ चैत्रमा ट्र्याक खोलिएको राजमार्गलाई विश्व बैंकको करिब १ अर्ब रुपैयाँ सहयोगमा ओटासिल प्रविधिको कालोपत्रे गरिएको थियो । पछि विश्व बैंककै १ अर्ब सहयोगमा सेप्टिबार, पर्खाल र सडक चौडा बनाइएको थियो । सडक डिभिजन कार्यालयले पनि त्यसयता मर्मतसम्भारका नाममा झन्डै १ अर्ब रुपैयाँ खर्च गरेको छ । ‘ट्र्याक खुलेपछि नै खर्च भएको ३ अर्बको विकास यही हो त ?’ कालीकोटका व्यवसायी मायाराम पाण्डेले भने, ‘दातृ निकायको र सरकारको बजेट कसरी दुरुपयोग हुन्छ भन्ने थाहा पाउन कर्णाली राजमार्ग हेरे पुष्टि हुन्छ ।’ उनले कर्मचारी र ठेकेदार कम्पनीको मिलेमतोले गुणस्तरहीन काम हुँदा कर्णाली राजमार्गर्को झन्डै आधा बजेटको दुरुपयोग भएको आरोप लगाए ।

ओटासिल कमजोर प्रविधिको कालोपत्रे भएकाले पनि धेरै वर्ष नटिकेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी राजु पौडेल बताउँछन् । ‘पानी पर्दा राजमार्गमा पहिरो झरिहाल्छ, पहिरोका कारण पनि धेरै ठाउँमा पिच टिक्नै पाएन,’ उनले भने, ‘पहिलो वर्ष १७ ठाउँमा गएको पहिरोले झन्डै ४ किलोमिटर पिच पुरेको थियो ।’ दहीखोला, राकम कर्णाली आसपासका क्षेत्र, जाक्सीखोला, ताडी, सेरीघाटलगायतको पिच पहिरोले नै पुरिएको सडक डिभिजन कार्यालयले जनाएको छ । बढी लोड भएका गाडीहरू आउजाउ गर्दा पनि राजमार्गको पिच उप्किएको उनले बताए ।

‘बढी कमाउने लोभमा गाडी व्यवसायीले यात्रु र सामान बढी हाल्छन्,’ पौडेलले भने, ‘६ चक्के ट्रक पास नहुने ठाउँमा १२ चक्के ट्रक गुडाउँदा पनि पिच धेरै टिकेन, त्यसमा ट्र्याक्टरले पनि केही पिच भत्कायो ।’ पिच उप्किनुमा ठेकेदारले गुणस्तरीय काम नगरेको कुरा पनि जोडिएको नागरिक अगुवा जनकबहादुर शाहीले बताए । ‘वर्षभरि चुप लाग्ने र आर्थिक वर्षको अन्तिम समयमा पिच गर्ने प्रवृत्ति कर्णाली राजमार्गमा पनि हटेन, हतारहतार वर्षाको समयमा पिच गरेका ठेकेदारले वर्षालाई दोष दिएर भुक्तानी लिए,’ उनले भने, ‘त्यसमा सडक डिभिजनका कर्मचारीको पनि मिलेमतो हुँदा गुणस्तरहीन कामको फाइल सदर भयो ।’ त्यसयता टालटुलमा पनि करोडौं रकम बर्सेनि खर्च भइरहेको उनको आरोप छ ।

राजमार्गअन्तर्गत कालीकोट–जुम्लाखण्डका लागि चालु आर्थिक वर्षमा २३ करोड बजेट विनियोजन भएको छ । तर हिमपात, स्थानीय तहको चुनाव, चुलिँदो महँगी र छिटो सुरु भएको प्रतिकूल मौसमले ५० प्रतिशत पनि बजेट खर्च हुने अवस्था नरहेको सूचना अधिकारी पौडेलले बताए । कर्णाली राजमार्गको सुर्खेत दैलेख खण्ड १ सय ३५ किमि सडक डिभिजन कार्यालय सुर्खेतले हेर्छ भने त्यसभन्दा माथि जुम्ला कार्यालयको दायित्व तोकिएको छ ।

राजमार्गको कतिपय ठाउँमा ५ मिटर मात्र चौडा हुँदा गाडी पास गर्न ब्याक गर्नुपर्ने बाध्यता छ । साघुँरो र अप्ठ्यारो भीर भएको ठाउँमै गाडी पास गर्न कठिनाइ भएको सुर्खेत–जुम्ला रुटमा गाडी चलाउने चालक लालसिंह नेपालीले बताए । उनका अनुसार सुर्खेतबाट जुम्ला जान लागेको यात्रुवाहक बस मंगलबार दिउँसो २ बजे कालीकोटको दैखोला–जिते खण्डको छहरा भीर पुगे पनि जुम्लाबाट आएको ट्रकले गाडी छिर्न नसक्दा बेलुकी ५ बजेसम्म जाम पर्‍यो । ‘३ घण्टापछि बल्लतल्ल सडक त खुल्यो । तर गाडी मान्ममै बास बस्नुपर्ने भयो,’ उनले भने, ‘साघुँरो बाटोले सधैं सास्ती छ ।’

कर्णार्ली राजमार्गको स्तरवृद्धिलाई जुम्ला, मुगु र कालीकोट ३ वटै जिल्लाका सबैजसो राजनीतिक दलले चुनावी नारा बनाएर भोट लिने प्रतिस्पर्धा गरे पनि कामको गुणस्तरबारे कसैलाई वास्ता छैन । जुम्लाका व्यवसायी हस्तबहादुर बमले सडकको हालत नसुध्रिँदा यात्रु र गाडी व्यवसायीलाई मर्का परिरहेको बताए ।

०४८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शिलान्यास गरेको कर्णाली राजमार्गमा कहिले सशस्त्र द्वन्द्व त कहिले बजेट अभावले ट्र्याक खुल्नै १५ वर्ष लाग्यो । नेपाली सेनाले जिम्मा लिएपछि ०६३ चैत ३० गते जुम्लासम्मको सडक खुलेको थियो । कर्णाली राजमार्गको स्तरवृद्धि नहुँदा बेला बेलामा भयानक दुर्घटना पनि हुने गरेको छ । अहिलेसम्म राजमार्गमा दुर्घटनामा परी ४ सय ६ जनाले ज्यान गुमाएको प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ । ‘सडक राम्रो भएको भए त आधा दिनमै सुर्खेत पुगिन्थ्यो,’ जुम्लाका व्यवसायी मायालाल महताराले भने, ‘जीर्ण र धुलाम्मे सडकले सास्ती र जोखिम उत्तिकै छ ।’ राजमार्गअन्तर्गत विभिन्न ९ खोलामा पक्की पुल बने पनि दैलेखको जाक्सी खोला र कालीकोटको टाकुल्ला खोलाको पुल अझै अलपत्र छ ।

प्रकाशित : असार ३०, २०७९ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?