कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

दुर्गममा नमुना विद्यालय

सुर्खेत र कालीकोट — नयाँ बनेको ४ कोठे विद्यालय भवन । ३ कोठे अपांग र छात्रामैत्री शौचालय । त्यसको बाहिर बालमैत्री धारा । पर्याप्त उज्यालो छिर्ने चिटिक्कका कक्षाकोठा । चिसो नलागोस् भनेर भुइँ र भित्तामा काठको सिलिङ । भित्ताभरि सिकाइ सामग्रीले कक्षा कोठा सजिएको छ ।

दुर्गममा नमुना विद्यालय

अहिले सान्नीत्रिवेणी–४ उजेलगाउँस्थित शान्ति आधारभूत विद्यालयको स्वरूप फेरिएको छ । यसअघि खरको छाना भएको जीर्ण भवनमा विद्यार्थीलाई जोखिम मोलेर पढाउनुपर्ने बाध्यता थियो । ‘घामलाग्दा पोल्ने र पानी पर्दा भिज्ने समस्याबाट मुक्ति पाइयो,’ प्रधानाध्यापक कृष्णबहादुर शाहीले भने, ‘दूरदराजको बनेको पक्की भवनसँगैका नयाँ संरचनाले पठनपाठनमा सुधार आइरहेको छ ।’ अहिले ४४ प्रतिशत मात्र कक्षगत सिकाइ उपलब्धि भएको विद्यालयमा प्रत्येक वर्ष ५ प्रतिशतका दरले सिकाइ उपलब्धि वृद्धि गर्ने गरी विद्यालय सुधार योजनासमेत बनाइएको छ ।

०५२ सालमा ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रमको ५२ हजार अनुदानमा अभिभावकले श्रमदान गरेर खरको छाना राखेर विद्यालय भवन बनाएका थिए । २६ वर्षअघि स्थापना भएको विद्यालयमा अहिले कक्षा ५ सम्म पढाइ हुन्छ । अधिकांश दलित समुदायको बसोबास रहेको बस्तीका २ सय घरधुरीका ६० छात्रा र ५० छात्र गरी १ सय १० जना बालबालिका विद्यालयमा भर्ना भएका छन् । ‘पढाइ त आँखा रहेछ,’ अभिभावक गंगे तिरुवाले स्थानीय लवजमा भने, ‘मेरा टुवाटै (छोराछोरी) कन (लाई) सधै स्कुल पठाउन्या छौं ।’

प्लान इन्टरनेसनल र किर्डाक नेपालको साझेदारीमा सञ्चालित कर्णाली शिक्षा परियोजनाको झन्डै ६० लाख रुपैयाँको बजेटबाट विद्यालयमा भवन, शौचालयलगायतका संरचना बनेका हुन् । भवन बनाउन स्थानीय देवनाथ योगीले निःशुल्क जग्गा दान गरेका थिए । परियोजनाले कालीकोटको नरहरिनाथ–८ स्थित रूपादेवी आधारभूत विद्यालय र रास्कोटको सुन्दर आधारभूत विद्यालयमा ४/४ कोठे नमुना भवन, शौचालय, खानेपानीसहितका संरचना निर्माण गरेको छ ।

त्यस्तै, डोल्पामा २ र जुम्लामा ३ नमुना विद्यालय बनाइएको प्लान नेपालकी क्षेत्रीय प्रबन्धक मीना पराजुलीले बताइन् । उनका अनुसार नमुना विद्यालयहरू ५० देखि ८० लाख रुपैयाँको लगानीमा निर्माण भएका हुन् । परियोजनामार्फत ३ जिल्लामा खानेपानीको सुविधासहित १७ शौचालय बनेको उनले जानकारी दिइन् । उनका अनुसार सबै विद्यालयमा ११ देखि १६ लाख रुपैयाँ लगानीमा शौचालय बनाइएका हुन् । ‘कार्यक्रममार्फत १ देखि ३ कक्षासम्मका ४ सय कक्षाकोठा बालमैत्री बनाइएको छ,’ उनले भनिन्, ‘विद्यालयको बाहिरी वातावरण, कक्षाकोठा व्यवस्थापन, शिक्षकलाई तालिम, अभिभावक शिक्षा र सिकाइ उपलव्धि कमजोर भएका बालबालिकाका लागि अतिरिक्त कक्षा पनि सञ्चालन भएका छन् ।’

सामाजिक विकास मन्त्रालय, शिक्षा विकास तथा समन्वय इकाइ र सम्बन्धित पालिकाका शिक्षा शाखाको संलग्नतामा परियोजना डिजाइन गरिएकाले कार्यक्रम प्रभावकारी देखिएको उनको भनाइ छ । ३१ करोड ४२ लाख रुपैयाँ खर्च भएको परियोजनामार्फत ८० विद्यालयका ४ सय २० शिक्षक र २३ हजार ३ सय विद्यार्थीले लाभान्वित भएको संस्थाले जनाएको छ ।

प्रकाशित : असार २५, २०७९ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?