कर्णालीमा पानी परीक्षण प्रयोगशाला स्थापना- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णालीमा पानी परीक्षण प्रयोगशाला स्थापना

ज्योति कटुवाल

वीरेन्द्रनगर — कर्णाली प्रदेशमा पानी प्रयोगशाला स्थापना भएको छ । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलय कर्णाली प्रदेशस्तरीय पानी परीक्षण प्रयोगशाला स्थापना गरेको छ । 

पानी परीक्षणको काम व्यवस्थित अत्याधुनिक भवन निर्माण गरी तत्काल सुरु गर्न लागिएको ऊर्जामन्त्री गशेशप्रसाद सिंहले बताए । पानी परीक्षण गर्न मोबाइल भ्यानको व्यवस्थापनसमेत गरिएको छ । मन्त्रालयले १० जिल्लमा किट बक्ससहितको पानी जाँच गर्ने उपकरण पठाएर शुद्ध पानीको मापनको काम सुरु गर्न निर्देशन दिएको छ ।

‘अहिले आवश्यक उपकरण भएकाले स्थानीयवासीले बोलाउनबित्तिकै तत्काल पानीको अवस्थाबारे पत्ता लगाउन सकिने छ,’ मन्त्री सिंहले भने, ‘कर्णालीमा दूषित पानीको अवस्था भयावह छ, अबको केही महिनामा यो समस्याको अत्य हुन्छ ।’ कर्णाली प्रदेशका १० जिल्लामा ९६ प्रतिशत नागरिकले दूषित पानी खान बाध्य भएको नेपाल नगरपालिका संघको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयले दुई करोड रुपैयाँको लगानीमा लगानीमा प्रयोगशाला राख्नकालागी भवन निर्माणको काम सुरु गरेको छ । १० जिल्लाको खानेपानी तथा सरसफाइको अवस्था एकैपटक पत्ता लगाउन र सूचना आदान प्रदान छिटो छरितो सम्प्रेषण गर्नका लागि एनवास एप्लिकेसन प्रशिक्षक तालिम सुरु गरेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : असार १५, २०७९ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्

जहाँ गए’नि जोगाउनु भाषा र वेश

पारसप्रकाश नेपाल

कोलम्बस, ओहायो — कवि-गीतकार खेम रिजाल प्राय: बाटाको कुरा गर्ने गर्छन् । हिँडेको बेलामा मात्रै होइन, बसेको बेलामा पनि । व्यक्ति विशेषको जीवनमा, अझ जातिविशेषकै सन्दर्भमा बाटोको महत्त्व कति हुन्छ भन्नेबारे यी नेपालीभाषी भुटानीलाई जति हेक्का सबैलाई नहुन पनि हुन सक्छ ।

‘भुटानबाट लखेटिएर रातारात हामीले नेपालमा आश्रय लिन पुग्नुपर्‍यो, नेपालका शरणार्थी शिविरहरूमा दुई दशक बस्दा धेरै किसिमका बाटाहरू छिचोल्नुपर्‍यो,’ उनले ओहायोको सहर सिनसिनाटीको भेटमा भनेका थिए, ‘लगभग डेढ दशकयता हामी विभिन्न विकसित देशहरूमा बाँडिएर बस्न पुगेका छौं । हेर्नुस् त, बाटोले मान्छेलाई कहाँकहाँ पुर्‍याउँदो रैछ ।’

त्यस बाटाले हालै भुटानी नेपाली लेखक–साहित्यकार र साहित्यप्रेमीहरूलाई अमेरिकी राज्य ओहायोको राजधानी कोलम्बस पुर्‍यायो । अवसर थियो साहित्य सम्मेलनको र त्यसलाई आयोजना गरेको थियो खेम नै सचिव रहेको साहित्य परिषद् भुटानले । जून २५ देखि आयोजित दुईदिने सम्मेलनमा वरिष्ठ साहित्यकारहरू गोविन्दराज भट्टराई र कृष्ण धरावासीहरूको समेत सहभागिता थियो, जसमा पुस्तक विमोचन, कार्यपत्र प्रस्तुति, साहित्यिक अन्तरक्रिया, कविता र गजल वाचन, सांगीतिक प्रस्तुति लगायत भए ।

