३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

झन्डै ८ दर्जन बस्ती पहिरो जोखिममा

दैनिकजसो पानी पर्ने थालेकाले रातमा निद्रा लाग्न छाडेको स्थानीयको भनाइ
विप्लव महर्जन

सल्यान — ०७७ साउन अन्तिमतिर परेको अविरल वर्षातका कारण बाग्चौर नगरपालिका–१२ बाफुखोलाको ओखरेनी, जरेपानी, अधेरी, तीनगैरी, चौराडाँडामा पहिरोले दुई घर बगायो । पाँच दर्जनभन्दा बढी घर पहिरोको उच्च जोखिममा परे । पहिरोकै कारण ७२ घरपरिवार विस्थापित भए । उनीहरू एक साता स्थानीय विद्यालयमा आश्रय लिएर बसे । सम्बन्धित निकायले पहिरो नियन्त्रणसम्बन्धी खासै काम गरेन । अहिले पनि उक्त क्षेत्रका स्थानीय जोखिम उठाई बसिरहेका छन् । वर्षात सुरु हुनेबित्तिकै स्थानीय त्रसित हुने गर्छन् ।

यस्तै, अविरल वर्षातले गर्दा २०७७ साउन ३ गते छत्रेश्वरी गाउँपालिका–१ चामीबस्तीमा पहिरो गयो । पहिरोले दर्जन बढी घर जोखिममा परे । उनीहरू सातासम्म विस्थापित भएर आफन्तकहाँ बसे । बस्ती पहिरोको उच्च जोखिममा परे पनि सम्बन्धित निकाय र पालिकाले सामान्य राहत हुने भन्दै तारजाली लगाउने भन्दा अन्य काम गरेको देखिएन । अहिले स्थानीय जोखिम उठाई बस्दै आएका छन् । धेरै वर्षात भएमा अझै स्थानीय सुरक्षित स्थानमा जाने गर्छन् ।

तीन नगरपालिका र सात गाउँपालिका गरी १० स्थानीय तह रहेको सल्यानमा ९० बस्ती (झन्डै आठ दर्जन) पहिरोको जोखिममा परेका छन् । जसका कारण दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन् । ९० मध्ये ३५ उच्च जोखिममा छन् भने ५५ मध्यममा छन् ।

भूसंरक्षण कार्यालय सुर्खेतको तथ्यांकअनुसार जिल्लाको १० स्थानीय तहमध्ये बन्गाड कुपिन्डे नगरपालिकाको निगालचुला, माझकाँडा, भदाले, बाग्चौर नगरपालिका–१२ बाफुखोला, कालीमाटी गाउँपालिकाको काप्रेचौर, काल्चे, रामपुर, लक्ष्मीपुर जोखिममा छन् । त्यस्तै, छत्रेश्वरी गाउँपालिकाको छाया क्षेत्र, झिम्पे, चामी, गुराँसे, खर्सुबास, कपुरकोट गाउँपालिकाको गर्पा, खुमखानी, धनबाङ, गोठीवन, कपुरकोट बजार, कुमाखको स्विकोट, दार्मा गाउँपालिकाको दार्माकोट पहिरोको जोखिममा भएको कार्यालयको तथ्यांक छ । पहिरोकै कारण ८/१० वर्षको अवधिमा दुई दर्जन बढीले ज्यान गुमाइसकेका छन् । सम्बन्धित निकायले पहिरो नियन्त्रणको काम गर्दै आए पनि पूर्णरूपमा नियन्त्रणमा आउन नसक्दा तीन दर्जनभन्दा बढीले बस्ती छाडेर अन्यत्र बसाइँ सराइ गरेका छन् । पहिरो नियन्त्रणमा सम्बन्धित निकायले खासै चासो नदिएको र काम पनि प्रभावकारी नभएकाले धेरै स्थानीय अहिले पनि जोखिम उठाउन बाध्य छन् । पछिल्लो समयमा स्थानीय तहले डोजर प्रयोग गरी अव्यवस्थित रूपमा जथाभावी खनेको सडकका कारण सल्यानका धेरै बस्ती पहिरोको जोखिममा परेका स्थानीयको गुनासो छ ।

गतवर्ष अविरल वर्षातका कारण घरको तल र माथिबाट पहिरो गएको र अहिले पनि त्यत्तिकै रहेको छत्रेश्वरी गाउँपालिका–१ चामीका खिमबहादुर केसीले बताएका छन् । पहिरोका कारण दुई दर्जन परिवार प्रभावित रहेका उनले जानकारी गराए । उनका अनुसार वर्षात लाग्नेबित्तिकै सबै डराइडराइ घरमा बस्नुपर्ने बाध्यता छ । धेरै वर्षात भएमा घर छाडेर सुरक्षित स्थानमा जानुपर्ने हुन्छ । स्थानीय तहले डोजर लगाई सडक खनेका कारण धेरै स्थानमा पहिरो गएको उनको भनाइ छ ।

