दुर्गन्धित बन्दै खलंगा

जुम्ला — लामो समयदेखि फोहोर नउठ्दा सदरमुकाम खलंगा दुर्गन्धित बन्दै गएको छ । फोहोरकै कारण पर्यटकीय नगरी खलंगाको सौन्दर्यता गुम्दै गएको हो ।

दुर्गन्धित बन्दै खलंगा

अहिले खलंगा बजारमा नाक थुनेर हिँडडुल गर्नुपर्ने बाध्यता रहेको स्थानीय नन्द चौलागाईले बताए । ‘उनका अनुसार सबैभन्दा बढी चन्दननाथ नगरपालिका–४,५ र ६ नम्बर वडामा फोहोर थुप्रिने गरेको छ । केही स्थानीयले सदरमुकाम खलंगाको बीचमा बग्ने जुगाढ खोलाबाट फोहोर बगाउने गरेको उनले जानकारी दिए ।

खोलामा जथाभावी फोहोर बगाइँदा अधिकांश खेतहरूमा प्लास्टिकजन्य वस्तु थुप्रिने गरेको किसानहरूको भनाइ छ । ‘अस्पतालबाट बगेर आएका सुईसमेत खेतमै आउँछन्, सदरमुकामको फोहोर व्यवस्थापन नहुँदा ढलमा मिसिएका सबै वस्तु खेतमा थुप्रिन्छन्,’ चन्दननाथ–७ का राजबहादुर महतले भने, ‘मेरो बारीबाट मात्रै ३ बोरा फोहोर निस्कियो ।’ फोहोरले माटोको उर्वराशक्ति नै ह्रास हुँदा उत्पादनमा कमी आउन थालेको उनको भनाइ छ । अहिले बसपार्क, बालमन्दिर, टुँडिखेल, जिल्ला प्रशासन कार्यालय आसपास, कालेखोली, जुम्ला विमानस्थल, भारतीबाडा, विजयनगरलगायत क्षेत्रमा फोहोर थुप्रिएको उनले बताए ।

फोहोर व्यवस्थापनमा काम गरिरहेको क्रियसन नेपालका प्रतीक बज्राचार्यले फोहोर नउठ्दा सदरमुकाम खलंगाको पर्यावरणमा पनि असर परिरहेको बताए । उनले भने, ‘जसले जलवायुमा ठूलो असर पारिरहेको छ । संस्थाले गरेको अध्ययनअनुसार चन्दननाथमा दैनिक ८० प्रतिशत घरहरूबाट फोहोर उठ्दैन ।

कर्णाली प्रदेशसभाका सांसद एवं पूर्वजलस्रोत तथा ऊर्जा विकासमन्त्री दिनबन्धु श्रेष्ठले फोहोर व्यवस्थापन नहुँदा जुम्ला घुम्न आएका पर्यटक नाक थुनेर पर्यटकीय गन्तव्यहरूमा जानुपर्ने बाध्यता भएको बताए । नगरपालिकामा ३ हजार ९ सय ९६ घर छन् । प्रतिघर कम्तीमा १ सय ७० किलो फोहोर उत्पादन हुन्छ । तर नगरपालिकाले दैनिक ६ सय ७९ किलो मात्र फोहोर उठाउँदा सदरमुकाम दुर्गन्धित बन्दै गएको हो । प्रतिमहिना २० हजार ३ सय ७९ किलो फोहोर संकलन भइरहेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित : असार १८, २०७९ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?