१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

आगो देख्दा झस्किन्छन् पीडितहरू

आगलागीले घरवास गुमाएका सबै परिवार आफन्तको घरमा शरण लिएर बसेका छन्

मुगु र जुम्ला — तिला–४ सार्कीबाडाका मानबहादुर सार्की अहिले कुनै ठाउँमा आगो लागेको सुन्नबित्तिकै झस्किन्छन् । ‘अरूको पनि मेरोजस्तै हाल नहोस् भन्ने कामना गर्छु,’ वैशाख ९ गते लागेको आगोमा परी एक छोरा र दुई छोरी गुमाएका उनले भने, ‘आगोले त मेरो परिवारै उजाडियो ।’ उनको घरमा आगो लाग्दा पाहुना आएकी उनकी भान्जीसमेत आगोमा परिन् ।

आगो देख्दा झस्किन्छन् पीडितहरू

सार्कीको घरमा आगलागी हुँदा उनका छोरीहरू ११ वर्षीया अनु, ३ वर्षीया दर्शना, भान्जी १४ वर्षीया तिर्सना सार्की र १ वर्षीय छोरा दिपेशको आगोमा परेर मृत्यु भएको थियो । ४ दिनअघि आएकी तिर्सनासमेत मामाघरमा रमाउन सकिनन् । मानबहादुरको ३ तलाको घर थियो । तेस्रो तलामा भान्सा थियो । आगो भान्साबाटै लाग्यो । सबै बालबच्चा भान्सामै सुतेका थिए । कामका लागि घरबाहिर निस्केका मानबहादुरका पतिपत्नी घर फर्कन नपाउँदै बालबच्चा खरानी भइसकेका थिए । उनको जलेको घर अहिलेसम्म ठडिएको छैन् । ‘आगोले नष्ट घरको संरचना देख्दा मन चिरिन्छ,’ उनले भने, ‘त्यत्रो दुःखकष्ट गरी हुर्काएका बालबालिकाको यादले सताउँछ, छोराछोरी जले, उनीहरूको पीरले हाम्रो मन जलेको छ ।’

जुम्लामा चालु आर्थिक वर्षमा ७ घर जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आगलागीमा परी घरवास गुमाएका सबै परिवार आफन्तको घरमा शरण लिएर बसिरहेका छन् । आगलागीमा झन्डै डेढ करोडको क्षति भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ । एक वर्षअघि जुम्लाको तिला–७ गोठी र तिला–९ मुल्ली गाउँ नै आगोले खरानी बन्यो ।

मुगुको खत्याड गाउापालिका–४ पैंखुका चुत्तबहादुर थापाको घर गत मंगलबार आगोले खरानी बनायो । उनको घरको आगो सल्किएर छिमेकी शारदा थापाको घर पनि आगोले नष्ट भयो । दुवै परिवार अहिले पाल टाागेर चौरमा बस्न बाध्य छन् । छिमेकी जिल्ला हुम्लाको चंखेली गाउापालिका–४ पिप्लाङमा पनि गत शनिबार आगलागी हुँदा कर्णबहादुर शाही र गोरखबहादुर शाहीको घर जलेर पूर्णरुपमा नष्ट भए । ‘आगोले हाम्रो खुसी नै लुट्यो,’ कर्णबहादुरले भने, ‘दुःखकष्ट गरी बनाएको घर छिनभरमै खरानी बन्यो, अहिले पाल टाँगेर चौरमा बस्नुपरेको छ ।’ एक सातामा मुगु र हुम्लामा आगलागी हुदा ४ परिवार घरवारविहीन बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्तिक २९ गते गमगढीस्थित तल्लो बजारमा आगलागी हुँदा रतनबहादुर शाही, जानबहादुर हितान, दानबहादुर हितान, ठिल्ले तामाङ, झोवा तामाङलगायत २१ जनाको घर पूर्णरुपमा नष्ट भयो । पीडितले अहिलेसम्म नयाँ घर बनाउन सकेका छैनन् ।

रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य नरबहादुर नेपालीले भौगोलिक विकटताका कारण आगो निभाउने सामग्री समयमै नपुग्नु, बाक्लो बस्ती, सुरक्षाकर्मी टाढा हुनु, गाउँमा उद्दार सामग्री नहुनुलगायत कारण आगलागीले ठूलो क्षति हुने गरेको बताए । ‘खरका छानामुक्त गाउँ बनाउन सके आगलागीका घटना केही हदसम्म कम गर्न सकिन्छ,’ उनले भने ।

अग्निपीडितका लागि सरकारले घर पुनःनिर्माण गर्न पर्याप्त बजेट नदिँदा उनीहरू कष्टकर जीवन बिताउन बाध्य छन् । ‘अधिकांश अग्निपीडितले घरसँगै सबै सामग्री गुमाएका हुन्छन्,’ रेडक्रस मुगुका सभापति जयबहादुर मल्लले भने, ‘सरकारले पुग्ने गरी बजेट दिँदैन, त्यसैले महिनौंसम्म पीडितहरू हामीले दिएको त्रिपालमा बसेर जीवन गुजार्न बाध्य छन् ।’

कर्णालीमा आगलागीका घटनाप्रति पूर्वतयारी नहुँदा पनि बढी क्षति हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी खडक रोकायाले बताए । उनका अनुसार पानीको स्रोत नभएको ठाउँमा आगो लाग्दा निभाउन समस्या भएको छ । उनले यो वर्ष आगलागीका घटना रोक्न पूर्वयोजना बनाई कार्यान्वयनमा लगिएको बताए ।

प्रकाशित : असार २५, २०७९ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?