३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सुरु गरेको ४ महिना नबित्दै रोकियो पक्की पुल निर्माण कार्य

विप्लव महर्जन

सल्यान — जिल्लाको शारदा नगरपालिका १ श्रीनगर बजार र १२/१३ स्यानीखाल जोड्न शारदा नदीमा निर्माण शुरु गरिएको पक्की पुलको निर्माण कार्य चार महिना नबित्दै रोकिएको छ । पिलर गाड्नका लागि ड्रिल गर्ने क्रममा कडा चट्टान भेटिएपछि डीएमसी मेसिनले चट्टानमा प्वाल पार्न नसकेका कारण काम रोकिएको हो । 

सुरु गरेको ४ महिना नबित्दै रोकियो पक्की पुल निर्माण कार्य

पक्की पुलको काम रोकिएका कारण निर्माण कम्पनीले ल्याएको सामग्री अहिले त्यत्तिकै थन्किएका छन् । काम सुरु गरेको चार महिना नबित्दै काम रोकिएपछि खुसी भएका स्थानीयमा निराशा छाएको छ ।

स्यानीखालका स्थानीयलाई बाह्रै महिना गाडीमा आउजाउ गर्न सजिलो होस् र वर्षात्‌को समयमा जोखिम मोलेर शारदा नदी वारपार गर्न नपरोस् भनेर सम्बन्धित निकायले पक्की पुल निर्माणको काम अगाडि बढाए पनि ठेकेदार कम्पनीले काम गर्दागर्दै छाडेपछि पक्की पुल समयमै बन्नेमा शंका लाग्न थालेको स्यानीखालका रेशमबहादुर ओलीले बताए । श्रीनगरदेखि स्यानीखाल जाने बेला वर्षात्‌को समयमा शारदा नदी वारपार हुने भएकाले आउजाउमा सास्ती हुने गरेको उनले जानकारी दिए ।

जमिनमुनि कडा चट्टान भेटिएको भनेर ठेकेदार कम्पनी पन्छिन खोजेको र देखावटी काम गरेजस्तो देखिएको स्थानीय नन्दलाल बुढाथोकीले बताए । सम्बन्धित निकायले दुई वर्षमा पुल निर्माण गरिसक्नुपर्ने भने पनि समयमै बन्ने छाँटकाँट नदेखिएको उनले बताए । ‘पक्की पुल बनेमा वर्षात्‌को समयमा रातबिरातमा पनि आउजाउ गर्न सहज हुन्थ्यो‚’ उनले भने‚ ‘समयमै बन्ने छाँटकाट छैन । स्थानीयको समस्या जहाँको तहीँ छ ।’

सडक डिभिजन कार्यालय दाङका ईन्जिनियर रिकेस महर्जनले पुल निर्माणस्थलको करिब २० मिटर तल जमिनमुनि कडा चट्टान भेटिएको र ठेकेदार कम्पनीले ल्याएको ड्रिल मेसिनले चट्टानमा प्वाल पार्न नसकेका कारण काम रोकिएको बताएका छन् । पुलका लागि सरकारले १२ करोड रकम विनियोजन गरेकोमा ९ करोडमा जलजला जयमा स्वर्गद्वारी निर्माण कम्पनीले काम गर्ने जिम्मा पाएको उनले जानकारी गराए ।

उनका अनुसार पक्की पुलको लम्बाई ६० मिटर रहेको छ । कडा चट्टान प्वाल पार्नका लागि ठूलो मेसिन ल्याएर काम गर्न ठेकेदार कम्पनीलाई सल्लाह दिएको र दुई वर्षमा सम्पन्न गर्नु पर्ने र अब काम गर्न १४ महिना बाँकी रहेकाले ताकेता गरिरहेको उनको भनाइ छ ।

‘पक्की पुल निर्माणका लागि सडक डिभिजन कार्यालय दाङले १६ मिटर गहिराइमा परीक्षण गरेको थियो । स्टमेटअनुसार पिलरका लागि २७ मिटर गहिराईसम्म प्वाल पार्नु पर्ने हुन्छ तर सानो मेसिनले २० मिटरभन्दा तल प्वाल पार्न सकेन‚’ उनले भने‚ ‘हाम्रो मेसिनको ड्रिल गर्ने एक सिजल जमिनमुनि अड्किएको छ । निकाल्न सकेका छैनौं । ठूलो मेसिनले पनि काम गर्न नसके सडक डिभिजन कार्यालय दाङले डिजाइन बदल्नुपर्ने हुन्छ । नत्र काम गर्न सकिँदैन’ ।

प्रकाशित : असार २१, २०७९ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?