कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

भेरी–बबई डाइभर्सनको ५६ प्रतिशत काम पूरा

म्याद सकिन १ वर्ष बाँकी रहे पनि आयोजना बन्न अझै ३ वर्ष लाग्ने अनुमान   िकामलाई तीव्रता दिन सत्र छुट्याएर निर्माण चल्दै
चाँदनी कठायत

(वीरेन्द्रनगर) — राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन आयोजनाको हालसम्म ५६ प्रतिशत काम सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ । आयोजनाको हाल दोस्रो प्याकेजअन्तर्गत भौतिक संरचना बनाउने काम भइरहेको छ ।

भेरी–बबई डाइभर्सनको ५६ प्रतिशत काम पूरा

आयोजनाको पहिलो र दोस्रो प्याकेज गरी कुल वित्तीय प्रगति ४१.१० प्रतिशत रहेको आयोजना कार्यालयका सूचना अधिकारी एवं सीडीई लेखनाथ सुवेदीले जानकारी दिए । सुर्खेतको भेरीगंगा नगरपालिकाको चिप्लेमा आयोजना निर्माणको काम भइरहेको छ ।

उनका अनुसार तेस्रो प्याकेजअन्तर्गत हुने हाइड्रोमेकानिकल (एचएम) र इलेक्ट्रोमेकानिकल (ईएम) को काम पनि अघि बढिसकेको छ । ‘एचएमको टेन्डर भइसक्यो,’ उनले भने, ‘ईएमको पनि खरिद प्रक्रियाको काम अन्तिम चरणमा छ ।’ कोरोना महामारी, प्रतिकूल मौसम, बर्खामा नदीमा पानीको बहाव बढ्नुलगायत कारण निर्माणमा केही असर परे पनि काम नै ठप्प भने नभएको उनको भनाइ छ । कामलाई तीव्रता दिन सत्र (सिफ्ट) छुट्याएर निर्माण अघि बढाइएको बताउँदै उनले आगामी आवमा पनि यसलाई निरन्तरता दिने बताए ।

हाल दोस्रो प्याकेजअन्तर्गत हेडवर्क्स, पावर हाउस (विद्युत् गृह), बाँध (कफर ड्याम) निर्माणको काम भइरहेको छ । जसको रमण–ग्वाङडोन जेभीले २०७६ साउनमा ६ अर्ब १६ करोड ५२ लाख १६ हजार रुपैयाँमा जिम्मेवारी लिएको थियो । उसलाई २०८० साउन २९ भित्र निर्माण सम्पन्न गर्ने समयसीमा दिइएको छ । तेस्रो प्याकेजमा हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलसम्बन्धी निर्माण र जडानका काम पर्छन् । हाल हाइड्रोमेकानिकलअन्तर्गत गेट तथा पेन स्टक पाइप तथा इलेक्ट्रोमेकानिकलअन्तर्गत टर्बाइन, जेनेरेटर, स्विचयार्डलगायत निर्माण भइरहेको छ ।

तेस्रो प्याकेजको निर्माणका लागि प्राप्त बोलपत्रहरूको प्राविधिक मूल्यांकन गरी स्वीकृतिका लागि विभागमा पेस गरिएकोमा २०७६ वैशाख १३ मा विभागीय निर्णयअनुसार हाइड्रोमेकानिकल निर्माण कार्यको ठेक्का रद्द भएको थियो । त्यसपछि पुनः बोलपत्र आह्वान भएबमोजिम खरिद प्रक्रिया सम्पन्न गर्न अर्को निर्माण व्यवसायीसँग २०७८ मंसिर ७ मा २ अर्ब १३ करोड ७४ लाख ९३ हजार ९ सय १६ रुपैयाँ (भ्याटसहित) लागतमा सम्झौता भएको छ । सम्झौता भएको मितिले ३ वर्षभित्र सम्पन्न गर्नुपर्ने गरी निर्माण व्यवसायीले तयारी गरिरहेको सूचना अधिकारी सुवेदीले बताए ।

आर्थिक वर्ष २०७१/७२ बाट निर्माण कार्य थालिएको आयोजनाको काम आगामी आर्थिक वर्ष २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । तर, हालको अवस्थामा आयोजनाको निर्माण कार्य सक्न अझै ३ वर्ष लाग्ने अनुमान गरिएको छ । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामार्फत बाँके र बर्दियाको ५१ हजार हेक्टर भूमिमा बाह्रैमहिना सिँचाइ सुविधा उपलब्ध गराउने र ४८ मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य छ । आयोजना बनेर सिँचाइ हुन थालेपछि कृषि उत्पादन बढ्न गई वार्षिक ३.१ अर्ब अप्रत्यक्ष तथा विद्युत्बाट २.१ अर्ब प्रत्यक्ष आम्दानी हुने अनुमान छ ।


प्रकाशित : असार २०, २०७९ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?