जाजरकोटको जंगलमा भेटियो महिलाको शव

श्रीमान् प्रहरी नियन्त्रणमा
हरिहरसिंह राठौर

जाजरकोट — नलगाड नगरपालिकामा एक महिलाको शव जंगलमा फेला परेको छ । नलगाड नगरपालिका १ की ४२ वर्षीया भगवती शाही घर नजिकैको जंगलमा मृत अवस्थामा फेला परेकी हुन् ।

शव सडेको र गन्हाउन थालेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए । मृतकको घर र शव फेला परेको स्थान एक सय मिटरको दुरीमा रहेको छ । शवको प्रकृति हेर्दा ती महिलाको मृत्यु/हत्या एक हप्ताअघि नै भएको प्रहरीको अनुमान छ ।

'हामीले अनुसन्धान गरिरहेका छौं, 'जिल्ला प्रहरी प्रमुख जिल्ला प्रहरी प्रमुख सन्तोष निरौलाले भने, ‘अनुसन्धानकै सिलसिलामा मृतकका पति लेकबहादुर नेपालीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम गरिरहेका छौं । शव जिल्ला अस्पताल ल्याएर पोस्टमार्टम गर्दैछौं । हामीलाई ती महिलाको हत्या नै भएको आशंका छ । अनुसन्धान गरिरहेका छौं । सत्यतथ्य केही दिनमै हामी सार्वजनिक गर्छौं ।’

शव गन्हाउने अवस्थासम्म पुग्दा पनि कुनै खोजतलास नगर्नु र प्रहरीलाई पनि खबर नगर्नुले हत्यामा पतिकै संलग्नताको आशंका गरिएको छ । माइती पक्षले पनि पतिले नै हत्या गरेको हुन सक्ने आशंका गरेका छन् । अहिलेसम्म जाहेरी भने नपरेको प्रहरी नायब उपरीक्षक निरौलाले बताए । अन्तरजातिय विवाह गरेकी मृतकका एक छोरा र एक छोरी छन् ।

प्रकाशित : असार १२, २०७९ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?