कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

व्यावसायिक भैंसीपालनको लहर

ज्योति कटुवाल

सुर्खेत — लेकबेसी नगरपालिका–९ कालतडीका ४३ वर्षीय सन्तोष खाम्चाले २०५८ सालदेखि व्यावसायिक भैंसीपालन सुरु गरे । ३ वटा भैंसीबाट व्यवसाय सुरु गरेका उनको गोठमा अहिले १९ भैंसी छन् । ‘राम्रो आम्दानी हुन थालेकाले छिट्टै १० वटा भैंसी थप्ने तयारी छ,’ उनले भने, ‘महिनामा १ लाखको दूध मात्र बेच्छु, भैंसीसँगै बाख्रा र बंगुरपालन पनि भइरहेको छ ।

व्यावसायिक भैंसीपालनको लहर

खाम्चाले साढे २ वर्ष वीरेन्द्रनगरमा चमेना गृह सञ्चालन गरे । तर बुबा बिरामी भएपछि घर फर्केका उनलाई फेरि सहर जान मन लागेन । गाउँमा कुखुरा पालन गरेका उनले त्यो व्यवसायबाट कमाउन नसकेपछि गंगटे बजारमा कपडा पसल खोले । तर त्यसले पनि आम्दनी दिएन ।

‘३ वटा व्यवसायको ऋण थपिएपछि विदेश जाने तयारी थिए,’ उनले भने, ‘एकजना साथीले भैंसी पाल्न सल्लाह दिएपछि अहिले भैंसीपालनमै रमाइरहेको छु ।’ उनका साथी चौरासे कृषक सहकारीका छविलाल आर्चायले खाम्चालाई भैंसीपालनको प्रेरणा मात्र दिएनन्, सरकारीबाट १० लाख रुपैयाँ ऋणसमेत मिलाइदिए । उनले दैनिक ५० लिटर बढी दूध सदरमुकाम वीरेन्द्रनगर ल्याएर बिक्री गरिरहेका छन् । खाम्चाले अहिले दूध बेचेरै महिनाको ५० हजार रुपैयाँ बैंकको किस्ता तिर्छन् ।

उनकै छिमेकी जैसरा वीरकट्टाको घरमा पनि ६ वटा भैंसी छन् । उनी पनि छिट्टै ५ वटा भैंसी थप्ने तयारीमा छिन् । उनको गोठबाट दैनिक २० लिटर दूध बजार जान्छ । दूध बिक्रीबाटै एक छोरालाई काठमाडौंमा पढाइरहेको उनले जानकारी दिइन् ।

अहिले गाउँका २७ किसानले व्यावसायिक भैंसीपालन गरिरहेका छन् । प्रत्येक घरले ५ देखि १९ वटासम्म भैंसी पालिरहेको समूहका सचिव दीपक ढकालले बताए । उनका अनुसार विदेश जान छोडेर युवाहरूले धमाधम कृषिखेती र पशुपालनलाई व्यावसायिक बनाइरहेका छन् । ‘हाम्रा पुर्खाहरू रोजगारीका लागि कालापहाड जान्थे,’ उनले भने, ‘अहिले हामीले गाउँमै रोजगारी पाएका छौं, मनग्गे कमाइ भइरहेको छ ।’

समूहलाई कृषि क्षेत्र विकास कार्यक्रम (एएसडीपी) ले सहयोग गरिरहेको छ । कार्यक्रमले १ करोड ९५ लाख रुपैयाँ बजेट छुट्याएपछि किसानहरु व्यावसायिक बन्दै गएका हुन् । कार्यक्रमले किसानहरुलाई भकारो सुधार, मेसिनरी सामग्री, घाँसखेतीलगायतमा सहयोग गरिरहेको कार्यक्रम संयोजक विनोद भट्टराईले बताए । ‘हामीले किसानहरुलाई उत्पादनदेखि बजारीकरणमा सहयोग गरिरहेका छौं,’ उनले भने, ‘कृषकहरुलाई कृषि विकास बैंकमार्फत ऋण प्रवाह पनि गर्न थालिएको छ ।’ उनका अनुसार एएसडीपीले सामुदायिक कृषि प्रसार सेवा केन्द्र पनि सञ्चालन गरेको छ ।

एएसडीपीका पोषणविज्ञ राजेन्द्रप्रसाद गिरीले किसानलाई वित्तीय साक्षरता, व्यवसायिक योजना निर्माण र पोषणसम्बन्धी तालिम पनि नसञ्चालन गरिरहेको जाननकारी दिए । ‘गाउँमा भैंसीपालन फस्टाउन थालेपछि भारत र अन्य देश गएका युवासमेत फर्किएर व्यवसाय सञ्चालन गर्न थालेका छन्,’ उनले भने, ‘सबै किसानलाई भैंसीपालनले आत्मनिर्भर बनाइरहेको छ ।’

प्रकाशित : असार १२, २०७९ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?