सम्मेलनमा बाह्र कृति विमोचित भए । ती थिए- शिवलाल दाहाल, रमेश गौतम र भक्त घिमिरेद्वारा सम्पादित ‘पुनर्वासपछिका भुटानी नेपाली कविता,’ फरक क्षमताकी सर्जक माया भट्टराईको कवितासंग्रह ‘आमाको काख,’ डिल्लीराम शर्मा आचार्यको उपन्यास ‘उच्छेदन,’ यतिराज अजनबीको कवितासंग्रह ‘केही यक्ष प्रश्नहरू,’ गंगाराम लामिटारेको कथासंग्रह ‘बदलिएको कर्तव्य,’ डा. लक्ष्मीनारायण ढकालको ‘डायस्पोरामा भाषा शिक्षण,’ रमेश गौतमको कवितासंग्रह ‘चिताको आगो साँच्चै तातो हुँदो रहेछ,’ शिवलाल दाहालको कवितासंग्रह ‘जो स्मृतिमा मात्र बाँचिदिएका छन्,’ तुम्बेहाङ लिम्बूको कथासंग्रह ‘रजुवा,’ खेम खनालको कवितासंग्रह ‘क्षितिजपारिको आवाज,’ रामकृष्ण अधिकारीको खण्डकाव्य ‘लगन’ र दिल खड्काको गीति एल्बम ‘दिलाभास–२’ ।

‘पुनर्वासपछिका भुटानी नेपाली कविता’ नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको हो । यसमा १३५ जना नेपालीभाषी भुटानी सर्जकका सिर्जना संगृहीत छन्, जुन पछिल्लो एक दशकमा रचना गरिएका हुन् । ‘यसको पूर्वपीठिका र भूमिका खण्ड तयार पार्नमा लगानी भएको बौद्धिक वा प्राज्ञिक चिन्तन र अनुसन्धानात्मक पद्धतिको प्रयोगले गर्दा यो ग्रन्थ भुटानी नेपाली जातिको सबैभन्दा ठूलो, सर्वाधिक महत्त्वको अभिलेख हो,’ प्राध्यापक भट्टराई ‘की–नोट स्पिच’ मा भन्दै थिए, ‘यस ग्रन्थमा सम्पादकहरूले आफ्नो जातीय इतिहासमा खसेको पहिरो देखाएका छन्, अनेक देशमा फैलिएका भुटानी नेपालीका केन्द्र र त्यहाँबाट प्राप्त कविता जस्तो भौतिक पक्षले मात्र होइन; समग्र कविताको स्वर वा कथ्य के छ, भुटानी नेपाली कविताले कुनकुन विषय छुँदै छन् भन्नेबारे पनि मिहिन विश्लेषण गरी संख्यागत, स्थानगत र लैंगिक सहभागिताका दृष्टिले एउटा दर्पण तयार पारेका छन् ।’ भुटानी नेपालीहरू नव डायस्पोरा निर्माणको प्रक्रियामा रहेको उल्लेख गर्दै उनले थपे, ‘प्रस्तुत ग्रन्थले भुटानी नेपालीको एउटा सकारात्मक दिशाबोध गराउँछ, उनीहरू आफ्नो भाषा–संस्कृतिको रक्षार्थ नै यस्तो अनिकालमा बीउ जोगाउन लागेका छन् । अब ग्लोबल नेपाली छ, त्यसैले ग्लोबल प्रयत्नको धारणा अघि बढाउनुपर्छ । ग्लोबल शब्दको प्रयोगले मात्र एक जातिलाई समेट्न सक्छ । अब नेपालीलाई भुटानको, भारतको, नेपालको भनी भेद गर्नुपर्दैन, गर्नु हुँदैन पनि ।’

‘पुनर्वासपछिका भुटानी नेपाली कविता’ का सम्पादकमध्येका शिवलाल दाहालले ‘नहारेको र नजितेको विगतको संस्मरण गर्दै यो पुस्तक प्रकाशन गरेको’ बताए । अर्का सम्पादक रमेश गौतमले मूलधारको नेपाली साहित्यले भुटानी नेपालीका सिर्जनालाई हेला गरेको महसुस भइरहेको पृष्ठभूमिमा नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा यो पुस्तक निकाल्न पाउनु ऐतिहासिक क्षण रहेको उल्लेख गर्दै भने, ‘भुटानी नेपाली साहित्य मूलधारको नेपाली साहित्यकै एउटा भँगालो हो । यो सत्यलाई नेपालका नेपाली भाषाका स्रष्टा र समालोचकहरूले बुझिदिनुपर्छ ।’

