कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सल्यानमा ११ महिनामा १ सय १० गाडी दुर्घटना

३१ को मृत्यु, २ सयभन्दा बढी घाइते
विप्लव महर्जन

सल्यान — आर्थिक वर्ष ०७८ असोज १५ गते शिवजन मावि सितलपार्टीमा अध्ययन गरेर घर फर्कँदै गरेका दुई किशोरीलाई लु २ च ५७०१ नम्बरको जिपले ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भयो भने दुई जना गम्भीर घाइते भए । त्यति बेलै चालकलाई प्रहरीले नियन्त्रणमा लियो । 

सल्यानमा ११ महिनामा १ सय १० गाडी दुर्घटना

सल्यान खलंगाबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २५२१ नम्बरको यात्रुवाहक बस ०७८ कार्तिक २१ गते त्रिवेणी गाउँपालिकाको टुनिबोट नजिकै दुर्घटनामा पर्‍यो । बस दुर्घटना हुँदा घटनास्थलमै आठ र बाहिर चार गरी १२ जनाको मृत्यु भयो । २८ जना गम्भीर घाइते भए । चालकको लापरबाही र पुरानो भएका कारण बस दुर्घटनामा परेको थियो ।

यस्तै ०७८ मंसिर २८ गते बाग्चौर नगरपालिका १२ ओखरेनीमा रा १ त १६९८ नम्बरको ट्याक्टर दुर्घटनामा पर्‍यो । ट्याक्टर दुर्घटना हुँदा त्यसमा सवार एक जनाको मृत्यु भयो भने दुई जना घाइते भए ।

यसै आवको साउनदेखि जेठसम्मको ११ महिनामा जिल्लाभर १ सय १० सवारी दुर्घटनामा परेका छन् । विभिन्न किसिमका सवारीसाधन दुर्घटना हुँदा ३१ जनाको मृत्यु भइसकेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । ट्राफिक कार्यालयका अनुसार दुर्घटनामा परी २ सयभन्दा बढी घाइते भएका छन्‚ जसमा ५० जना गम्भीर घाइते भएका छन् ।

सम्बन्धित निकायले बारम्बार सवारी दुर्घटना न्यूनीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । चालक, सहचालकलाई सडकमै गाडी रोकेर दुर्घटना न्यूनीकरण र ट्राफिक नियमबारे जानकारी गराउँदै आएको भएपनि सल्यानमा सवारी दुर्घटनामा भने कमी आएको छैन । सडकको दुरावस्था, चालकको लापरबाही तथा जति ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कार्यक्रम गरे पनि त्यसलाई पालना नगरी बेवास्ता गर्दा जिल्लामा दुर्घटनामा कमी नआएको हो ।

सडकको दुरावस्थाबारे जानकारी हुँदाहुँदै पनि केही बढी रकम कमाउने लालचमा परी एक आपसमा प्रतिस्पर्धा गर्ने, तीव्र गतिमा गाडी तथा मोटरसाइकल चलाउने, क्षमताभन्दा बढी यात्रु गाडीमा हाल्ने गर्दा जिल्लावासीहरूले अकालमा ज्यान गुमाउनु परेको छ भने धेरै अपाङ्ग भएर बस्नु परेको छ ।

सडकको दुरावस्था, चालकको लापरबाही, मादक पदार्थ सेवन गरेर सवारी चलाउने र पुराना गाडी भएकाले दुर्घटनामा नरोकिएको जिल्ला ट्राफिक कार्यालय सितलपार्टीका नि. ईन्चार्ज थमन डाँगीले बताए । यस आवको १० महिनामा बस १७, ट्रक १०, ट्याक्टर १५, जिप र कार २८ मोटरसाइकल ३६ र अन्य ११ सवारी दुर्घटनामा परेको उनले जानकारी दिए । उनका अनुसार गत वर्ष १ सय ४३ वटा सवारी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको थियो । यो वर्ष दुर्घटनामा केही कमी देखिए पनि मृत्यु हुनेको संख्या झन्डै तेब्बरले बढी छ ।

ट्राफिक नियम पालना गर्न कडाइ गर्दै आएको र पालना नगरेकालाई कारबाही गर्दै आए पनि नियम पालना गरेको खासै नदेखिएको उनले जानकारी दिए । ‘ट्राफिकले प्रत्येक दिन चालक तथा व्यवसायीलाई बोलाएर सचेतनामूलक कार्यक्रम गर्दै आएको छ; उनीहरू एकछिन सुन्छन्; त्यसपछि बिर्सिन्छन्‚’ उनले भने‚ ‘जबसम्म जीवन अमूल्य छ र यो हाम्रा लागि हो भन्ने कुरा चालक, व्यवसायीलगायत अन्यले बुझ्दैनन् तबसम्म प्रहरी र ट्राफिकको एक्लो प्रयासबाट मात्र दुर्घटना नियन्त्रण कहिले हुँदैन ।’

जिल्ला प्रहरी कार्यालय सल्यान प्रहरी निरीक्षक विक्रम कुँवरले आफू जिल्लामा आएको धेरै नभएकाले खासै अध्ययन गर्न नपाए पनि सडकको अवस्था र सवारीमा क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटना बढेको हुन सक्ने बताएका छन् । बढी कमाउने लालचमा आपसमा अस्वस्थ प्रतिस्पर्धा पनि दुर्घटनाको कारण हुन सक्ने उनले बताए ।

उनका अनुसार गाडी चलाउनुभन्दा पहिले चालकले गाडको अवस्था जाँच गर्न आवश्यक छ । गाडीको अवस्था हेरेर कति भारवहन गर्ने त्यो पनि जान्न आवश्यक छ । चालकलाई चेतनामूलक कार्यक्रम, ट्राफिक नियम पालनाका विषयमा जानकारी गराउँदै आए पनि खासै पालना गरेको नदेखिएको र चालकले मतलब नगरे पनि सचेतनामूलक कार्यक्रम भने दैनिक जसो गरिरहेको उनको भनाइ छ ।

दैनिकजसो गाडी दुर्घटनामा परेर मानवीय क्षति हुँदै आए पनि सम्बन्धित निकायले भने सडक खन्न जान्ने तर स्तरवृद्धिका लागि खासै चासो नदेखाएको जिल्लावासीले गुनासो गरेका छन् । राप्ती राजमार्गलगायत जिल्लाका ग्रामीण सडकको स्तरवृद्धिका लागि बारम्बार माग राख्दै आए पनि बजेट कम भएको भन्दै सम्बन्धित निकायले बेवास्ता गरिरहेको त्रिवेणीका निर्मल भण्डारीले बताए ।

गाडी दुर्घटना हुनुमा धेरैजसोले गाडी चालककै लापरबाही भन्दै आए पनि आफ्नो ज्यान जोखिममा पारेर जानीजानी दुर्घटनामा पार्ने काम नगरेको र विभिन्न कारणले आकस्मिक रुपमा दुर्घटना हुने गरेको गाडी व्यवसायी कमल रोकाले बताए । ‘कहिलेकाही सामान्य गल्ति हुन सक्छ तर सधैँ हुँदैन‚’ उनले भने ‘सम्बन्धित निकायले आरोप लगाई पन्छिन खोजेको मात्र हो । आफूसहित यात्रुको ज्यान जोखिममा पार्ने र परिवारलाई रुवाउने हामीलाई रहर हुँदैन ।’

प्रकाशित : असार २०, २०७९ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?