स्याउ खेतीमा लागे जिसस पूर्वउपप्रमुख- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्याउ खेतीमा लागे जिसस पूर्वउपप्रमुख

‘राजनीतिज्ञ बनेर गरेको भाषणले भोको पेट भरिँदैन, पेट भर्न त इलम गर्नुपर्छ’
डीबी बुढा

जुम्ला — समन्वय समितिको पदावधि सकिएलगत्तै जिल्ला समन्वय समिति (जिसस) जुम्लाका पूर्वउपप्रमुख कार्मा बुढा स्याउ खेतीमा लागेका छन् । उनले चन्दननाथ नगरपालिका–१ देउतीमाडीमा पहिलोपटक ५६० बिरुवा रोपेर फुजी स्याउको बगैंचा स्थापना गरेका हुन् ।

जेठ २९ गते बिदाइ भएका उपप्रमुख बुढाले असार पहिलो सातामै स्याउको बगैंचा स्थापना गरे । उनको बगैंचा २ हजार ५ सय वर्गमिटर जग्गामा छ । २०७४ को स्थानीय तहको निर्वाचनबाट पातारासी ६ बाट कांग्रेसको टिकट लिएर खुला सदस्यमा जितेका बुढा जिसस जुम्लाको उपप्रमुख बनेका थिए । सार्वजनिक पद धारण गरेर कृषि क्षेत्रमा लागेको जिल्लामा यो पहिलो उदाहरण हो । उनले स्याउसँगै ओखर खेतीलाई पनि सँगसँगै जोडेका छन् । पहिलो चरणमा डेढ सय ओखरका बिरुवा रोपेका हुन् । हरेक बस्तीमा स्याउको राम्रो सम्भावना छ । स्याउको गुणस्तर फल फलाएर बजारसम्म लैजानु अहिलेको आवश्यकता हो, उनले भने, ‘राजनीतिलाई स्याउ खेतीसँग जोडेर अघि बढाउने योजनामा छु । बगैंचामा राम्रो स्याउ फलाएर बजारसम्म लैजाने चाहना छ । पाँच वर्षमा स्याउबाट समृद्धि हासिल गर्ने लक्ष्य छ ।’

अहिले उनी बिहानदेखि बेलुकासम्मको समय स्याउको रेखदेख, खनजोत, मलखाद्य व्यवस्थापन र सिँचाइमा लगाउने गरेका छन् । राजनीति कहिलेकाहीँ मात्र गर्ने विषय हो । सधैंभरि राजनीतिका लागि दौडधुप गर्नुपर्दैन, उनले भने, ‘हरेक राजनीतिज्ञ कुशल किसान बन्न सक्छन् भन्ने उदाहरण बनाउन चाहन्छु ।’

राजनीति गर्दागर्दै बचेको समयलाई सदुपयोग गर्न र आर्थिक सम्पन्नता हासिल गर्नु अहिलेको अपरिहार्यता भएको बताउने उनी कृषि क्षेत्रको विकास बिना आर्थिक, सामाजिक र राजनीतिक विकास हुन नसक्ने बताउँछन् । ‘राजनीति शुद्ध सेवा हो, जीविकोपार्जनको माध्यम हुन सक्दैन,’ बुढाले भने, ‘अबको राजनीतिज्ञको निसाना स्याउ, सिमी, ओखर, मार्सी धान संरक्षणमा केन्द्रित हुनुपर्छ । सुरुवात आफैंबाट गर्न जरुरी छ ।’

२०४६ सालदेखि विद्यार्थी राजनीतिबाट कांग्रेसमा लागेका बुढा हाल कांग्रेस जुम्लाको उपसभापति हुन् । अघिल्लो कार्यकाल उनी सचिव भएर चलाइसकेका छन् । अहिले राजनीति गर्नेहरू परनिर्भर छन् । राजनीतिमा लागेकाहरू शिक्षक, कर्मचारीको सहयोग र योजना ल्याउने दिने काममै जीविकोपार्जन गरिरहेका छन् भन्ने भ्रम सर्वत्र छ । उनले भने, ‘म राजनीति गर्नेहरू एक कुशल किसान बन्न सक्छन् भन्ने सन्देश फैलाउने सोचमा छु ।’

कृषि क्षेत्र अँगालेर आत्मनिर्भर हुँदा राजनीतिमा सान र मान दुवै प्राप्त हुने उनको बुझाइ छ । ‘मानवको जन्म सिर्जनशील कामका लागि भएको हो । सिर्जनशीलताबिनाको जीवन व्यर्थ छ,’ उनले भने, ‘किसानसँगै जोडिएर गरिएको राजनीति नै फलिफाप हुने निष्कर्षमा पुगेको छु ।’ पहिले घरदेखि नयाँ कामको सुरुवात गर्नुपर्ने मान्यता राख्ने बुढाले देश र समाज विकासका लागि भए पनि व्यवसायमा संलग्न हुनुपर्ने बताउँछन् ।

जिससको उपप्रमुख हुँदै गर्दा उनले जुम्लाको समग्र कृषि क्षेत्रको अध्ययन गरिरहेका थिए । आर्थिक समृद्धिको आधार नै स्याउ खेतीमा देखेका उनले कार्यकाल सकिनेबित्तिकै स्याउ खेती रोजाइमा पारे । अहिले परिवारमा स्याउ खेतीका बारेमा छलफल चल्छ । उनले रोजेको स्याउ खेतीप्रति परिवारको पूर्ण साथ छ । आगामी वर्षदेखि स्याउ फल्छ । पहिलो वर्ष २८ क्विन्टल स्याउ उत्पादन गर्ने लक्ष्य राखेका बुढाले पाँच वर्षमा १ हजार १ सय २० क्विन्टल स्याउ फलाउने योजनामा छन् । उति बेलासम्म नेपालका ठूला सहरमा उनको स्याउले राम्रो बजार लिने देखिन्छ ।