आख्यानकार धरावासीले विभिन्न विकसित देशहरूमा पुनर्वासमा पुगिसकेका नेपालीभाषी भुटानीहरूले अब पनि आफूलाई दु:खी भुटानीकै रूपमा, शरणार्थीकै रूपमा प्रस्तुत गरिरहन नहुने धारणा राख्दै भने, ‘अमेरिकामा बसिरहेकै साथीहरू भन्नुस्, भुटानले देशनिकालामा परेका सबै नेपालीहरू घर फर्क भनी प्लेन चार्टर गरेर पठायो भने तपाईंहरू फर्किनुहुन्छ ? पक्कै फर्किनुहुन्न । अनि फेरि किन त्यही भुटान सम्झेर रोइरहनु ? अब त तपाईंहरू अमेरिकाको नागरिक भइसक्नुभयो ।’ नेपालीहरू अब विश्वनागरिक भइसकेको र नेपाली भाषा नेपालको मात्र नरहेको तर्क गर्दै उनले थपे, ‘नेपाली जाति जहाँजहाँ जुनजुन देशमा पुगेका छन्, तीती देशको पनि भाषा हो नेपाली । भारतको, अमेरिकाको, अस्ट्रेलियाको, नर्वेको पनि भाषा हो नेपाली । यो न पर्वते भाषा हो, न खस कुरा, न त खस–आर्यको मात्र । भाषा देशको हुन्न, जिब्रोको हुन्छ ।’

साहित्य परिषद्का अध्यक्ष गंगाराम लामिटारेले ‘सबैतिरका नेपाली नेपाली नै भएर बाँचौं’ भन्ने आह्वान गर्दै भने, ‘डायस्पोरामा नेपाली भाषा नै हाम्रो गौरव बढाउने विषय हो । यसलाई बचाउन सके मात्र हामी पनि बाँचिरहनेछौं ।’

प्राध्यापक अञ्जना वस्ती भट्टराईले ‘भुटानी महिला : सिर्जना र अभिलेखीकरण’ कार्यपत्रमार्फत साहित्य लेखनमा भुटानी महिलाको उपस्थिति नगण्य रहेको र तिनको सम्म अभिलेखीकरण हुन नसक्दा झन् कठिनाइ परिरहेको बारे चर्चा गरिन् । लेखक डेन्जोम साम्पाङले पुनर्वासमा पहिचानबारे कार्यपत्र प्रस्तुत गरे ।

नेपालीभाषी भुटानी समाजका उल्लेख्य व्यक्तित्वहरू मानवतावादी डा. भम्पा राई, लेखक देवीभक्त लामिटारे र मानव अधिकारवादी किशोर राईप्रति श्रद्धाञ्जली अर्पण गर्दै सुरु गरिएको सम्मेलनमा सोफिया र चन्दना अधिकारीले छन्द कविता वाचन गरेका थिए । कवयित्री मञ्जु विमली, गण्डकीपुत्र, आभास रिखाम मगर, शारदा धिताल, मदन दुलाल, सबिन धिमाल, प्रदीप गुरुङ लगायतले कविता र गजल वाचन गरेका थिए । ‘आखिर यी सबै कसका लागि गरे उनीहरूले ?’ शीर्षक कवितामा नारद पोखरेल भन्दै थिए-

नानीहरू, बाबुहरू

रात ढलिरहेको यति बेला

तिमीहरूको निदरीमा आउँदै होलान्

ताराबुट्टे सपनाहरू

तर एक छिन ननिदाओ

म तिमीहरूलाई

आज एउटा कथा सुनाउँछु

र, निदाउनुअघि एउटा गाउँखाने कथा भन्छु

उत्तर आएन भने

गाउँ दिनुपर्छ

तर याद गर

गाउँ पनि कहाँ बचेको छ र दिनलाई ?

तिमीहरूका बाबाआमाको,

हजुरबुवा–हजुरआमाको गाउँ त

उहिल्यै चट्याङले खाइसकेको छ ।

सम्मेलनमा प्रबिन दियाली, राम चौलागाईं लगायतले सांगीतिक प्रस्तुति दिएका थिए । नर्वे, अस्ट्रेलिया, क्यानाडाका भुटानी नेपाली लेखक–साहित्यकारसहित आख्यानकार जेएन दाहाल, तुम्बेहाङ लिम्बू, खेम खनाल, खिम खतिवडा, कर्ण गुरुङ लगायतको समेत उपस्थिति थियो । सम्मेलन समापनपछि घरघरतर्फ लाग्नुअघि नै सहभागीहरूलाई बालगायक अमिर गजमेरले बाटो देखाइसकेका थिए-

छाडी हिँड्यौ मोडी पाइला, जन्मेको सुन्दर देश

जहाँ रहे ’नि सुखी रहनू, जोगाउनू भाषा र वेश

सारंगी रेटी निकाल्नु धुन, भुल्नेछ तिम्रो मन

बिरानो देशमा आँधी आए ’नि, बचाउनू नेपालीपन

तस्बिरहरू : रमेश दियाली

प्रकाशित : असार १५, २०७९ १३:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×