बारेकोट गाउँपालिकाले हरेक वर्ष एमबीबीस र इन्जिनियरिङ पढाउन अनुदान दिने- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बारेकोट गाउँपालिकाले हरेक वर्ष एमबीबीस र इन्जिनियरिङ पढाउन अनुदान दिने

हरिहरसिंह राठौर

जाजरकोट — जिल्लाको विकटमध्येको बारेकोट गाउँपालिकाले हरेक वर्ष गाउँपालिकाभित्रका एक जना एमबीबीएस र एक जना इन्जिनियरिङ पढ्नका लागि साझेदारीमा आवश्यक शैक्षिक अनुदान दिने भएको छ ।

दुर्गम बारेकोटमा स्थानीय डाक्टर नहुँदा स्वास्थ्य संस्थामा डाक्टर नबस्ने समस्या छ । गाउँपालिकाभित्रका जेहेन्दार युवाहरूलाई एमबीबीएस पढ्न आर्थिक सहयोग गरेर प्रोत्साहन गरी जनशक्ति वृद्धि गर्न साझेदारीमा हरेक वर्ष एमबीबीएस पढ्ने विद्यार्थीलाई अनुदान दिने बताइएको छ । त्यस्तै इन्जिनियरिङ अर्थात् बीई पढ्न चाहने विद्यार्थीलाई पनि साझेदारीमा आवश्यक छात्रवृत्तिको व्यवस्था गरिने भएको नवनिर्वाचित अध्यक्ष वीरबहादुर गिरीले बताए ।

त्यस्तै ४० वर्षमाथिका अविवाहित पुरुषलाई एकल पुरुषसरह भत्ताको व्यवस्था, विदुर पुरुषलाई भत्ता, पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिने, गाउँपालिकामा आगामी वर्ष स्नातक तहसम्मको क्याम्पस र बहुप्राविधिक शिक्षालय स्थापना गर्ने, एक वडा एक उत्पादन, सिल्पाचौरमा होमस्टे स्थापना र सञ्चालन, आईटीपार्क स्थापना, बारेकोटमा नुन डिपोको स्थापना, रोजगार बैंकको स्थापना र सुपथ सहकारी पसल स्थापना गरिने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यसैगरी, स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने, चारवटा आधारभूत तहका विद्यालयलाई आईटीसहितको नमूना विद्यालय बनाउने, रंगशाला निर्माण गर्ने, एक घर एक धारा निर्माण गर्ने, वडामै अपाङ्ग परिचयपत्रको व्यवस्था मिलाउने, सडकको स्तरोन्नति गरी सडक नपुगेका वडा र गाउँमा सडक पुर्‍याउनेलगायत थुप्रै लोकप्रिय कार्यक्रम अघि सारिएको छ । बारेकोटको १५औं गााउँसभामा अध्यक्ष गिरीले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

बारेकोटले आगामी वर्षको बजेट साढे ४६ करोड रुपैयाँको विनियोजन गरेको छ । गाउँपालिका उपाध्यक्ष नरबहादुर गिरीले गाउँ सभामा ४६ करोड ४१ लाख ९२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । उक्त बजेट, नीति तथा कार्यक्रम गाउँ सभाले पारितसमेत गरिसकेको छ ।

प्रकाशित : असार १४, २०७९ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्

दार्चुलाका विभिन्न स्थानमा पहिरोले सडक अवरूद्ध

मनाेज बडु

दार्चुला — जिल्लाका विभिन्न स्थानमा सोमबार रातिदेखि परेको पानीका कारण पहिरो खस्दा सडक अवरुद्ध भएका छन् । खलंगा- दल्लेख, खार सडक अन्तर्गतको मालबेला क्षेत्रमा सडक माथिबाट पहिरो खस्दा सडक अवरूद्व छ । सडक अवरूद्व हुँदा काटै, मुल्ला, मैखाेली, दल्लेक लगायत नाैगाड गाउँपालिकाका विभिन्न ठाउकाे आवागमन राेकिएकाे छ । 

त्यस्तै उक्त पहिराेले सदरमुकाम खलंगा लगायत क्षेत्रकाे खानेपानी अवरुद्ध भएको छ। विगत महिनौदेखि खानेपानीको अनियमित समस्या भोगिरहेका खलंगाबासीका लागि उक्त पहिरोले थप समस्या निम्त्याएको छ।

सो क्षेत्रमा प्रदेश सरकारले सडक खन्दा बेला-बेला खलंगाको खानेपानी अवरुद्ध हुने गरेको छ।

त्यसैगरी महाकाली नगरपालिका-८ स्थित असिगडामा राति खसेकाे पहिराेले अवरूद्व महाकाली राजमार्ग ९ बजेपछि खाेलिएकाे छ । राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधनबीच बाटोमै रोकिएका थिए ।

प्रकाशित : असार १४, २०७९ ११:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×