दाङ–सल्यान–सुर्खेत सडकखण्डको दूरावस्था

ठेकेदार कम्पनीको बहानाबाजी, काम नसकिँदै भत्कियो कालोपत्र

कालोपत्रेको काम कछुवा गतीमा 
विप्लव महर्जन

सल्यान — मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने तुलसिपुर-सल्यान-सुर्खेत कालोपत्रे सडक अन्तर्गत सल्यानको कालीमाटी क्षेत्रमा ठेकेदार कम्पनीले काम सम्पन्न नगर्दै कालोपत्रे ठाउँठाउँमा भत्किएको छ । गुणस्तरीय काम नहुँदा कालोपत्रे विभिन्न ठाउँमा उक्किएको छ।

ठेकेदार कम्पनीको बहानाबाजी, काम नसकिँदै भत्कियो कालोपत्र

२०७४ असार २० गते सुरु भएर २०७८ असार २० मा सम्पन्न गर्नुपर्नेमा अहिलेसम्म ठेकेदार कम्पनीले दाङ र सल्यानको सिमाना पर्ने एक्लेवरबाट कालिमाटी गाउँपालिकाको केन्द्र पुतलीबजारसम्म १० किलोमिटर कालोपत्रे सम्पन्न गरेको थियो । २७ किलोमिटर सडक सम्पन्न गर्नुपर्नेमा अहिले पनि १७ किलोमिटर कालोपत्रे गर्न बाँकी रहेको छ । सम्बन्धित निकायले एकपटक म्याद थप गरेर पुनः अर्कोपटक थप गर्ने तयारी गरेको छ । तर, ठेकेदार कम्पनीको कालोपत्रेको काम भने कछुवा गतीमा छ ।

सडक डिभिजन कार्यालय दाङले उक्त सडक कालोपत्रे गर्न ४४ करोड विनियोजन गरेको थियो । कार्यालयले गरेको टेण्डर अनुसार कालिका जेभी कन्ट्रक्सनले कामको जिम्मेवारी पाएको थियो । एकातिर ठेकेदार कम्पनीले गरेको कालोपत्रे उप्किएको र अर्कोतिर अझै १७ किलोमिटरभन्दा बढी कालोपत्रेको काम गर्न बाँकी रहेकाले वर्षातको समयमा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गर्दा स्थानीयले सास्ती भोग्दै आएका छन् ।

मदनभण्डारी राजमार्ग अन्तर्गत ठेकदार कम्पनीले दाङको क्षेत्रमा कालोपत्रेको काम राम्रो गरेपनि सल्यानको क्षेत्रमा राम्रो काम नगरेको कालिमाटी गाउँपालिकाका माओवादी केन्द्रका पालिका ईन्चार्ज पुरुषोत्तम भटराईले बताए । सल्यानकै एक्लेवर क्षेत्रमा सबैभन्दा बढी कालोपत्रे उप्किएको उनले जानकारी गराए । ‘सडक डिभिजन कार्यालयका ईन्जिनियरले नियमित अनुगमन गर्दैनन् । जिम्मेवार रहेको स्थानीयतहले ताकेता गर्दैन । कसरी हुन्छ राम्रो काम ?’ उनले भने, ‘हामीले ताकेता गरिरहेका छौं । तर, हाम्रो कुरा ठेकेदार कम्पनीले सुन्दैन ।’

जिम्मेवार निकायको गैरजिम्मेवारीकै कारण ठेकेदार कम्पनीले लापरबाही गरेको र त्यसका कारण सर्वसाधारणले धेरै कष्ट उठाउँदै आएको सुरेशकुमार गाहामगरले बताए । ठुलो वर्षा भएमा अझै धेरै स्थानमा गरेको पिच बगाउने देखिएको उनले दाबी गरे । उनले सम्बन्धित निकाय समक्ष गुणस्तरमापनमा समेत ध्यान दिन आग्रह गरेका छन् ।

