३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

चर्को मूल्यमा एमआरआई खरिद गर्दै प्रदेश अस्पताल

प्रदेश अस्पतालले खरिद गर्न लागेको एमआरआई मेसिन सिभिल अस्पतालले खरिद गर्नेभन्दा ६ करोड ९३ लाख ६४ हजार ९ सय ५४ रूपैयाँले बढी

वीरेन्द्रनगर — प्रदेश अस्पताल सुर्खेतले चर्को मूल्यमा म्याग्नेटिक रेजोनेन्स इमेजिङ (एमआरआई) मेसिन खरिद गर्दै छ । मेसिन खरिद गर्ने भनी बोलपत्र स्वीकृतसमेत गरेर प्रक्रिया अगाडि बढाएको अस्पतालले थ्री टेस्ला क्षमताका एमआरआई खरिद गर्ने भएको हो ।

चर्को मूल्यमा एमआरआई खरिद गर्दै प्रदेश अस्पताल

अस्पतालले उक्त एमआरआई मेसिन खरिदको जिम्मा इस्टवेस्ट कन्सर्न प्रालिलाई दिएको छ । अस्पतालले उक्त कम्पनीलाई २२ लाख ४९ हजार ९ सय युरो अर्थात् २९ करोड ७१ लाख ६६ हजार ७ सय ९२ नेपाली रुपैयाँमा खरिद गर्न जिम्मा दिएको हो । प्रदेश अस्पतालले चर्को मूल्यमा एमआरआई मेसिन खरिद गर्न लागेपछि अनियमितता भएको आशंकामा कर्णाली प्रदेशसभाको सार्वजनिक लेखा समितिले छानबिन सुरु गरेको छ ।

सरकारका दुई अस्पताल काठमाडौंको निजामती (सिभिल सर्भिस) अस्पताल र कर्णाली प्रदेश अस्पतालले एउटै कम्पनीबाट एकै क्षमताको एमआरई मेसिन खरिदका क्रममा करिब सात करोड रुपैयाँ फरक परेपछि छानबिन थालेको समितिका सभापति करवीर शाहीले जानकारी दिए । प्रदेश अस्पतालले खरिद गर्न लागेको एमआरआई मेसिन सिभिल अस्पतालले खरिद गर्नेभन्दा ६ करोड ९३ लाख ६४ हजार नौ सय ५४ रुपैयाँ बढी हो । निजामती अस्पतालले पनि सोही क्षमताको एमआरई १७ लाख २२ हजार ९ सय युरो अर्थात् २२ करोड ७८ लाख एक हजार ८ सय ३८ रुपैयाँमा खरिद गर्ने निर्णय गरेर प्रक्रिया अगाडि बढाइसकेको छ । निजामती अस्पतालले गत जेठ २५ गते थ्री टेस्ला क्षमताको एमआरआई खरिदको जिम्मा इस्टवेस्ट कन्सर्न प्रालिलाई दिने निर्णय गरेको छ । इस्टवेस्ट कन्सर्नले जर्मन कम्पनी सिमेन्स कम्पनीको एमआरआई नेपालमा ल्याउने गरेको छ ।

सार्वजानिक लेखा समितिका सभापति शाहीका अनुसार समितिले अस्पतालसँग कागजात मागेर प्राविधिक टिमसहित छानबिन थालिएको छ । समितिले उपकरण खरिद सम्बन्धमा जानकारी गराउन ३ दिनको समय दिएको उनको भनाइ छ । प्रदेश अस्पतालले वैशाख २५ गते अस्पतालका लागि एमआरआई मेसिन खरिद गर्ने आशयसहितको सार्वजनिक सूचना आह्वान गरेको थियो । प्रदेश अस्पतालद्वारा आह्वान सूचनाबमोजिम एमआरआई मेसिन उपलब्ध गराउने विषयमा मेसिनको विस्तृत विवरण र लागत रकमसहित ई–बिडिङ आह्वान गरिएको थियो । उक्त मेसिन खरिदका लागि अन्य कुनै पनि कम्पनीले दरभाउसहित उपस्थिति जनाएनन् । अन्य कुनै पनि कम्पनीले एमआरआई मेसिन उपलब्ध गराउनेसहितको आवेदन नपरेपछि प्रदेश अस्पतालले इस्टवेस्ट कन्सर्न कम्पनीलाई छनोट गरेको हो । सार्वजनिक खरिद ऐनअनुसार नै एमआरआई मेसिन खरिदका लागि यी दुई अस्पतालले ‘ई–बिडिङ’ आह्वान गरेका थिए । जेठ २५ गते सिभिल अस्पतालले ई–बिडिङमार्फत ‘इस्टवेस्ट कन्सर्न प्रालि’ लाई छनोट गरिएको सूचना जारी गरिसकेको छ ।