पहिरोले बाफुखोलाका ओखरेनी, जरेपानी, अधेरी, तीनगैरी, चौराडाँडा सयभन्दा बढी प्रभावित भएका बाग्चौर नगरपालिका–१२ बाफुखोलाका स्थानीय तथा पूर्ववडाध्यक्ष दीपक ओलीले बताए । पहिरोले अहिले बस्ती जोखिममा भए पनि सम्बन्धित निकायले खासै सहयोग नगरेको उनले जानकारी गराए । ‘बस्तीवासी अहिले पनि जोखिम उठाई बस्दै आएका छन्,’ उनले भने । कपुरकोट बजार नजिकैको खारा पहिरो नियन्त्रणका लागि सरोकारवाला निकायले विभिन्न काम गर्दै आएको छ । तर नियन्त्रणमा आउन नसकी वर्षातमा निरन्तर कालो लेदो माटो बग्ने क्रम नरोकिँदा बजार पहिरोको उच्च जोखिममा परेको छ । त्यसबाट सयभन्दा बढी परिवार प्रभावित भएको स्थानीय रूपक बुढाले बताए । पहिरो नियन्त्रणका लागि सम्बन्धित निकायले लाखौं रकम खर्चेर लगाएको तारजाली, पर्खाल बगाएको उनले जानकारी गराए । ‘पहिरोका कारण अहिलेसम्म दर्जन घर, घुम्ती भत्किसकेका छन् । दर्जनबढी चर्किएका छन् । अन्यत्र जाने ठाउँ नहुँदा चर्किएको घरमा बस्दै आएका छौं,’ उनले भने, ‘धेरै वर्षात भएमा पहिरोले घर भत्किए च्यापिने खतरा बढी छ ।’ दैनिकजसो पानी पर्ने थालेकाले रातमा निद्रा लाग्न छाडेको उनको भनाइ छ ।

कालीमाटी गाउँपालिका पूरै चुरे क्षेत्रमा पर्ने भएकाले बस्ती त्यस्तै पनि पहिरोको उच्च जोखिममा छ । पालिकाले सडक खनेपछि झनै जोखिममा परेको माओवादी केन्द्रका पालिका इन्चार्ज पुरुषोत्तम भट्टराईले बताएका छन् । उनले पालिकाले पहिरो नियन्त्रणसम्बन्धी तारजाली वितरण गर्नेभन्दा अन्य खासै काम गरेको नदेखिएको उनले सुनाए ।

भूसंरक्षण कार्यालय सुर्खेतका सल्यान इन्चार्ज रहेका दीपेश केसीले ९० स्थानका १ सय २६ हेक्टर क्षेत्रफलमा पहिरो गएको बताएका छन् । पछिल्नो समयमा स्थानीय तहले खनेका सडकका कारण धेरै बस्ती पहिरोको जोखिममा परेको उनले जानकारी गराए । ‘यो त गुगलबाट देखिएको मात्र हो । साना–साना नदेखिने धेरै छन् । कार्यालयमा पर्याप्त मात्रामा प्राविधिक नहुँदा गहिरो रूपमा अध्ययन गर्न पाइएको छैन,’ उनले भने, ‘संघीयतापश्चात् सरकारले भूसंरक्षण कार्यालय जिल्ला जिल्लाबाट हटाएर प्रदेशमा सीमित गरेपछि पहिरो नियन्त्रणसम्बन्धी काम गर्न कठिनाइ भएको छ ।’

कार्यालयले सल्यानमा मात्र पहिरो नियन्त्रणका लागि प्रत्येक वर्ष १ करोड ५० लाख खर्च गरेर पहिरो नियन्त्रणसम्बन्धी काम गर्दै आएको छ । तर उक्त बजेट पर्याप्त नभएको उनको दाबी छ । तारजाली, वृक्षरोपण, पर्खाल लगाउँदा सल्यानका धेरै पुराना भनेर चिनिने दर्जन स्थानको पहिरो भने नियन्त्रणमा आएको उनको भनाइ छ । पहिरोका कारण सबैभन्दा बढी प्रभावित भनेको चुरै क्षेत्रमा पर्ने कालीमाटी गाउँपालिका रहेको उनले जानकारी गराए । अव्यवस्थित रूपमा खनेका सडकका कारण बस्ती जोखिममा परे पनि जिल्लाका पालिकाले पहिरो नियन्त्रणका लागि भूसंरक्षण कार्यालय सुर्खेतसँग सहकार्य नगरेको उनको भनाइ छ ।

विपद् व्यवस्थापनका अध्यक्षसमेत रहेका जिल्ला प्रशासन कार्यालय सल्यानका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले स्थानीय तहले अध्ययन नै नगरी जथाभावी डोजर प्रयोग गरेर सडक खन्दा धेरै बस्ती जोखिममा परेको बताएका छन् । पालिकाहरूले बाढीपहिरो तथा विपद् न्यूनीकरणसम्बन्धी खासै ध्यान नदिएको उनले जानकारी गराए । उनका अनुसार बाढीपहिरोकै कारण गत वर्ष मात्रै दुई जनाको मृत्यु, एक घाइते, ७३ घर क्षति र १ सय ४८ घर जोखिममा परेका थिए । प्रशासन कार्यालयले पहिरो प्रभावितलाई उद्धार गर्ने, घाइते भएकालाई उपचारका लागि अस्पताल पठाउने, विस्थापितलाई व्यवस्थापन गर्नेलगायत सचेतनामूलक काम भइरहेको उनको भनाइ छ ।

प्रकाशित : असार १४, २०७९ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?