सल्यानमा ७० प्रतिशत रोपाइँ सम्पन्न

विप्लव महर्जन

सल्यान — यस वर्ष असारको तेस्रो सातासम्म सल्यानमा ७० प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

सल्यानमा ७० प्रतिशत रोपाइँ सम्पन्न

समयमै वर्षा नभएका कारण सिँचाइको समस्या हुँदा अहिलेसम्म ७० प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको बताइएको छ । जिल्लाको ७ हजार ७८ हेक्टर खेतीयोग्य जग्गामा किसानले धान खेती गर्दै आएकामा अहिले प्रतिशतका आधारमा ५ हजार हेक्टर क्षेत्रफल जग्गामा किसानले धान रोपाइँ गरिसकेको कृषि विकास कार्यालय सल्यानका प्रमुख भरतकुमार बस्नेतले बताएका छन् ।

कृषि विकास कार्यालयका अनुसार अझै २ हजार बढी हेक्टरमा रोपाइँ गर्न बाँकी नै रहेको छ । यस्तै गत वर्ष असारको दोस्रो सातामा जिल्लाभरका सबै स्थानमा रोपाइँ सम्पन्न भइसकेको थियो ।

मनसुन सुरु भएको धेरै साता बितिसक्ता पनि पर्याप्त वर्षा नभएकाले सिँचाइमा समस्या भएकै कारण सल्यानमा धान रोपाइँमा ढिलाइ भएको बताइएको छ । वर्षाकै अभावमा जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकाका केही क्षेत्रमा र साउने झरीमा सिँचाइ लाग्ने खेतमा किसानले भर्खर मात्र जोतेर सकेको कृषि विकास कार्यालयका प्रमुख बस्नेतको भनाइ छ ।

सल्यानका १० स्थानीय तह अन्तर्गत सिँचाइ भएका क्षेत्र शारदा, बाग्चौर नगरपालिका, छत्रेश्वरी, त्रिवेणी, दार्मा, कुमाख र सिद्धकुमाख गाउँपालिकामा भएका खेतमा लगभग रोपाइँ सम्पन्न भइसकेको कृषि कार्यालय सल्यानका सूचना अधिकारी रेसमबहादुर बस्नेतले बताए ।

सल्यानमा कुल ७ हजार ७८ हेक्टर क्षेत्रफल जग्गामा वार्षिक २९ हजार ७ सय ३५ मेट्रिक टन धान उत्पादन हुने गरेको र यसबाट जिल्लावासीलाई झन्डै ६ महिना खान पुग्ने उनले जानकारी गराए । पछिल्लो समयमा किसानले स्थानीय जात भन्दा बढी उत्पादन हुने हाईब्रिड धान लगाउँदै आएका छन् ।

प्रकाशित : असार १८, २०७९ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?