१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

बस्तीभरि ड्रागनखेती

सुर्खेत — गुर्भाकोटको भट्टेझारस्थित मगरबस्ती भेरी नदी किनारमा भएकाले वर्षैभरि उखरमाउलो गर्मी हुन्छ । त्यसमा पनि रातो माटो र सिँचाइ असुविधाका कारण किसानहरू आकासेपानीको भरमा मात्र खेती गर्छन् । सिँचाइ सुविधा नभएपछि स्थानीयले झन्डै ४ वर्षदेखि सामूहिकरुपमा ड्रागन फलको खेती सुरु गरेका छन् ।

बस्तीभरि ड्रागनखेती

बस्तीका २० घरधुरी मिलेर करिब ५ विगाह जग्गामा करिब ९ हजार ड्रागनका बिरुवा रोपेका थिए । २०७५ सालमा ड्रागन खेती गरिएको बस्तीमा अहिले बिरुवाहरू मौलाइरहेका छन् । कर्णाली प्रदेशको यो नै सबैभन्दा ठूलो ड्रागन फल उत्पादन फर्म भएको स्थानीय कृषक शेरबहादुर घर्तीले दाबी गरे । उनका अनुसार सिँचाइका लागि पर्याप्त पानीको आवश्यकता नपर्ने, हावापानी र माटो ड्रागनखेतीका लागि उपयुक्त भएकाले हालसम्म लगाएको बिरुवा राम्रो हुँदै गएका छन् ।

‘नयाँ र नौलो फल भए पनि बजारमा माग बढ्दै गएकाले बजारीकरणमा खासै समस्या हुँदैन होला,’ उनले भने, ‘एकपटक रोपेपछि वर्षौंसम्म पनि फल दिने भएकाले पनि यो खेती हाम्रा लागि सजिलो पनि छ ।’ गाउँमै सडक सुविधा भएकाले उत्पादन भएको ठाउँबाट नै ड्रागन बिक्री हुने अर्का किसान धनबहाद्रु घर्तीको भनाइ छ । ‘अब एक वर्षभित्रै उत्पादन हुन्छ होला,’ उनले भने, ‘उत्पादन नहुँदै विभिन्न ठाउँका व्यापारी यहाँ आइरहेका छन् ।’

अहिले सुर्खेतमा करिब १० बिघा जमिनमा व्यावसायिक रूपमा ड्रागन फ्रुटको खेती भइरहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.लेखराज दाहालले बताए । उक्त खेतीको अनुगमनमा पुगेका प्रदेशका कृषिमन्त्री चन्द्रबहादुर शाहीले कर्णाली सरकारले ‘बगैंचा एक : स्वामित्व अनेक’ धारणाअनुरुप हरेक बस्तीलाई हरेक फलफूलको स्रोत केन्द्रका रुपमा विकास गर्न खोजेको बताए ।

ड्रागन फल स्वास्थ्यका दृष्टिकोणले धेरै लाभदायिक रहेको र एकपटक रोपेपछि २० वर्षसम्म उत्पादन लिन सकिने कृषि सचिव दाहालको भनाइ छ । उनका अनुसार अहिले यसको बजार मूल्य प्रतिकिलो ६ सयदेखि ८ सय रुपैयाँसम्म छ । भेरी नदी किनार ड्रागन फ्रुटका लागि उपयुक्त हावापानी तथा माटो रहेको र यसको माग उच्च भएकाले पनि यस खेतीमा किसानहरू आकर्षित भएको उनको भनाइ छ । यो खेतीका लागि प्रदेश सरकारले ३६ लाख रुपैयाँ अनुदान दिएको छ भने किसानले ७ लाख ६१ हजार रुपैयाँ लगानी गरेका छन् ।

प्रकाशित : असार १२, २०७९ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?