कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

नयाँ जनप्रतिनिधि, पुरानै योजना

तुलाराम पाण्डे

कालीकोट — संघीय र प्रदेश सरकारले नयाँ नारासहित वितरणमुखी लोकप्रिय नीति तथा कार्यक्रम सार्वजनिक गरे पनि यहाँका अधिकांश स्थानीय तहले पुरानै नीति र कार्यक्रमलाई निरन्तरता दिएको पाइएको छ । ९ वटै स्थानीय तहमा सबै नयाँ जनप्रतिनिधि आए पनि शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि, पर्यटन र सञ्चारका पुरानै योजनालाई निरन्तरता दिँदै बजेट ल्याएका हुन् ।

नयाँ जनप्रतिनिधि, पुरानै योजना

खाडाचक्र नगरपालिकाले वडालाई पहिलेजस्तै गरी बजेट विनियोजन गरेको छ । यसअघि २०/२० लाख रुपैयाँ दिँदै आएका वडाहरूमा योपल्ट ५० लाखका दरले बजेट पठाइएको छ । संघीयताको मर्मअनुसार पहिलो पटक वडालाई धेरै बजेट विनियोजन गरेको नगरप्रमुख कमलबहादुर शाहीले दाबी गरे । ‘जनताका आवश्यकता बढी छन्,’ उनले भने ‘सीमित स्रोत साधनले सबै आवश्यकता पुरा गर्न कठिन छ, त्यसैले ठूलो बजेट वडामा पठाइएको छ ।’

खाडाचक्रमा आगामी वर्षका लागि ५० करोड १२ लाख रुपैयाँको बजेट पेस गरिएको छ । पालिकाले बीउ बैंकमार्फत रैथाने बालीको संरक्षणको योजना अघि सार्दै नगरका ७ वटा गाउँलाई तरकारी, ७ गाउँलाई स्याउ र ६ गाउँलाई ओखरको पकेट क्षेत्र बनाउने गरी बजेट ल्याएको छ । त्यस्तै, पिलीलाई युद्ध पर्यटकीय क्षेत्र, एक घर एक धारा, सुधारिएको धूवाँरहित चुलोलगायत पुरानै कार्यक्रमलाई यसपालि पनि निरन्तरता दिइएको छ ।

शिक्षा सुधारमा बढी केन्द्रित भएर बजेट ल्याएको तिलागुफा नगरपालिकाले ६१ करोड ९० लाख रुपैयाँको बजेट नगर सभामा पेस गरेको छ ।

बजेट प्रस्तुत गर्दै उपप्रमुख महेन्द्रबहादुर शाहीले विद्यालयको नक्सांकन र दरबन्दी मिलान, कक्षा १ देखि ३ सम्म अंग्रेजी माध्यमको पढाइलगायतमा बजेट विनियोजन गरेका छन् । यी सबैमा अघिल्लो कार्यकालमा पनि बजेट विनियोजन गरिएको थियो । सुधारिएको चुलो वितरण, एक घर एक धारा निर्माण, जल उपयोग गुरुयोजना निर्माण, बजेडी चौर पर्यटकीय क्षेत्र विस्तारलगायत पुरानै योजना समावेश गरिएको छ ।

पलाताले ४१ करोड ६५ लाख, पचालझरनाले ४२ करोड ९० लाख र शुभकालिकाले ४० करोड १७ लाख रुपैयाँको बजेट ल्याउँदै झण्डै ४० प्रतिशत पुराना योजनालाई निरन्तरता दिएका छन् । महाबैको गाउँसभाले युवा स्वरोगार कार्यक्रममा जोड दिएको छ । कृषिको आधुनिकीकरण, सुशासनसहित अन्य पुरानै नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको छ । रास्कोट नगरपालिकाले नगर बस सञ्चालन गर्ने, होमस्टे, एक घर एक धारा, रास्कोट अस्पतालमा विशेषज्ञ सेवा प्रदान गर्नेलगायत विषय नीति तथा कार्यक्रममा समेटेको छ । ती योजना अघिल्लो वर्ष पनि समावेश भएको स्थानीय कमल शाहीले बताए । ‘नयाँ जनप्रतिनिधि आए पनि जनताले फरक अनुभूति पाउने कुनै कार्यक्रम आएनन्,’ उनले भने, ‘सबै कुरा कपिपेस्ट भएपछि हामीले कसरी समृद्धिको आशा गर्ने ?’

प्रकाशित : असार १६, २०७९ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?