अहिले फुजी स्याउको प्रतिकेजी २ सय रुपैयाँ जुम्लामै पर्छ । किसानसँग एकआपसमा परामर्श आदानप्रदान गर्ने, स्याउको मूल्य निर्धारणदेखि स्याउ किसानले भोगेका समस्या समाधानमा अगुवाइ गर्ने उनी बताउँछन् । उनको पुर्ख्यौली घर पातारासी ७ बातामा हो । अहिले चन्दननाथ–५ मा बसोबास गर्छन् । चन्दननाथ–१ मा उनले बगैंचा निर्माण गरेका हुन् । ‘पहिलो वर्ष स्याउको अध्ययन सूक्ष्म हिसाबले गर्दै छु । अध्ययन अनुसन्धान सँगसँगै अघि बढाएर स्याउ खेतीको विस्तार गर्ने सोचमा छु,’ उनले भने । बगैंचालाई अनुसन्धान केन्द्र जस्तो बनाएर देशैभरिका राजनीतिज्ञलाई एकपटक निम्तो दिने तयारी गरिरहेका छन् । आगामी वर्ष एक बिरुवाबाट ५ केजी स्याउ फलाएर पाँच वर्षमा पन्ध्र केजी स्याउ फलाउने उनले बताए । पटकपटक स्याउ खेतीका बारेमा बागवानी अनुसन्धान केन्द्र राजीकोटका वैज्ञानिक र कृषि प्राविधिकसँग नियमित परामर्श चलिरहेको छ ।

बगैंचाभित्र सिमी र केराउ जस्तो कोसे बालीको परिकल्पना गरिएको छ । ‘अधिकांश समय स्याउ व्यवसायमै खर्चन्छु,’ उनले भने, ‘पार्टीभित्र पनि कृषि क्षेत्रलाई प्राथमिकतामा राख्न छलफल चलाउनेछु । कांग्रेसका हरेक नेता–कार्यकर्ता कृषि क्षेत्रसँग जोडिने गरी लाग्न पहल थाल्नेछु ।’ जुम्लामा फुजी स्याउका ३७ बगैंचा छन् । एक बगैंचामा न्यूनतम ५ सयदेखि अधिकतम ३० हजार बिरुवा रोपिएका छन् । ‘राजनीतिज्ञ बनेर गरेको भाषणले भोको पेट भरिँदैन । भोको पेट भर्न त इलम गर्नुपर्छ,’ उनले भने, ‘जबसम्म आत्मनिर्भर भइँदैन । तबसम्म जनताको सेवा गर्न सकिँदैन ।’ उनको जोड व्यवसायमुखी कृषिमा छ ।

प्रकाशित : असार १४, २०७९ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्

सुनौलो हजार दिनका आमालाई १८ किलो मार्सी चामल

डीबी बुढा

जुम्ला — जुम्लाको पातारासी गाउँपालिकाले सुनौलो हजार दिनका आमा र बच्चाको पोषणस्तरमा सुधार ल्याउनका लागि प्रतिआमा १८ केजी मार्सी चामल उपलब्ध गराएको छ । 

पातारासी-७ का ५९ जना आमालाई १८ किलोका दरले १ हजार ६२ किलो मार्सी चामल दिइएको हो । सिमी २ किलो, अन्डा १ क्यारेट, खाने तेल १ प्याकेट, आयोडिनयुक्त नुन १ किलो, ब्रस र मन्जन १ सेट र नुहाउने-लुगा धुने साबुन एक-एक गोटा प्रदान गरिएको हो । प्रतिआमा र बच्चालाई एक-एक दर्जन केरासमेत दिइएको महिला बालबालिका शाखा पातारासीकी प्रमुख भगवती गिरीले जानकारी दिइन् ।

उनका अनुसार पोषिलो खानेकुरा प्रदान गर्नुअघि बहुक्षेत्रीय पोषण नाङ्लो प्रदर्शनसमेत गरिएको थियो । ‘यहाँका अधिकांश सुनौलो हजार दिनभित्रका आमा र बच्चा पोषिलो खानेकुरा नपाउँदा अस्वस्थ बनिरहेको अवस्था छ,’ गिरीले भनिन्,‘पोषिलो खानेकुरा खानका लागि बानी पार्न र कुपोषण हुन नदिनका लागि पोषिलो खानेकुरा प्रदान गरिएको हो ।’

पहिलो पटक सुनौलो हजार दिनको आमाको घरमै पालिका अध्यक्ष पूर्णसिंह बोहोरा, उपाध्यक्ष जुनमाया रोकाया, वडाध्यक्ष वीरबहादुर बुढा, वडा सदस्य र स्वास्थ्यकर्मीहरू पुगेर पोषिलो खानेकुरासहित स्वास्थ्य परामर्श दिएर फर्किँदा स्थानीय उत्साहित थिए ।

जुम्लामै उत्पादन हुने अन्नबाली मिसाएर बनाएको लिटो जाउलोको प्रयोग गर्न समेत आग्रह गरिएको छ । स्थानीयस्तरमा उत्पादन हुने गेडागुडी, मार्सी चामल, माछामासु, अन्डाजस्ता पोषिलो खानेकुराको प्रयोग गर्न अत्यावश्यक देखिन्छ । जबसम्म महिला सचेत हुँदैनन् तबसम्म कुपोषणको चक्र तोड्न सकिँदैन ।

पातारासी-७ मा सुनौलो हजार दिनका आमालाई पोषिलो खानेकुरा प्रदान गरिँदै : डीबी/कान्तिपुर

प्रकाशित : असार १३, २०७९ १०:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×