कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एक गाग्री पानीका लागि दुई घण्टा पैदल

विप्लव महर्जन

सल्यान — सल्यानको पैयाकाँडा-कोछट्टे सडक निर्माण गर्ने क्रममा डोजरले खानेपानीको पाइप काटेर तहसनहस बनाएपछि २ घण्टा हिँडेर पुराना कुवा‚ जरुवा धाउन स्थानीय बाध्य भएका छन् ।

एक गाग्री पानीका लागि दुई घण्टा पैदल

सडक निर्माण गर्ने क्रममा डोजरले गत फागुनको अन्तिमतिर खानेपानी योजनाका पाइप काटेर तहसनहस बनाएपछि स्थानीयवासीहरू घर नजिकैको धाराको पानी खान वञ्चित भएका हुन् ।

तहसनहस भएको पाइप जडान गर्ने सम्बन्धमा पालिकाले बेवास्ता गरेका कारण बस्तीका २२ घरपरिवार प्रभावित बनेका हुन् । उनीहरू एक गाग्री पानीका लागि दुई घण्टा हिँडेर पुराना कुवा, जरुवा धाउन बाध्य छन् । लामो समय हिँडनु पर्दा स्थानीयलाई सास्ती भएको छ ।

पानीकै समस्याका कारण समयमै खाना खान नपाएर बालबालिकाहरू नियमित विद्यालय जान सकेका छैनन् भने सरसफाईमा समेत कठिनाइँ हुँदा उनीहरू फोहर कपडा लगाएर विद्यालय जान बाध्य छन् । पानीका लागि बालबालिकाहरू समेत श्रम गर्न बाध्य छन् ।

डोजरले काटेर तहसनहस बनाएको पाइप पुनः जडानका लागि पालिका र खानेपानी कार्यालयमा बारम्बार आग्रह गर्दै आएको र निवेदन दिए पनि सम्बन्धित निकायबाट अहिलेसम्म जडान हुन नसक्दा पानीका लागि स्थानीयले धेरै कष्ट उठाउनु परेको स्थानीय थम्मनबहादुर घर्तीले बताए । घर नजिकैको धारामा पानी भर्न बानी परेका स्थानीय अझ बढी समस्यामा परेको उनले बताए । उनका अनुसार आब २०४५ सालमा एडीबीको एक करोड रुपैयाँभन्दा बढी अनुदानमा बनेको खानेपानी योजना अहिले जीर्ण भएपछि धारामा नियमित पानी नआउने गरे पनि स्थानीयले घरपरिवार संख्याअनुसार बाँडेर पिउने गरेका थिए ।

अहिले बढ्दो गर्मीका कारण जरुवामा समेत पानी सुक्दै गएकाले खोलाको प्रदूषित पानी पिउनुपरेको ३५ वर्षीय शोभा डाँगीले बताइन् ।

निर्वाचनको समय भएकाले स्थानीयको मागअनुसार समयमै योजना मर्मत गर्न नसकिएको कालिमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर खत्रीले बताए । तहसनहस भएका पाइप फेर्नका लागि खानेपानी कार्यालयसँग सहकार्य भइरहेको समेत उनले दाबी गरे ।

जिल्ला खानेपानी कार्यालय सल्यानका प्रमुख पदमराज देवकोटाले स्थानीयले माग गरेपछि उक्त पुरानो योजनाको जाँच गरेर प्राविधिक टोली फर्किसकेको र पाइप खरिदका लागि तयारी भइरहेको बताए ।

प्रकाशित : असार १२, २०७९ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?