१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

ज्येष्ठ नागरिकको घरघरमै उपचार

विप्लव महर्जन

सल्यान — छत्रेस्वरी गाउँपालिकाले ८० वर्षमाथिका ज्येष्ठ नागरिकको घरघरमै गएर उपचार थालेको छ । अस्पताल र स्वास्थ्य संस्थासम्म जान नसक्दा उपचारबाट वञ्चित भएको भन्दै गाउँपालिकाले घरमै गएर उपचार गर्ने व्यवस्था मिलाएको हो ।

ज्येष्ठ नागरिकको घरघरमै उपचार

गाउँपालिकाले उपचार सेवा थालेपछि दीर्घरोगी, मौसमी बिरामी र अशक्तहरूले घरमै उपचार पाइरहेका छन् । अहिलेसम्म ८० वर्ष माथिका १ सय २४ जनालाई घरमै गएर उपचार सेवा दिइएको गाउँपालिकाले जनाएको छ । ज्येष्ठ नागरिक आफै उपचारका लागि बाहिर जान नसक्ने भएकाले घरघरमै उपचार सुरु गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख केशरीदेवी भट्टराईले बताइन् । उनका अनुसार भौगोलिक विकटताका कारण पनि ज्येष्ठ नागरिकलाई उपचारका लागि समस्या छ ।

‘एक त सबै ठाउँमा सडक सुविधा छैन, भए पनि चाहिएको बेला गाडी पाइँदैन,’ उनले भनिन्, ‘सामान्य खालका स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भनेर घरघरमै उपचार थालेका हौं ।’ उनले सबै वडाका स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई खटाएर रक्तचाप, मधुमेह, दम, बाथ, ज्वरो, रुघाखोकी, पेट दुख्नेलगायत समस्याको निदान गर्दै आइरहेको जानकारी दिइन् ।

घरमा पुगेका स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकलाई निःशुल्क औषधिसमेत दिने गरेका छन् । ज्येष्ठ नागरिकका लागि प्रत्येक महिना घरघरमा गइ उपचार गर्ने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ । ‘गम्भीर स्वास्थ्य समस्या देखिएका बिरामीलाई जिल्ला अस्पतालसम्म ल्याउन निःशुल्क एम्बुलेन्सको सुविधा दिने तयारी गरेका छौं,’ उनले भनिन्, ‘पालिकामै ल्याब सेवा सञ्चालन गर्ने तयारी पनि भइरहेको छ ।’ लेखपोखराका ज्येष्ठ नागरिक नन्दबहादुर पुनले घरमै उपचार पाउँदा आफूहरूजस्ता दीर्घरोगीलाई राहत मिलेको बताए । उनी ७ वर्षदेखि दमको रोगी छन् । ‘उपचारकै लागि सदरमुकाम जान सक्ने अवस्था छैन, अहिले घरमै उपचार र औषधि पाइरहेका छौं,’ उनले भने, ‘बल्ल स्थानीय सरकार भएको अनुभूति भयो ।’

लेखपोखरास्थित प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज वीरबहादुर ओलीले लेखपोखरामा मात्रै ४० ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरी आवश्यक परामर्श र निःशुल्क औषधि दिइएको बताए । उनका अनुसार जटिल समस्या भएका ५ जनालाई जिल्ला अस्पतालमा रेफर गरिएको छ । ‘अलि बढी समस्या देखिएका ५ जनालाई बाहिर रेफर गरिएको छ,’ उनले भने, ‘अधिकांश ज्येष्ठ नागरिक दम, प्रेसर, बाथ र ज्वरोका बिरामी भएको पाइयो ।’ गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकीले स्थानीयको स्वास्थ्यलाई प्राथमिकतामा राखी आगामी वर्षको लागि झण्डै ५ करोड रुपैयाँ विनियोजन गरिएको बताए ।

प्रकाशित : असार २२, २०७९ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?