‘कालोपत्रे भएमा गाडीमा एक घण्टामा सुर्खेत जान सकिन्थ्यो । पिचको काम अधुरै रहेको छ । जसका कारण सुर्खेत जाँदा कालीमाटी गाउँपालिका ३ सिमलकुनादेखि सल्यान–सुर्खेतको सीमामा पर्ने काल्चेडा“डासम्म वर्षातको बेला सबैभन्दा बढी समस्या हुने गरेको छ,’ उनले भने, ‘नियमित गाडी नचल्दा हिँडेर आउजाउ गर्नुपर्ने बाध्यता छ ।’ ठेकेदार कम्पनीले विभिन्न बहाना बनाएर काम प्रति अटेर गरेको र काम नगरी सामान थन्काई राखेको उनको भनाइ थियो ।

कालीमाटी गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले ठेकेदार कम्पनीलाई बारम्बार ताकेता गर्दै आए पनि कामलाई निरन्तरता नदिएको बताएका छन् । कालिमाटी गाउँपालिकाको केन्द्र पुतलीबजार क्षेत्रमा पनि ठाउँठाउँमा छाड्दै कालोपत्रे गरेको र त्यो पनि खासै गतिलो नभएको उनले बताए ।

सडक डिभिजन कार्यालय दाङका साइट ईन्चार्ज ईन्जिनियर अमिर सुवेदीले ठेकेदार कम्पनीले चार वर्षको अवधीमा २७ किलोमिटर सडक कालोपत्रे गर्नुपर्नेमा झन्डै १० किलोमिटर मात्र सम्पन्न गरेको बताए । कालोपत्रे उप्किएको स्थानमा कम्पनीलाई बनाउन ताकेता गरेको उनले जानकारी गराए ।

‘२०७४ असारदेखि सुरु भएको योजनाको २०७८ असारमा म्याद सकिएपछि कार्यालयले गत वर्ष पुस ६ गतेसम्म छ महिनाको लागि म्याद थप गरेको थियो । ठेकेदार कम्पनीले खासै काम गरेको देखिएन । म्याद थप नगर्दा काम गर्ने सम्भावना कम देखिएकाले अहिले फेरी थप गर्ने तयारी छ,’ उनले भने ।

ठेकेदार कम्पनीलाई काम गर्न बारम्बार ताकेता गरिरहेको र अहिलेसम्म १० पटक पत्र काटिसके पनि विभिन्न बहाना बनाउँदै काम गर्न नमानेको उनले बताए । उनका अनुसार दाङदेखि नेपालगन्ज हुँदै सुर्खेत जानु पर्दा २ सय ५० किलोमिटर पर्ने र तुलसिपुर–कालीमाटी हुँदै सुर्खेत जाँदा झन्डै १ सय ५० किमी मात्र पर्ने भएकाले धेरै छोटो पर्ने ह“ुदा सरकारले उक्त सडक एक दशक पहिलेदेखि कालोपत्रे गर्न सुरु गरेको थियो । तुलसिपुरदेखि सुर्खेतको बोटेचौरसम्म चार प्याकेज बनाएर झन्डै एक अर्ब बजेट विनियोजन गरेर सरकारले ठेकेदार कम्पनीमार्फत काम गराएको थियो ।

कालिका जेभी कन्ट्रक्सनले नै सुरुदेखि उक्त सडक कालोपत्रेको काम पाएको थियो । तीन प्याकेजमा काम सम्पन्न भइसकेको र अहिले चौथो प्याकेज अन्तर्गत सल्यान खण्डमा काम काम बाँकी रहेको छ । कार्यालयले ठेकेदार कम्पनीलाई जरिवाना तिराउने भन्दा अन्य कुनै कारबाही गर्न नसक्ने उनको भनाइ थियो ।

कालिका जेभि कन्ट्रक्सनका ठेकेदार ठाकुर कँडेलले लगातार दुई वर्ष कोरोनाका कारण काम गर्न नसकेको र पछिल्नो समयमा शारदा नदिबाट गिटी बालुवा उत्खनन गर्न नदिएको र सम्बन्धित निकायले क्रसर संचालन बन्द गराएका कारण कच्चा पदार्थको अभावमा काम गर्न नसकेको बताएका छन् । अत्यधिक वर्षातका कारण पहिरो जाँदा कालोपत्रे केही स्थानमा उप्किएको र उक्त स्थानमा पुनः काम गर्ने जानकारी दिए ।

प्रकाशित : असार १३, २०७९ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?