त्यसको १६ दिनपछि असार १० गते प्रदेश अस्पतालले सोही कम्पनीलाई छनोट गरिएको सूचना जारी गरेको छ । १६ दिनको फरकमा एउटै मेसिनको मूल्यमा फरक परेपछि अनियमितताको आशंका गरिएको हो । दुवै अस्पतालमा साना र ठूला गरी तीन सयभन्दा बढी बुँदामा मेसिनको स्पेसिफिकेसन (विस्तृत विवरण) बनाएका छन् । उपकरणका लागि तयार पारेको विस्तृत विवरणमा दुवै अस्पतालका अधिकांश विवरणहरू समान छन् । प्रदेश अस्पताल सुर्खेतले ३० बुँदा र सिभिल अस्पतालले २५ वटा मुख्य विषयमा विवरण तयार गरेका छन् । जसमा अधिकांश बुँदाहरू एक अर्कामा हुबहु सारिएका छन् । केही नम्बरका बुँदाहरू तलमाथि पनि गरिएका छन् । विवरणमा सुर्खेतको एमआरआई ६४ आर एफ च्यानलको भनिएको छ भने सिभिलकोमा ३२ आरएफ च्यानल भनिएको छ । तर, उक्त बुँदामा दुवै अस्पतालमा एमआरआईको ‘बीट’ भने समान राखिएको छ । दुवै अस्पतालको बिट फ्रिक्वेन्सी ३२ हुनुपर्ने स्पेसिफिकेसनमा उल्लेख छ ।

प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काले नेपालमा कुनै पनि अस्पतालले खरिद नगरेको एमआरआई आफूहरूले खरिद गर्न लागेको बताए । उनका अनुसार सिभिल अस्पतालले खरिद गर्न लागेको मेसिन ३२ आरएफ च्यानलको मात्रै भएकाले रकम कम भएको हो । प्रदेश अस्पतालले खरिद गर्न लागेको एमआरआई मेसिन ६४ च्यानलको भएकाले बजेट पनि बढी भएको उनको भनाइ छ । ‘यस्तो मेसिन नेपालमै ल्याइएको छैन,’ उनले भने, ‘सामान्य आठ च्यानलको एमआरआईलाई त चार करोडभन्दा बढी युरो पर्छ भने ६४ च्यानलको मेसिनलाई यति मूल्य परिहाल्छ ।’

गुणस्तर पनि राम्रो भएकाले मूल्य पनि महँगो नै भएको डा. खड्काले बताए । ‘३२ च्यानलको भए हामी पनि २१/२२ करोडमा खरिद गरिहाल्छौँ,’ उनले भने, ‘संघीय सरकारले बजेट राम्रै दिएकाले हामीले कर्णालीमा राम्रो मेसिन ल्याउन लागेका हौँ कुनै अनियमितता भएको छैन । सार्वजनिक लेखा समितिलाई आफूहरूले कागजात पनि बुझाउने र आवश्यक परेको खण्डमा सम्बन्धित इन्जिनियर र कम्पनीका व्यक्तिलाई पनि मेसिनबारे प्रष्ट पार्न उपस्थित गराउने डा. खड्काले बताए । उनका अनुसार अबको ८ महिनाभित्र अस्पतालमा मेसिन आइपुग्छ । ‘मेसिनका लागि भवन बनाउन हामीले टेन्डर आह्वान गरेका थियौँ,’ उनले भने, ‘दुई पटकसम्म पनि कोही आएनन्, एक पटक आएकाहरूको कागजात मिलेन, अब साउनमा नै टेन्डर फेरि गर्छौँ ।’

प्रकाशित : असार १९, २०७९ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?